लेखक होम परिबागद्वारा लिखित पुस्तक 'नेपालमा को-के ठीक छैनन्?' सार्वजनिक भएको छ।
सोसाइटी बुक्स नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो।
नेपाललाई आधा भरिएको गिलासका रूपमा विज्ञहरूले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो। पुस्तकको मूल उद्देश्य गिलास भरी बनाइ हेर्नुपर्ने अवधारणाबाट प्रेरित छ, यसको माध्यमबाट नेपालमा नयाँ सकारात्मक सोच विचारको चिन्तन सुरू हुनसक्छ भन्ने विश्वास लेखकको छ।
नेपाल र नेपालीले के कस्ता समस्याहरूमा बल्झिन, अल्झिन र गुज्रन परेको छ, तिनका मानव सृजित कारणहरू के हुन्? विगतमा नसोचिएका सामान्य विषयवस्तुलाई लामो समय लगाएर लेखकले यस पुस्तकभित्र उठान गर्ने प्रयास गरेका छन्।
पुस्तकमा लेखकले नेपालको राजनीति, राजनीतिज्ञ, राजनीतिक परिवेश, जटिलता, शक्ति सन्तुलन र समस्या, कर्मचारीतन्त्र, पत्रकार र पत्रकारिता, व्यापार र व्यापारी, बैंक तथा वित्तीय संस्था, गाउँ र शहर, गीतसंगीत, कलाकार, नेपाली सेना र प्रहरी, नेपाली कानुनी मामला र वकिलहरूलगायतका विषयहरू समेटेका छन्।
यसैगरी बस र ट्याक्सी चालक, यात्रा र यात्रु, ठेकेदारी, शिक्षा क्षेत्र, विदेशमा रहेका नेपाली, धनी र गरिबलगायतको पनि विवेचना गरेका छन्। सबै क्षेत्रको विवेचनापश्चात् लेखकले यी दुर्दशा किन सुरू भए र अबको बाटो के भन्ने सन्देश पनि पुस्तकमार्फत दिन खोजेका छन्।
गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा जन्मिएका परिबाग हाल बेलायतमा बस्छन्। पत्रकारिताबाट करियर सुरू गरेका परिबागका यसअघि याद हराएको मान्छे र स्वर सम्राट नारायणगोपालबारे लेखिएको पुस्तक 'यात्राहरू नारायणगोपालका' प्रकाशित छन्।