साहित्यिक कृतिको शीर्षक त्यसको परिचय दिने सामान्य नाम मात्र होइन, कृतिभित्र अन्तर्निहित कथ्य र शिल्पको संकेत गर्ने महत्त्वपूर्ण अर्थचिह्न पनि हो।
कतिपय आख्यानमा शीर्षकले कथावस्तु र पात्रको सामान्य परिचय मात्र दिन्छ भने कतिपयमा त्यसले पाठकलाई कृतिको गहिराइसम्म प्रवेश गराउने वैचारिक ढोका खोलिदिन्छ।
श्रवण मुकारूङद्वारा लिखित उपन्यास 'सलह' दोस्रो प्रकृतिको शीर्षक भएको कृति हो। यस उपन्यासको शीर्षकले सामान्य अर्थको सीमा अतिक्रमण गर्दै नवीन अर्थ निर्माण गरेको छ। प्रकृतिमा बालीनाली नष्ट गर्ने विनाशकारी जीवका रूपमा परिचित 'सलह' लाई यहाँ शोषण, उत्पीडन र अन्यायविरूद्ध प्रतिरोधमा उत्रिएका मानिसहरूको सामूहिक शक्तिको विम्ब बनाइएको छ।
नेपाली कवितामा भुइँमान्छेका जीवनानुभूति एवं सीमान्तीकृत समुदायका आवाजलाई कलात्मक अभिव्यक्ति दिने कविका रूपमा श्रवण मुकारूङको विशिष्ट पहिचान छ। 'बिसे नगर्चीको बयान' लगायत उनका कवितामा सामाजिक विभेद, ऐतिहासिक उत्पीडन र उपेक्षित समुदायको स्वाभिमान मुखरित भएको पाइन्छ।
कवितामा स्थापित यही सामाजिक प्रतिबद्धता उनको पहिलो उपन्यास 'सलह' मा विस्तारित भएको छ।
यस उपन्यासको कथानक पूर्वी नेपालको दुर्गम गाउँको गरिब परिवारमा जन्मिएकी महिलाको जीवनयात्रामा केन्द्रित छ। जातीय विभेद, लैंगिक उत्पीडन, श्रमशोषण एवं विस्थापनको सामना गर्दै र राज्यसत्ताका विभिन्न तहबाट उत्पन्न अवरोधसँग जुध्दै गाउँदेखि सहरसम्म र बाल्यावस्थादेखि वृद्धावस्थासम्म उसले भोगेका दुःख र गरेका संघर्ष उपन्यासको केन्द्रीय कथ्यका मूल आधार हुन्।
उपन्यासले नायिकाको व्यक्तिगत जीवनवृत्त मात्र प्रस्तुत गरेको छैन। उसको जीवनलाई प्रतिनिधि बनाउँदै लेखकले उत्पीडित वर्गको इतिहास र मुक्तिको आकांक्षालाई अभिव्यक्त गरेका छन्।
त्यसैले नायुमाको कथा एक व्यक्तिको कथा हुँदाहुँदै पनि अनेकौं उपेक्षित मानिसको सामूहिक कथा बन्न पुगेको छ।
यस उपन्यासको शीर्षकको अर्थ उद्घाटन गर्न ज्याक डेरिडाको विनिर्माण सिद्धान्त महत्त्वपूर्ण सैद्धान्तिक आधार बन्न सक्छ। डेरिडाले दर्शन तथा भाषिक चिन्तनमा स्थापित द्विचर विभाजन र त्यसमा अन्तर्निहित सोपानक्रममाथि प्रश्न उठाएका छन्।
उनका अनुसार कुनै पनि अर्थ पूर्ण, स्थिर र अन्तिम हुँदैन। भाषिक चिह्नको अर्थ अर्को चिह्नसँगको सम्बन्ध, सन्दर्भ र प्रयोगबाट निरन्तर निर्माण भइरहन्छ।
डेरिडाको विनिर्माण स्थापित अर्थलाई उल्ट्याएर अर्को अर्थ स्थापित गर्ने प्रक्रिया होइन, त्यसमा रहेका अन्तर्विरोध, अस्थिरता र बहुअर्थक सम्भावनाको उद्घाटन गर्ने आलोचनात्मक अवधारणा हो।
यस सैद्धान्तिक आधारमा 'सलह' उपन्यासको शीर्षकलाई हेर्दा उपन्यासकारले परम्परागत रूपमा स्थापित विम्बको अर्थलाई चुनौती दिएको पाइन्छ।
सामान्यतः 'सलह' लाई विनाश, अनिकाल अथवा प्राकृतिक प्रकोपको प्रतीकका रूपमा बुझिन्छ। विशाल हुल बाँधेर आउने सलहले बालीनाली र वनस्पति नष्ट गर्छन्। त्यसैले कृषिप्रधान समाजमा सलहको आगमनलाई क्षति र विनाशसँग जोडेर हेरिन्छ। यहाँ सलह र हरियालीबीचको सम्बन्ध विरोधात्मक देखिन्छ। एउटा विनाशको प्रतीकका रूपमा स्थापित छ भने अर्को जीवनको प्रतीकका रूपमा।
उपन्यासकारले यही परम्परागत अर्थसम्बन्धलाई पुनर्विचारको विषय बनाएका छन्।
उनले सलहलाई बालीनाली नष्ट गर्ने जीवका रूपमा नभई सामाजिक अन्यायविरूद्ध प्रतिरोधमा ओर्लिएका मानिसहरूको विम्बका रूपमा प्रस्तुत गरेका छन्। यसरी परम्परागत रूपमा नकारात्मक मानिएको 'सलह'लाई उत्पीडित मानिसको मुक्तिचेतनासँग जोडेर त्यसको अर्थक्षेत्र विस्तार गरिएको छ।
उपन्यासको प्रारम्भिक प्रसंग नै विनिर्माणकारी अर्थनिर्माणको सशक्त उदाहरण हो।
उपन्यासको सुरूमै लेखकले घाइते सलहसँग संवाद गर्छन्। त्यो सलह क्रमशः उपन्यासकी नायिका 'नायुमा' को स्वरूपमा देखा पर्छ र आफूले विगतमा भोग्नुपरेको उत्पीडन तथा अस्तित्वका लागि गर्नुपरेको संघर्षको कथा सुनाउँछ। उसले आफूलाई किरा मात्र नभई अन्याय भोगेका मानिसहरूको प्रतिनिधिका रूपमा उभ्याउँछ।
उपन्यासको प्रारम्भमै आएको यस प्रसंगले शीर्षकको अर्थलाई संकेत मात्र गरेको छैन, पाठकलाई परम्परागत अर्थमाथि पुनर्विचार गर्न बाध्य पारेको छ।
लेखक छतमा बसिरहेका बेला आकाशमा सलहको ठूलो हुल देख्छन्। त्यसै क्रममा एउटा घाइते सलह उनको नजिकै खस्छ। लेखकले त्यसलाई टिपेर कोठामा लगेपछि त्यो सलह युवतीको स्वरूपमा रूपान्तरित हुन्छ र आफूलाई नायुमाका रूपमा चिनाउँछ।
यस घटनाले यथार्थ र स्वैरकल्पना, मानव र गैरमानव तथा प्रकृति र समाजबीचका परम्परागत सीमा भत्काउँछ।
सलह एउटा किरा मात्र रहँदैन, त्यसले मानिसको स्मृति, पीडा र इतिहास बोकेको पात्रको स्वरूप ग्रहण गर्छ। यसरी कथाको आरम्भमै सलहको जैविक परिचयभन्दा त्यसको सामाजिक परिचय प्रभावशाली बन्न पुग्छ। यही रूपान्तरण अर्थगत विनिर्माणको पहिलो महत्त्वपूर्ण आधार हो।
नायुमाले लेखकसमक्ष आफ्नो जीवनकथा सुनाउने क्रममा सलहको जुनी लिनुपरेको कारण पनि स्पष्ट पार्छे। आफूले भोगेको अन्यायको प्रतिरोध गर्न सलहको जुनी लिनुपरेको ऊ बताउँछे। प्रतिशोधले मात्र मुक्ति सम्भव हुँदैन भन्ने आत्मबोध पनि उसमा छ।
यसरी सलहको जुनीलाई प्राकृतिक जीवनको पुनर्जन्मका रूपमा मात्र नभई अन्यायविरूद्ध प्रतिरोध गर्न विवश मानव अस्तित्वको प्रतीकका रूपमा बुझ्न सकिन्छ।
यहाँ मानिस सलह हुनु भनेको अन्यायपूर्ण सामाजिक संरचनाका कारण निर्मित अस्तित्वगत अवस्थाको अभिव्यक्ति हो।
विनिर्माणवादी सिद्धान्तबाट हेर्दा मानव र किरा, सभ्य र असभ्य, विनाशकारी र मुक्तिकामी तथा शक्तिशाली र कमजोरजस्ता द्विचर विभाजन प्रश्नको घेरामा आउँछन्।
परम्परागत मान्यता अनुसार मानिस चेतनशील र विवेकशील प्राणी हो भने सलह मानिसको तुलनामा तुच्छ जीव हो। तर उपन्यासमा यही मानवीय श्रेष्ठताको दाबी उल्टिएको छ। मानिसले निर्माण गरेको समाजमा अन्याय, शोषण र विभेद व्याप्त छन् भने सलहको स्वरूपमा प्रस्तुत पात्रले अन्यायविरूद्ध आवाज उठाइरहेको छ।
सभ्यताको कथित श्रेष्ठ प्रतिनिधि मानिस स्वयं अमानवीय व्यवहारको संवाहक बन्न पुगेको छ भने ऊभन्दा तुच्छ ठानिएको जीवले न्यायको पक्ष लिएको छ।
उपन्यासले यसरी मानव र गैरमानवबीचको परम्परागत द्विचर विभाजनलाई चुनौती दिएको देखिन्छ। लेखकले 'सलह' लाई मानिसको प्रतिपक्षमा नभई मानिसभित्र दबाइएको प्रतिरोधी चेतनाको प्रतिनिधिका रूपमा उभ्याएका छन्।
नायुमाको गाउँबाट सहरतर्फको यात्रा र त्यस क्रममा भेटिएका ऊजस्तै श्रमिक महिलाको प्रसंग उपन्यासमा उल्लेखनीय छ। आफूजस्तै महिलाको जीवनसँग जोडिने क्रममा नायुमाले आफ्नो व्यक्तिगत दुःखलाई श्रमिकहरूको सामूहिक अनुभवसँग जोडेकी छ। यहीँबाट सलहको अर्थ व्यक्तिगत प्रतिरोधबाट सामूहिक प्रतिरोधतर्फ विस्तारित भएको छ।
उपन्यासमा आन्दोलन र संगठनको प्रसंगले सलहको अर्थलाई अझ स्पष्ट पारेको छ। नायुमाको जीवनमा विभिन्न समयमा भेटिएका मानिस, श्रमिक समूह एवं राजनीतिक कार्यकर्ताका गतिविधिले सामूहिक प्रतिरोधको चेतना निर्माण गरेका छन्।
उपन्यासको एउटा प्रसंगमा आन्दोलनकारीको एकताको आवश्यकताबारे चर्चा गरिएको छ। त्यसमा उत्साहपूर्ण सहभागिताले आन्दोलनलाई ऊर्जा दिने विचार प्रस्तुत गरिएको छ। विशेषतः नायुमावरिपरिका मानिसहरू आन्दोलनमा सहभागी हुँदा उनीहरूको सामूहिक उपस्थितिले व्यक्तिगत असहायपनलाई सामूहिक शक्तिमा रूपान्तरण गरेको छ।
एक्लो मानिसलाई सामन्ती संरचनाको प्रतिरोध गर्न कठिन हुन्छ तर धेरै मानिस एक ठाउँमा उभिँदा उनीहरूको आवाज दबाउन सजिलो हुँदैन। यसरी सलहको हुल र आन्दोलनकारी जनसमूहबिच संरचनात्मक समानता स्थापित गरिएको छ।
सलहको विशाल हुलले जस्तै आन्दोलनकारी समूहले पनि आफ्नो सामूहिक उपस्थितिमार्फत स्थापित शक्तिलाई चुनौती दिन सक्छ भन्ने विचार उपन्यासमा व्यक्त भएको छ।
डेरिडाको दृष्टिकोणबाट हेर्दा उपन्यासको शीर्षकमा भएको विनिर्माण शब्दको अर्थ परिवर्तन मात्र होइन, सामाजिक दृष्टिकोणको पुनर्संरचना पनि हो।
सलहलाई बालीनाली नष्ट गर्ने किराका रूपमा हेर्ने परम्परागत दृष्टिकोण प्रकृतिमाथि मान्छेको स्वामित्वसँग जोडिएको छ। तर उपन्यासले प्रश्न गरेको छ— कसको बालीनाली, कसको जमिन र कसको हरियाली? यदि किसानले आफूले उत्पादन गरेको अन्न खान पाउँदैन, श्रमिकले आफूले बनाएको भवनमा बस्न पाउँदैन र सुकुम्बासीले आफू बसेको जमिनको स्वामित्व पाउँदैन भने वास्तविक विनाश कसले गरिरहेको छ?
यसरी उपन्यासले सलहलाई विनाशको प्रतीक बनाउने परम्परागत अर्थलाई उल्ट्याउँदै सामाजिक विनाशका वास्तविक कारकतर्फ पाठकको ध्यान आकर्षित गरेको छ।
सलहले बालीनाली नष्ट गर्दा हुने विनाशभन्दा ठूलो विनाश मानिसले मानिसमाथि गरेको शोषण, दमन र हिंसाका कारण भएको छ भन्ने विचार उपन्यासमा अन्तर्निहित छ।
शीर्षकको अर्को महत्त्वपूर्ण विशेषता यसको अग्रभूमि निर्माणसँग सम्बन्धित छ।
शैलीवैज्ञानिक अध्ययनमा अग्रभूमि निर्माण भन्नाले कुनै भाषिक तत्त्वलाई सामान्य भाषिक प्रयोग, अपेक्षित अर्थ एवं स्वचालित बोधबाट विचलित गराई पाठकको ध्यान त्यसतर्फ विशेष रूपमा आकर्षित गर्ने प्रक्रिया बुझिन्छ। परम्परागत एवं अत्यधिक प्रयोगका कारण रूढ भइसकेका भाषिक प्रयोगको सट्टा नवीन भाषिक प्रयोगका माध्यमबाट सौन्दर्य सिर्जना गर्ने तरिकालाई अग्रभूमि निर्माण भनिन्छ।
भाषाशास्त्री एवं साहित्यचिन्तक यान मुकारोभ्स्कीले प्राग संरचनावादी परम्परामा विकसित गरेको 'अग्रभूमि निर्माण' को अवधारणाले साहित्यिक भाषाको सौन्दर्यात्मक प्रभाव बुझ्न महत्त्वपूर्ण आधार प्रदान गरेको छ। उनका अनुसार साहित्यिक भाषामा कुनै तत्त्व सामान्य भाषिक प्रयोग अथवा स्थापित मानकबाट विचलित हुँदा त्यसले विशिष्ट सौन्दर्य सिर्जना गर्छ।
यस्तो विचलन आकस्मिक वा अव्यवस्थित नभई सोद्देश्यपूर्ण हुन्छ, अर्थात् कृतिको समग्र सौन्दर्यात्मक प्रयोजनसँग सम्बद्ध हुन्छ।
चित्रकलामा चित्रको कुनै भागलाई पृष्ठभूमिबाट पृथक गरी दर्शकको ध्यान आकर्षित गर्ने प्रक्रियासँग अग्रभूमि निर्माणको तुलना गर्न सकिन्छ। तर साहित्यमा यसको प्रयोग दृश्यात्मक पृथकीकरणमा मात्र सीमित हुँदैन। यहाँ विशिष्ट भाषिक प्रयोग, शब्दचयन, वाक्यविन्यास, विचलन, समानान्तरता एवं प्रतीकात्मक प्रयोगका माध्यमबाट कुनै तत्त्वलाई विशेष महत्त्व प्रदान गरिन्छ।
यस दृष्टिले 'सलह' शीर्षक अग्रभूमि निर्माणको प्रभावकारी उदाहरण मान्न सकिन्छ।
नेपाली भाषामा 'सलह' शब्द एक प्रकारको किरा र त्यसले निम्त्याउने विनाशसँग सम्बन्धित छ। पाठकले उपन्यासको शीर्षक पढ्नेबित्तिकै त्यही परिचित अर्थको अपेक्षा गर्छ। तर उपन्यासको कथानकमा प्रवेश गरेपछि त्यो अपेक्षित अर्थ क्रमशः विचलित हुन्छ।
सलह प्राकृतिक जीव मात्र नभई मानिसको दुःख, पीडा, संघर्ष, प्रतिरोध र सामूहिक मुक्तिको आकांक्षासँग जोडिन पुग्छ। यसरी परिचित शब्दलाई अपरिचित अर्थक्षेत्रमा प्रवेश गराएर लेखकले त्यसलाई पाठकीय चेतनाको अग्रभागमा स्थापित गरेका छन्।
अग्रभूमि निर्माणको दृष्टिले शीर्षकको प्रभाव त्यसको एकल प्रयोगमा मात्र सीमित छैन। उपन्यासको प्रारम्भमा सलहको हुल देखिनु, एउटा घाइते सलह लेखकको नजिकै खस्नु, त्यो मानव स्वरूपमा रूपान्तरण हुनु, त्यसमार्फत नायुमाको जीवनकथा सुनिनु र अन्त्यमा पुनः सलहको दृश्य उपस्थित हुनुजस्ता घटनाले शीर्षकलाई कथाको संरचनासँग जोड्छन्।
यसले शीर्षकलाई कथानकको आरम्भ, विकास र अन्त्यमा निरन्तर सक्रिय राखेको छ। विशेषतः उपन्यासको अन्तिम भागमा आकाशमा देखिएको सलहको विशाल हुल र त्यसपछि भेटिएका मरेका सलहका दृश्यले शीर्षकको अर्थलाई पुनः प्राकृतिक संसारसँग जोडेका छन्। तर यसपटक पाठकले सलहलाई किराका रूपमा मात्र हेर्न सक्दैन, किनभने उसले यसअघि नै नायुमाको जीवन र उत्पीडित मानिसहरूको संघर्षसँग सलहको अर्थ जोडिसकेको हुन्छ।
यही द्वैध अर्थको सहअस्तित्वले शीर्षकलाई शक्तिशाली बनाएको छ।
अग्रभूमि निर्माणको अर्को पक्ष शीर्षकले पाठकमा उत्पन्न गर्ने अर्थगत तनाव हो। यदि उपन्यासको नाम 'नायुमा', 'नायुमाको जीवनयात्रा' वा 'जीवनसंघर्ष' राखिएको भए कथावस्तुको सामान्य परिचय मात्र प्राप्त हुन्थ्यो। त्यस्तो शीर्षकले कृतिको विशिष्ट सौन्दर्यात्मक प्रभाव उत्पन्न गर्न सक्दैनथ्यो।
'सलह' शब्दले एकातिर प्राकृतिक विनाशको परिचित अर्थ बोकेको छ भने अर्कातिर सामाजिक मुक्तिका लागि गरिने सामूहिक प्रयासको अर्थ ग्रहण गरेको छ। परिचित र अपरिचित, नकारात्मक र सकारात्मक तथा विनाश र प्रतिरोधबिच उत्पन्न यही अर्थगत तनावले पाठकलाई उद्वेलित गराइरहन्छ।
'सलह' शीर्षकमा सामूहिकताको अवधारणा अत्यन्त प्रभावकारी रूपमा अभिव्यक्त भएको छ। एउटा सलहले मात्र ठूलो प्राकृतिक क्षति पुर्याउन सक्दैन। सलहको विनाशकारी प्रभाव विशाल हुलका रूपमा देखा पर्दा मात्र अनुभूत हुन्छ। यही विशेषतालाई लेखकले सामाजिक एवं राजनीतिक अर्थमा रूपान्तरण गरेका छन्।
एउटा श्रमिक, एउटा किसान वा एउटा उत्पीडित व्यक्तिको आवाज सत्ताको संरचनामा सजिलै दबिन सक्छ। तर हजारौं श्रमजीवी आफ्नो अधिकारका लागि एक ठाउँमा उभिँदा त्यो आवाज शक्तिशाली जनलहरमा रूपान्तरित हुन्छ। यस अर्थमा सलहको हुल संगठित शक्तिको विम्ब हो।
यहाँ हुलको अर्थ अव्यवस्थित भीड मात्र होइन, साझा पीडा, साझा स्वार्थ, साझा संकल्प र साझा मुक्तिको आकांक्षाले जोडिएको जनसमूह हो।
उपन्यासमा आन्दोलनकारीको एकता र संगठनको आवश्यकतासम्बन्धी प्रसंगले यस अर्थलाई थप विश्वसनीय बनाएको छ। यसरी सलहको प्राकृतिक सामूहिकता राजनीतिक सामूहिकताको कलात्मक रूपक बन्न पुगेको छ।
उपन्यासको शीर्षकको अर्थलाई पूर्णतः सकारात्मक एवं एकरेखीय बनाउनु उचित हुँदैन। यसको कलात्मक सामर्थ्य सलहको परम्परागत नकारात्मक अर्थलाई मेटाएर नयाँ सकारात्मक अर्थ स्थापित गर्नुमा मात्र छैन।
उपन्यासले प्रतिशोधको सीमितता पनि औंल्याएको छ। अन्यायविरूद्ध प्रतिरोध आवश्यक भए पनि प्रतिशोधले मात्र मुक्ति दिन सक्दैन भन्ने विचार व्यक्त भएको छ। यसले सलहको विम्बभित्रै अर्को अन्तर्विरोध पनि सिर्जना गरेको छ।
सलह विनाशकारी पनि हो, प्रतिरोधी पनि हो। यसले स्थापित संरचनालाई चुनौती दिन्छ तर विनाशलाई नै मुक्तिको अन्तिम उपाय मान्दैन। डेरिडाको विनिर्माणवादी दृष्टिले यही अन्तर्विरोधलाई महत्त्वपूर्ण ठान्छ, किनभने कुनै विम्बको अर्थ एउटै निष्कर्षमा पुगेर टुंगिदैन। त्यसका विभिन्न अर्थबीचको तनावले नै त्यसको व्याख्यात्मक सम्भावना विस्तार गर्छ।
यसरी 'सलह' शीर्षकमा विनाश र मुक्ति, प्रतिशोध र न्याय तथा व्यक्तिगत अस्तित्व र सामूहिक चेतनाबीचको द्वन्द्व एकसाथ उपस्थित भएको छ।
उपन्यासको अन्त्यमा लेखकले नायुमाको जीवनकथा सुनेपछि एउटा युगको कथा लेखिसकेको अनुभूति गर्छन्। त्यसपछि लेखकको एउटी वृद्धासँग भेट हुन्छ र जीवनका कठिनाइ एवं अभावबारे संवाद हुन्छ। यसरी उपन्यासको अन्त्यमा नायुमाको कथा समाप्त भए पनि सीमान्तकृत मानिसहरूको कथा समाप्त हुँदैन भन्ने संकेत प्राप्त हुन्छ।
एउटी नायुमाको जीवनकथा लेखेर उत्पीडनको सम्पूर्ण इतिहास लेख्न सकिँदैन। समाजमा अनेकौं नायुमा छन्, जसका कथा सुनिन र लेखिन बाँकी छन्। उपन्यासको अन्त्यतिर देखिने मरेका सलहको दृश्यले पनि शीर्षकको अर्थलाई थप सुदृढ बनाएको छ।
सलहको हुल क्षणिक रूपमा नष्ट हुन सक्छ तर त्यसले प्रतिनिधित्व गरेको सामाजिक पीडा र प्रतिरोधको चेतना समाप्त हुँदैन। यसरी उपन्यासले शीर्षकको अर्थलाई बन्द नगरी नयाँ व्याख्याका लागि खुला छाडेको छ।
ज्याक डेरिडाको विनिर्माण र यान मुकारोभ्स्कीको अग्रभूमि निर्माणको सैद्धान्तिक कसीमा राखेर हेर्दा 'सलह' उपन्यासको शीर्षकको सार्थकता पुष्टि हुन्छ। 'सलह' शीर्षक उपन्यासका घटना, पात्र, वैचारिक पक्ष र कलात्मक संरचनाको केन्द्रमा रहेको बहुअर्थी विम्ब बनेको छ।
डेरिडाको विनिर्माण सिद्धान्तका आधारमा हेर्दा यसले 'सलह' सम्बन्धी परम्परागत अर्थलाई चुनौती दिँदै नवीन अर्थको ढोका उघारिदिएको छ। त्यसैगरी मुकारोभ्स्कीको अग्रभूमि निर्माणको अवधारणाका आधारमा हेर्दा यसले सामान्य भाषिक प्रयोगबाट विचलित भई पाठकको ध्यान आकर्षित गरेको छ।
यसले उपन्यासको अर्थग्रहण प्रक्रियालाई समेत निर्देशित गरेको छ। प्राकृतिक विनाश र सामाजिक मुक्तिबीचको अन्तर्विरोधलाई समेट्दै एवं विभिन्न किसिमका विचलन र आन्तरिक तथा बाह्य समानान्तरतालाई अँगाल्दै 'सलह' शीर्षकले उपन्यासलाई कलात्मक, विशिष्ट र जीवन्त बनाएको छ।
***