ख्यातिप्राप्त वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति 'नेपाल गाथा' लाई २०८२ सालको 'उत्तम शान्ति पुरस्कार' प्रदान गरिने भएको छ।
'उत्तम कुँवर स्मारक पुरस्कार गुठी'ले वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका गैरआख्यानात्मक कृतिमध्ये उत्कृष्ट एक कृतिलाई २०४४ सालदेखि एक लाख रुपैयाँ राशिको 'उत्तम शान्ति पुरस्कार' प्रदान गर्दै आएको छ।
गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिको बैठकले ‘नेपाल गाथा’ कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
गुठीद्वारा जारी विज्ञप्तिअनुसार रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीमार्फत नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता तथा पर्यावरणीय विशेषतालाई सफलतापूर्वक उजागर गरेकाले उक्त कृतिका लेखक डा. श्रेष्ठलाई पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो।
यसअघि उक्त पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे,परशु प्रधान, गिरीश गिरी, रोशन शेरचन, डा. नवराज के.सीलगायतका स्रष्टा सम्मानित भइसकेका छन्।
पुरस्कार समर्पण कार्यक्रम यही जेठ १२ गते मंगलबार आयोजना गरिने जनाइएको छ।