'मनको अदालत' (२०८२) कवि मेनका चापागाईं काप्रीद्वारा लिखित कविता सङ्ग्रह हो, जसमा ६९ वटा कविताहरू सङ्ग्रहित छन्। गैँडाकोट प्रज्ञाप्रतिष्ठान, नवलपुर (ब.सु.पू.) प्रकाशक रहेको कृतिलाई वरिष्ठ छन्दकवि एवम् सोही प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको 'आशीर्वचन' शीर्षकमा शुभकामनाका शब्दगुच्छाले सुशोभित बनाएको छ। यसभित्र कवि विनोदी लेख्छन्–
‘नैसर्गिक प्रेम, व्यावहारिक जीवन, समाजका राम्रा-नराम्रा पक्षहरूप्रतिको चिन्तन, प्रकृति र समाज, सामाजिक र राष्ट्रिय विकास र समुन्नतिको चाह, मानवीय आस्था, सत्कर्म, सद्भाव र सहअस्तित्वको खोजी मूलतः हाम्रो समाजमा उज्यालो देख्ने उनको चाह सुरुचिपूर्ण छ।’
प्रस्तुत कृतिमा भाषा सम्पादनको जिम्मेवारी प्राध्यापक एवम् वरिष्ठ समालोचक रमेश प्रभातले लिएका छन् भने प्रमुख वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ। ले-आउट जीवननाथ ढुङ्गानाको छ।
कवि मेनका चापागाईंका बारेमा
'मनको अदालत' कवि मेनकाले आफ्ना सन्तानहरू छोरा डा. सुमन र छोरी सुभ्नाप्रति समर्पित गरेकी छिन्। कलेज पढ्दै गर्दा वि.सं. २०५६/५७ तिर डायरीका पानाहरूमा भावनाहरू भरेर साहित्यप्रति झुकाव राखेकी मेनका घर-परिवार व्यवस्थापन, छोराछोरीप्रतिको जिम्मेवारी वहन, व्यावसायिक आबद्धता र स्तरोन्नति तथा अन्य व्यस्तताका कारण साहित्यबाट केही समय पर रहन पुगेकी थिइन्। विश्वव्यापी महामारी कोभिड-१९ को समयमा साहित्यिक कृतिहरू पढ्ने र लेख्ने बानीको विकास हुँदै गयो।
कायाकैरन राष्ट्रिय दैनिक, स्थानीय रेडियो विजय एफएम १०१.६ मेगाहर्ज र लेट्स् टकको मञ्चले उनलाई प्रस्फुटित हुने अवसर दियो। त्यसो त चितवनका र चितवनलाई कर्मथलो बनाएर लेख्ने र लेख्न प्रेरित गरिरहने धेरै स्रष्टाहरू छन्, तर अग्रपङ्क्तिमा आउँछन् उदय अधिकारी, जो नवसर्जकलाई निरन्तर पढ्न र लेख्न तथा कृति प्रकाशन गर्न अभिप्रेरित गरिरहन्छन्, लेखिएका सामग्रीहरूबारे सल्लाह, सुझाव एवम् प्रतिक्रिया दिइरहन्छन्। उनकै प्रेरणाको प्रतिफलसमेतले स्थान पाएको छ 'मनको अदालत' प्रकाशित हुनुमा।
'मनको अदालत'बारे
प्रकृति प्रेमीले आफूले पढेका कृतिहरूबारे लेख्ने प्रयाससमेत गर्छ भन्ने थाहा पाएरै सम्पूर्ण किताब नारायणगढलाई साक्षी राखेर उपहारस्वरूप कृति उपलब्ध गराएको व्यहोरा समेत जानकारी गराएँ। साथमा द्रष्टा थिए उदय अधिकारी, लेखराम सापकोटा, रमेश प्रभात र श्रीषा सापकोटालगायत। यसरी 'मनको अदालत'बारे लेख्ने जिम्मेवारी ममा थपिएको छ र मङ्सिर २ गतेको यो प्रातःकालीन प्रहरमा कापीमा लेखिएका शब्दहरूलाई मोबाइलको नोटप्याडमा मुद्रण गर्ने शृङ्खला चलिरहेको छ।
'मनको अदालत'मा समाविष्ट पहिलो कविताको शीर्षक नै 'प्रकृति' रहेको छ। प्रकृति मेरो नामसमेत रहेको हुँदा यसबाट म पुलकित हुनु स्वाभाविक पनि हो। संसारमा दुईथरि मानिसहरू छन्, एकथरि प्रकृतिसँगै रमाउने र प्रकृतिको सम्मान तथा संरक्षणमा लागिपर्ने भने अर्कोथरि प्रकृतिको चरम दोहन गर्ने, विनाश गर्ने र आफ्नो निजी स्वार्थ पूरा गर्ने। भदौ १० गते तिब्बतमा रहेको हिमताल फुटेर मच्चाएको वितण्डा, पहिरोले बुढीगङ्गा थुनिएपछि त्यो फुटेर आएको भयानक बाढी यसका केही नमुनाहरू मात्र हुन्, यस्ता धेरै विध्वंसक घटनाहरू घटिरहेकै छन् पृथ्वीमा।
यस्ता वितण्डाकारी घटनाबाट सबैलाई सतर्क हुन आग्रहसमेत गर्छिन् उनले। कवि चापागाईं प्रकृतिसँग नजिकिन चाहन्छिन्, उनी प्रकृतिको न्यानो वात्सल्य छाडेर पर जान चाहन्नन्। आफूभित्र मन्द बतासले मादकता भरिएको कल्पनामा पनि यसरी रमाउन पुग्छिन् :-
प्यारी प्रकृति
तिम्रो सामीप्यताले
पुलकित मेरा नयनहरू
विश्राम लिन मान्दैनन्
तिम्रो वात्सल्य छोडेर
बसाइँ सर्न मान्दैनन्
तिमी बतास बनेर सर्सराउँछ्यौ
मभित्र मन्द मादकता भरिन्छ
तिमी हुरी तुफान बनिदिन्छ्यौ
मभित्र सतर्कता ब्युँझिन्छ। ('प्रकृति')
समाजमा 'बा' हरेक सन्तानका लागि प्रेरणाको स्रोत हुन्छन्, आदर्शताका प्रतिमूर्ति मानिन्छन्। कवि मेनका पनि आफ्ना 'बा'ले जिन्दगीमा आफूप्रति गरेको माया, सद्भाव, समर्पण र बलिदानीको मुक्तकण्ठले प्रशंसा गरेकी छिन्। जस्तोसुकै अभाव, पीडा, समस्या र कठिनाइमा पनि आफ्नो घरपरिवार र सन्तानका उज्ज्वल भविष्यका लागि गरेका सङ्घर्षका क्षणहरूलाई 'बालाई प्रश्न' नामक कवितामा सुन्दर ढङ्गले चित्रण गरेकी छिन्।
आफ्नो मुटु र बाको मुटु एउटै भए पनि हदैसम्मको अभाव, सङ्घर्ष र कठिनाइहरूमा पनि विचलित नभई उभिन सक्ने बालाई, ‘तपाईंको मुटु मांसपेशीले, नशाहरूले, आँसुहरूले या व्यथाहरू केले बनेको छ?’ भनेर प्रश्नसमेत सोध्ने आँट यसरी गर्छिन्:-
भन्नुहोस् न बा,
तपाईंको मुटु केले बनेको छ? मांसपेशीले, नशाहरूले?
कि आँसुहरूले, व्यथाहरूले?
कसरी धान्नुहुन्छ
यति धेरै पीडाहरू?
जीवनका अप्ठ्याराहरू
कसरी सम्हाल्नुहुन्छ?
तपाईंको मुटुको बनावट
र मेरो मुटुको बनावट एउटै होइन र? ('बालाई प्रश्न')
जिन्दगीदेखि निराश भएर, अस्तव्यस्त दैनिकीबाट पर रही प्रकृतिलाई नियाल्न चाहिरहेकी छिन् मेनका। अरूको रहर एवम् सपनाहरू पूरा गर्दागर्दै आफू को हो भन्ने कुरा नै बिर्सिसकेको अवस्थामा स्वयंलाई चिन्न लामो निन्द्रामा लीन हुन चाहन्छिन् उनी। जिम्मेवारीले थिचिएर माथि उठ्न नसकेको अवस्थामा विगतका तीता अनुभव तथा भोगाइलाई पूर्णरूपमा भुलेर प्रकृतिको सामीप्यमा ध्यानस्थ हुन मन छ उनलाई।
कर्तव्यका गह्रुङ्गा भारीहरूलाई कतै बिसाएर टाउको, मन, मस्तिष्क र प्रत्येक अङ्गप्रत्यङ्गलाई मीठो निद्राले सिञ्चित गर्नु उनको अभिप्राय बुझिन्छ, हेरौँ:-
अतीतका नमीठा सम्झनाहरू
कहिल्यै नसम्झिने गरी
बिर्सिन मन छ
मीठा यादहरू सँगालेर
सुस्ताउन मन छ
अनि वसन्तमा झुलिरहेका
रङ्गीन फूलहरूको झुलामा
मलाई धित मर्ने गरी निदाउन मन छ। ('निदाउन मन छ')
देशमा जब-जब चुनाव आउँछ, नेताहरू आफ्ना दलका घोषणापत्र (स्वतन्त्र उम्मेदवारले आफ्नै प्रकारको) लिएर सहरबजार, गाउँबस्ती, घरघर पुगेर व्यक्तिव्यक्तिलाई भेटेर अनेक आश्वासन दिन्छन्, सप्तरङ्गी सपनाहरू बाँड्दछन्। निःशुल्क शिक्षा, स्वास्थ्य सेवा प्रदान गर्ने, बाटोघाटो, पुलपुलेसा बनाउने, स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिदिने मीठा भाषण गर्छन्। रक्सी, मासु, चिउरा खुवाउँछन्, यतिमात्रै होइन पैसा समेत बाँड्न पछि हट्दैनन्।
सोझासाझा निमुखा जनताहरू मख्ख पर्छन् र भोट हालेर जिताउँछन् र सत्तामा पुर्याउँछन्। पक्की पुल बनेपछि सजिलोसँग विद्यालय जान पाउने आश बोकेका विद्यार्थीहरू, बाटोघाटो बनेपछि दैनिक सहज हुने, कृषि तथा अन्य उत्पादन ल्याउनलैजान सुविधा हुने आश राखेका सर्वसाधारणहरूको विश्वासमा कसरी कुठाराघात हुन्छ भन्ने समसामयिक परिवेशलाई 'समुद्घाटन' कविताले बोलेको छ।
चुनाव जितेका एक नेता पुलको सट्टामा फगत् एउटा तुइन उद्घाटन गर्न आफ्ना दलबलका साथ, सुरक्षाकर्मीका साथ तामझामसहित प्रस्तुत हुँदा स्थानीय बासिन्दाको मनोदशा कस्तो भयो होला?:-
सोझासाझा जनतालाई
कङ्क्रिटको पुलको सपना देखाएर
चुनाव जितिसकेपछि
फेरि अर्को भ्रमको नदी तर्न
झिनो तुइन बोकेर
चुनावपछि पहिलोपटक
नेताज्यू
समुद्घाटन गर्न आउनुभयो! ('समुद्घाटन')
कवि मेनका आफ्नी छोरीप्रति गौरवान्वित छिन्, आफ्नै प्रतिबिम्ब मानेकी छिन्, भगवान्कै आशीर्वादले छोरी पाउन सफल भएको जिकिर गर्छिन्। छोरीको स्वरूपमा आफूलाई पाउँदा पुलकित हुन्छिन् उनी। छोरीलाई लक्ष्मीको रूपमा, सरस्वतीको रूपमा या भनौँ सबै देवीहरूकी पनि उच्च देवीको रूपमा सम्मानभाव व्यक्त गरेकी छिन्। छोरीलाई घरको उज्यालो दिने ज्योतिको सङ्केत उनको रहेको छ।
यतिमात्रै होइन, छोरीमा अरूप्रति गर्ने विश्वास, माया, रिस, जिद्दीपन र आत्मविश्वास सबै सबै आफ्नो जस्तै सरेकोमा सृष्टिको सिर्जनामा अनुगृहित छिन्:-
मेरै प्रतिबिम्ब, मेरै श्वास अनि धड्कन हुन्
मेरी छोरी
पूर्णिमाको जून हुन्
लक्ष्मी हुन्
सरस्वती हुन्
घरलाई स्वर्ग बनाउने
देवीहरूको पनि देवी हुन्
मेरो खुसीको कारण हुन्
घरको लच्छिन हुन्
परिवारको उज्ज्वल नक्षत्र हुन्
मेरी घरकी महारानी हुन्
मेरी मुटु मेरी छोरी। ('छोरी')
एउटै बाको शुक्रकीट र एउटै आमाको गर्भबाट जन्मिएका, एउटै दूध चुसेर हुर्किएका दाजुभाइ पनि कालान्तरमा छुट्टिने अवस्थाको सिर्जना हुन्छ। जग्गाजमिन, घरगोठ, भाँडाकुँडा, लत्ताकपडा, आँगनपिँढी सबै सबै भाग लागिन्छन्। र अन्त्यमा रहन्छन् बाआमा, उनीहरू पनि छ महिना एउटाकोमा र बाँकी छ महिना अर्को भाइकोमा राख्ने, पालनपोषण गर्ने सहमति गराउन उद्यत छन्।
बाको आत्मसम्मानमा ठेस पुगे पनि, आमाको आँखामा आँसुको तलाउ जमे पनि रातभर बैठक बसेर जसरी हुन्छ भोलि भातभान्सा अलग गर्ने सहमति हुन्छ। हामीले देखेभोगेकै कुरा हो, अंशवण्डाका लागि कुरा नमिलेर दाजुभाइबीच पानी बाराबार भएको, झैझगडा, कुटाकुट, मारामार भएको घटनाहरू। यस्तै सामाजिक समस्यालाई, विषयवस्तुलाई समेटेर कविता सिर्जना गरेकी छिन् चापागाईंले:-
आज सबै आधाआधा गर्नु छ
रातिसम्म बास पनि त सार्नु छ
आँगन, पिँढी, कोठा, चोटा
कराई, कसौंडी, अम्खोरा, लोटा
आजबाट हाम्रो भान्छा छुट्याउनु छ
भाँडाकुँडा, बगैँचा, करेसा छुट्याउनु छ
बा'को दराजका पुराना सिक्काहरू बाँड्नु छ
आमाको बाकसका चाँदीका ढिक्काहरू बाँड्नु छ
भाइ! आज बैठक बसौँ है? ('अंशवण्डा १')
एउटी सर्वसाधारण, जो निरीह छिन्, अबोध छिन्, उनलाई सरकारी कार्यालयमा कतिसम्म सास्ती दिन सक्छन् भन्ने कुरा 'माइली दिदीको परिचयपत्र' कवितामा प्रस्ट्याइएको छ। प्रशासन कार्यालयमै काम गर्ने आफ्नो श्रीमान्को मृत्युपछि 'विधवा भत्ता' लिन जाने क्रममा पानी परेर परिचयपत्रका सबै अक्षरहरू मेटिएपछि उनलाई दिनुसम्मको सास्ती दिन पछि पर्दैनन् कर्मचारीहरू।
भत्ता लिएर किरिया खर्चमा लागेको ऋण तिर्ने मात्रै होइन, परिचयपत्र भएपछि आफूलाई समाजका कुदृष्टि लगाउनेहरूबाट बचाउँछ, सेतो पहिरनमा दाग लाग्न नपाओस् भन्ने उनको बुझाइ पनि रहेको छ। मानवीय संवेदनाको उच्चतम प्रयोग गरिएको कविताका केही हरफहरू पढौँ है:-
परिचयपत्रको आफ्नै नाम नचिनेकी उनी
कसरी चिनिऊन् चिन्न नखोज्नेहरूसँग?
कसरी बताऊन् ठेगाना बुझ्न नखोज्नेहरूसँग?
माइला दाइको मृत्युदर्ता देखेर पनि
उनकै विधवा स्वीकार्न नमानेपछि
सफेद वस्त्रहरूमा बेइमानीको दाग
नलागोस् भनेर
झर्दाझर्दैका आँसु हत्केलाले पुछ्दै
धाएको धायै छिन् माइली दिदी
विधवा प्रमाणित भएको
शक्तिशाली कागजको खोस्टो
प्रतिलिपि परिचयपत्र बनाउन। ('माइली दिदीको परिचयपत्र')
लगभग सबै मानिसका जिन्दगीमा यस्ता मोडहरू आइदिन्छन्, जसले हिँड्ने बाटो, सोच्ने शैली, जीवनयापन गर्ने विधि सबै सधैँका लागि बदलिदिन्छ। कवि चापागाईंमा समेत कविता बुझ्न, पढ्न र लेख्न थालेपछि व्यापक परिवर्तन आएको कुरा आफैँ स्वीकार्छिन्। मनभित्र दन्किरहेको आगोले नजलाओस् भनेर, हृदयभित्र गुम्सिएर छटपटी र उकुसमुकुस भएका तडपनबाट आफूलाई जोगाउन शब्दहरू कोर्ने बानी परेको छ उनलाई। कवितामार्फत् मनभित्रका कुण्ठा हुन् या विद्रोही चेतना, सबै उजागर गरेकी छिन् उनले।
कविता पढ्न र लेख्न थालेपछि उनमा आएका परिवर्तनको शृङ्खलालाई यसरी लिपिबद्ध गर्छिन् कवि मेनका:-
कविताले मलाई पुनर्जन्म दिएको छ
सञ्जीवनी बनेर नशानशामा मिसिएको छ
जब कवितासँगै जिउन थालेँ म
आँसुका एक एक थोपा बाफ बनेर
वायुमण्डलमा रूपान्तरण भइसकेपछि
मुस्कानको वर्षा गरिरहेका हुन्छन्
............
आजकल मेरो बिहानी कविताबाटै सुरु हुन्छ
चियाको चुस्कीमा म कविताको मिठास पाउँछु
चराहरूको चिरबिरमा
पूजाको घण्टीमा
फूलहरूको सुवासमा
मन्द चिसो बतासमा
म! कविता नै कविता महसुस गर्छु! ('जब कवितासँगै जिउन थालेँ म')
त्यसो त 'मनको अदालत' कवि मेनका चापागाईंको पहिलो कृति, कविता सङ्ग्रह हो, जसमा ७ हरफको 'वेवास्ता' देखि ६४ हरफसम्मको 'फर्किएनन् बचेराहरू' शीर्षकको कविता समाविष्ट छ। यसमा सङ्ग्रहित ६९ वटा कविताहरू विविध भाव, फरकफरक विषयवस्तुमाथि केन्द्रित भएर लेखिएका छन्। 'मनको अदालत'मा प्रकृति चित्रण पाउन सक्छौँ, बा, आमा र छोरीप्रतिको स्नेहभाव भेट्न सक्छौँ, देशमा व्याप्त कुरीति, कुसंस्कार, भ्रष्टाचार र बेथितिप्रति तिखो व्यङ्ग्य गरेकी छिन् उनले।
सामाजिक समस्या एवम् समसामयिक विषयवस्तुमा रहेर कतिपय कविताहरू सिर्जना भएका छन्। गरिबी, निकम्मा सरकार, घुस्याहा कर्मचारीतन्त्रप्रति आक्रोश पोखिएका पनि छन्। चाडपर्व मनाउने बहानामा भित्रिएको छाडापन, तडकभडक र विकृतिप्रति उनको आपत्तिसमेत छ। मकै पोलेर गुजारा चलाउने भुइँमान्छेहरूको कथाले भित्रैसम्म छुन्छ उनलाई। अंशवण्डा गरेर पनि खुसी नभएका केही हृदयहरूलाई महसुस गर्न सकेकी छिन् उनले।
बिम्ब र प्रतीकका माध्यमबाट कविताहरूमा थप सुन्दरता थप्ने प्रयासमा लागिपरेकी छिन् मेनका। कवि मेनका चापागाईंको कविता सङ्ग्रह 'मनको अदालत' एउटा पठनीय, सङ्ग्रहणीय कविता सङ्ग्रहको रूपमा प्रकाशित भएको छ। यो पक्कै पनि नेपाली कविताका पारखीहरूका लागि खुसीको कुरा हो। मनको अदालत किनेरै पढ्दा पैसा र समय दुवै खेर जाने छैनन् भन्ने मेरो धारणा रहेको छ। पढेपछि मनमा लागेका विचारहरूलाई जस्ताको तस्तै व्यक्त गरिदिन मेरो तर्फबाट पनि विशेष आग्रह गरेँ।
कवि चापागाईंको व्यक्तिगत, साहित्यिक, व्यावसायिक सफलताको कामना समेत यहीँबाट मुक्तकण्ठले गरेँ। उनमा काव्यिक चेतना भरिपूर्ण छ, यसरी नै अर्को कृति पढ्ने र कृतिबारे लेख्ने सुअवसर मिलोस्, ढिला होस् राम्रो होस्। कृति प्रकाशनमा हतार नगर्नु र लेख्न नछाड्नु शुभकामना छ।
जाँदाजाँदै 'मनको अदालत'को शीर्ष कविता नै छुटाएँ भने के होला? शीर्ष कविताका केही हरफहरू साभार गर्छु ल:-
हिमशृङ्खलाको
यात्राजस्तै कठोरतम परिवेशमा
ढुङ्गाका कापभित्र
अचेटिएका थिए मेरा शब्दहरू
.............
आत्मसम्मानको युद्ध लड्नेहरू
कायर हुँदैनन्
जूनमा खोट निकाल्नेहरू बाधक
बने पनि
जूनको उज्यालो छेकिँदो रहेनछ
..........
कठोर फैसला लिन लगाऊँ
मनको अदालतलाई
जगाऊँ ती एक-एक लासहरू
गति बढाऊँ पदचापहरूको
मन्दिर बनाऊँ अक्षरहरूको
..... .......
म मेरै शब्दहरूको पक्षमा उभिने छु
आफ्नै पक्षमा वकालत गर्नेछु
बेहोर्ने छु सजाय पनि
यदि
मनको अदालतले फैसला गर्यो भने! ('मनको अदालत')
