लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास 'इथा' लोकार्पण गरिएको छ।
भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित विशेष समारोहबीच उक्त कृति लोकार्पण गरिएको हो।
कार्यक्रमको मुख्य आकर्षण शिल्पी थिएटरले उपन्यास 'इथा'माथि तयार पारेको गीति नाटक रह्यो। कलाकारहरूले ‘इथा’ले उठाउन खोजेको विषयवस्तुलाई नाटकका माध्यमबाट प्रस्ट पारेका थिए। कलाकारहरूले उपन्यासका प्रमुख पात्रहरू वसुधा, लखा, धान्यवती, नयनतारा र सौरन्द्रीको भूमिकामा प्रस्तुत गरेको अभिनयले कृतिको भाव र विषयवस्तुलाई जीवन्त बनाएको थियो।
कार्यक्रमका समालोचक भूषिता वशिष्ठले 'इथा' उपन्यासमाथि विचारोत्तेजक विमर्श प्रस्तुत गर्दै यसलाई केवल ऐतिहासिक आख्यानका रूपमा सीमित नराखी पौरस्त्य दर्शनका दृष्टिबाट व्याख्या गरिन्। इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ रहेको उनको भनाइ छ।
वशिष्ठले विशेषगरी उपन्यासका महिला पात्रहरूलाई पौरस्त्य दर्शनको 'शक्ति' अवधारणासँग तुलना गर्दै उनीहरू केवल पात्र नभई प्रतीकका रूपमा उभिएका उल्लेख गरिन्। ती महिलामा देखिएको साहस, विद्रोह र विनम्रता कुनै व्यक्तिगत गुण मात्र नभई व्यापक सांस्कृतिक चेतनाको रहेको उनले बताइन्, जसले पाठकलाई आफ्नो अस्तित्व र स्वतन्त्रताबारे पुनर्विचार गर्न प्रेरित गर्ने उनको भनाइ छ।
'इथाको कथा प्रवाह, पात्रहरूको आत्मसंघर्ष र उनीहरूले लिएको निर्णायक अडानले मलाई भित्रैदेखि छोएको छ,' उनले भनिन्, 'यो पुस्तक म तपाईंहरु सबैलाई एक पटक पढ्नैपर्ने पुस्तकका रूपमा सिफारिस गर्छु। यति सुन्दर एवम् सुललित किसिमले लेखिएको उपन्यास हामीले कमै मात्रामा पढ्न पाउँछौं।'
विमर्शका क्रममा उनले भारतीय साहित्यमा 'वैशालीकी नगरवधू' ले स्थापित गरेको मानकलाई स्मरण गर्दै ‘इथा’ लाई त्यही स्तरको प्रभाव पार्न सक्ने कृतिका रूपमा मूल्यांकन गरिन्।
'वैशालीकी नगरवधूले भारतमा ऐतिहासिक परिवेशमा आधारित भएर पनि समाज, संस्कृति र मानवीय सम्बन्धहरूको गहिरो चित्रण गर्दै एक नयाँ मापदण्ड स्थापित गरेको थियो,' उनले भनिन्, 'इथाले पनि नेपाली साहित्यमा नयाँ उचाइ निर्धारण गर्ने सम्भावना बोकेको छ।'
उपन्यास 'इथा' ले करिब दुई हजार चार सय वर्षअघिको ऐतिहासिक, पौराणिक तथा किंवदन्तीमूलक परिवेशलाई आधार बनाउँदै वैशालीबाट लिच्छविहरू कसरी मञ्जुपट्टन आइपुगे र सौमरहरूमाथि विजय हासिल गरी नयाँ राज्यको स्थापना गरे भन्ने विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
कृतिको केन्द्रमा तीन महिला पात्र छन्, जसले साहस, विद्रोह र विनम्रताको प्रतीकत्व बोकेका छन्। युद्ध, प्रेम र पीडासँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरू गंगाको मैदानबाट उकालो लाग्छन्। स्वतन्त्रताको आकांक्षा बोकेका ती पात्र अन्ततः निर्णायक मोडमा पुग्छन्। प्रतिज्ञाले उनीहरुलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पुर्याउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ। त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरूको नयाँ राज्य।
लेखक तथा स्तम्भकार केशव दाहालको पहिलो प्रकाशित कृति 'नेपाली राजनीतिको पुनर्गठन' (२०७३) हो। उनको दोस्रो कृति उपन्यास 'मोक्षभूमि' ले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार पाएको थियो। उनको तेस्रो कृति निबन्धसंग्रह 'माधवी ओ माधवी' (२०७९) हो भने 'इथा' (२०८२) उनको चौथो प्रकाशित कृति तथा दोस्रो उपन्यास हो।
उपन्यास फाइनप्रिन्ट प्रकाशनले प्रकाशन गरेको हो।