कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह 'अन्तस्करण' लोकार्पण गरिएको छ।
साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा आइतबार काठमाडौंमा एक कार्यक्रम गरी कृतिको लोकार्पण गरिएको हो।
लोकार्पणमा वक्ताहरूले 'अन्तस्करण' लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरे। उनीहरूको भनाइअनुसार डा. उपाध्यायले कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्धका जटिलता तथा सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।
कार्यक्रममा सांसद राजिव खत्रीले डा. उपाध्यायका सिर्जनामा समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति पाइने बताए। साहित्यकार राधेश्याम लेकालीले यो कृति नेपाली कविताको समकालीन यात्रामा एउटा अर्थपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे।
सो अवसरमा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट एक–एक कविता वाचन गरे। स्रष्टा उपाध्यायले साहित्यलाई आत्माको आवाज भन्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए।
कार्यक्रममा लेकालीसहित सांसद खत्री, पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी र वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराईलगायत सहभागी थिए।
मिलाप पब्लिकेशनले प्रकाशित गरेको २९९ पृष्ठको कवितासंग्रहमा ७९ वटा कविता समावेश छन्।
डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, करिब २५० गीत तथा १५० हाराहारी म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन्।