कवि नदीशको कविता सङ्ग्रह 'हिउँद' सार्वजनिक गरिएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा हिउँदको लोकार्पण गरिएको हो।
पेशाले आर्किटेक्ट इन्जिनियर नदीशको यसअघि २०७४ सालमा हाँगामा झुन्डिएका आत्मकथा कविता सङ्ग्रह ल्याएका थिए।
उनको दोस्रो कविता सङ्ग्रह 'हिउँद' को सार्वजनिकीकरण साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिहरूले कविता वाचन गरे।
रिदम कँडेलको सांगितिक धुनमा खर्बुजा, झरी पर्दा, कोकुन र रोकिन मन छ– नजाऊ भनिदिने कोही छैन शीर्षकका कविता पवित्रा खड्का, डा. मुस्कान पोख्रेल, उमेश बलाल मगर र वसन्त बस्नेतले वाचन गरे।
त्यसैगरी कवि नदीशले नदीश यस्तो हुनु, अचेत सभ्यताको माझबाट, बिरामी र म फेरि आउँछु शीर्षकका कविता वाचन गरेका थिए। साथै, रिदम कँडेलले नदीशको एउटा कवितालाई गायनमा प्रस्तुत गरेका थिए।
संगीत र कविताको फ्युजनमा समारोह काव्यिक बनेको वक्ताहरूको प्रतिक्रिया थियो।
बुकहिल पब्लिकेसनले प्रकाशन गरेको यो कविता सङ्ग्रहको बजार मूल्य ५५५ रुपैयाँ तोकिएको छ। यो कविता सङ्ग्रह लिएर नदीश नेपालको पोखरा, इलाम, बिर्तामोडसहित नेपाल–भारतका विभिन्न शहरमा कविता यात्रा गर्दैछन्।