सरकारले भारतीय फिल्म 'उड्ता तीर' लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको छ।
सूचना तथा संचार मन्त्रालयले वितरक कम्पनी नेसनल सिने ग्रुप नेपाल प्रालिलाई पत्र लेख्दै फिल्मलाई नेपालमा प्रदर्शनको अनुमति दिन नसकिने जनाएको हो।
मन्त्रालयको श्रव्यदृश्य तथा प्रशारण शाखाले वितरकलाई पठाएको पत्रमा फिल्म निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) ले निषेध गरेको विषयवस्तु फिल्ममा समावेश भएको उल्लेख छ।
केन्द्रीय चलचित्र जाँच समितिले केही दिनअघि फिल्मको जाँच गरेको थियो। समितिको निर्णयअनुसार फिल्मलाई सार्वजनिक प्रदर्शनको अनुमति नदिइएको हो।
आकाश कौशिक निर्देशित 'उड्ता तीर' मा आयुष्मान खुराना र सारा अली खान मुख्य भूमिकामा छन्। यो स्पाइ कमेडी फिल्म शुक्रबार (कात्तिक ६)देखि नेपालमा पनि एकसाथ प्रदर्शनमा आउने तयारीमा थियो।
भारत र पाकिस्तानबीचको सम्बन्ध तथा फिल्मको कथावस्तुलाई लिएर नेपालमा यसको प्रदर्शन रोकिएको बुझिएको छ।
केन्द्रीय चलचित्र जाँच समितिले यसअघि मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्न सक्ने विषयवस्तु भएका फिल्मलाई नेपालमा सार्वजनिक प्रदर्शनको अनुमति नदिने निर्णय गरेको थियो।
के हो 'उड्ता तीर'को कथा?
फिल्ममा आयुष्मान खुरानाले पाकिस्तानी गुप्तचर बिलाल अहमदको भूमिका निर्वाह गरेका छन्, जो भारत पुगेपछि स्मरणशक्ति गुमाएर आफ्नै पहिचान र उद्देश्य बिर्सन पुग्छन्। भारत-पाकिस्तानको सीमाक्षेत्रमा अलपत्र परेका बिलाल आफूलाई भारतीय ठान्न थालेपछि अनपेक्षित परिस्थितिको भुमरीमा फस्छन्।
जासुसीको रोमाञ्च, दुई देशबीचको राजनीतिक तनाव र हास्यका रोचक प्रसंगले उनको अन्योलपूर्ण यात्रालाई फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ।