बलिउड अभिनेता अक्षय कुमारले आफ्नो संघर्षका दिनको एउटा रोचक किस्सा सार्वजनिक गरेका छन्। पारिश्रमिक नदिने एक निर्माताको घरबाट टेप रेकर्डर उठाएर बेचेको उनले खुलासा गरेका हुन्।
करण जोहरले संचालन गर्ने चर्चित टक शो 'कफी विथ करण ९' मा अक्षयले अभिनेता रवि किशनसँग कुराकानी गर्ने क्रममा उक्त घटना सुनाएका हुन्।
अक्षयका अनुसार एक फिल्ममा काम गरेबापत निर्माताले उनलाई ६८ हजार भारू पारिश्रमिक दिन बाँकी थियो। फिल्मले बक्स अफिसमा राम्रो व्यापार नगरेपछि निर्माताले उनको पारिश्रमिक भुक्तानी गरेका थिएनन्। पटक-पटक पैसा माग्दा पनि नपाएपछि उनी आफैं निर्माताको घर पुगेका थिए।
'उनले मेरो पैसा दिएका थिएनन्। फिल्म पनि चलेको थिएन। तर, मलाई आफ्नो पैसा चाहिएको थियो। त्यसबेला ६८ हजार रूपैयाँ मेरो लागि निकै ठूलो रकम थियो,' अक्षयले भनेका छन्।
उनका अनुसार उनी मुम्बईको माहिमस्थित निर्माताको घर पुगे। ढोकाको घण्टी बजाएपछि निर्माता बाहिर निस्किए। उनी पैसा लिन आएको निर्माताले पनि बुझिसकेका थिए।
त्यसपछि घरभित्र नजर लगाउँदा बैठक कोठामा टेप रेकर्डर देखेपछि अक्षयले त्यसको प्लग निकाले र आफूसँगै लिएर हिँडे।
'मैले टेप रेकर्डरको प्लग निकालेँ। त्यहाँ बेच्न लायक अरू केही छ कि भनेर पनि हेरें, तर केही भेटिनँ। त्यसपछि टेप रेकर्डर लिएर बाहिर निस्किएँ। उनले मलाई रोक्ने प्रयास पनि गरेनन्,' अक्षयले सुनाएका छन्।
अक्षयले उक्त टेप रेकर्डर मुम्बईको हीरा पन्ना बजारमा ३२ हजार भारूमा बेचेका थिए। तर, त्यसपछि पनि निर्माताले बाँकी रकम नदिएको उनले बताएका छन्।
'आजसम्म पनि उनले मेरो बाँकी पैसा दिएका छैनन्,' अक्षयले भने।
कार्यक्रममा अक्षयसँगै उपस्थित अभिनेता रवि किशनले पनि फिल्म क्षेत्रमा सुरूआती दिनमा भोग्नुपरेको आर्थिक कठिनाइ सुनाएका थिए।
उनले एक फिल्ममा काम गरेबापत पाउनुपर्ने पारिश्रमिक नपाएको र भूमिका नै काटिने अवस्था आएपछि पैसा छाड्न बाध्य भएको अनुभव सुनाएका थिए।