इतिहासकार महेशराज पन्तको २२ औं पुस्तक 'राणा: काल, कर्ता र किताब' सार्वजनिक भएको छ।
नेपालयको आरशालामा आयोजित कार्यक्रममा इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो।
आफ्नो पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा महेशराज पन्त पहिलोपटक सहभागी भएका हुन्। उनलाई प्रत्यक्ष सुन्ने उत्साहमा कार्यक्रममा बौद्धिक तथा इतिहासमा रूचि राख्नेहरूको उपस्थिति थियो।
कार्यक्रममा इतिहासकार दिनेशराज पन्तले आफ्ना पिता नयराज पन्तले विसं १९९७ मा स्थापना गरेको पाठशाला र त्यहाँबाट भएका प्राज्ञिक कामबारे चर्चा गरे। उनले संशोधन मण्डलले नेपालको इतिहासको उत्खनन र तथ्यगत सुधारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै त्यस कामलाई निरन्तरता दिने दाजु महेशराज पन्तको प्रशंसा गरे।
'संशोधन मण्डलले नेपालको इतिहास उत्खनन गर्न र सच्याउन आफूलाई समर्पित गर्यो,' उनले भने, 'त्यही कामलाई यहाँसम्म ल्याइपुर्याउने दाजु महेशराज पन्त हुनुहुन्छ। उहाँ अहिले पनि लेख्ने र पढ्ने मात्र गर्नुहुन्छ।'
दिनेशराज पन्तले पुस्तकको समीक्षासमेत गरेका थिए। त्यसक्रममा दाजुभाइबीच पुस्तक र इतिहासका विषयमा रोचक तथा ज्ञानवद्र्धक संवाद भएको थियो।
लेखक महेशराज पन्तले आफ्ना पिता नयराज पन्तले तत्कालीन प्रचलित अध्ययन पद्धतिमा प्रश्न उठाउँदै आफैं उदाहरण बनेर नयाँ बाटो देखाएको बताए। उनले पुस्तकमा राणाकालसँग सम्बन्धित २२ वटा शोधलेख समेटिएको जानकारी दिए।
'मैले यस किताबमा राणाकालखण्ड वरिपरि लेखेका २२ वटा शोधलेख संग्रहीत गरेको छु। पत्रपत्रिकामा छापिएका भए पनि प्रशस्त परिष्कार र परिमार्जन गरेको छु,' उनले भने।
पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले महेशराज पन्तको अनुसन्धान र सम्पादन यात्राको चर्चा गरे।
'महेशराज पन्तले पूर्णिमा जर्नल सम्पादन गर्न थालेको ६३ वर्ष भयो । अहिले पनि उहाँ एक्लैले पूर्णिमा बचाइरहनुभएको छ। उहाँजस्तो विशिष्ट इतिहासकारको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको कुरा हो,' उनले भने।
कार्यक्रममा लेखक पन्तले इतिहासकारद्वय दिनेशराज पन्त र प्रत्यूष वन्तलाई पुस्तक उपहार दिएपछि औपचारिक रूपमा लोकार्पण गरिएको थियो।
महेशराज पन्तले पिता नयराज पन्तले स्थापना गरेको पाठशालामा अध्ययन गरेका हुन्। त्यही अध्ययनको आधारमा उनी जर्मनी पुगेका थिए। उनले ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरेका छन्। जर्मनीमा उनले प्राध्यापन तथा अनुसन्धानसमेत गरेका थिए। उनका २२ वटा शोधपुस्तक र करिब आठ सय अनुसन्धानमूलक लेख प्रकाशित छन्।
यसअघि उनको 'पृथ्वीनारायण शाहः नायक, प्रतिनायक अनि नायकदेशीय' पुस्तक पनि नेपालयबाटै प्रकाशित भएको थियो।
दुई सय ८४ पृष्ठको 'राण: काल, कर्ता र किताब'को मूल्य ६ सय ७५ रूपैयाँ छ। पुस्तक देशभरका पुस्तक पसल, थुप्रै डटकम र अमेजनबाट खरिद गर्न सकिन्छ।