पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति 'मिट्टी एन्ड द वाइल्ड क्याट' प्रकाशन हुने भएको छ।
कार्कीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबभन्दा चुनौतीपूर्ण समयमा यो किताब लेखेको उनको सचिवालयले जनाएको छ।
'जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा राष्ट्र अनिश्चितताको भुमरीमा थियो। यस्तो बेला पनि आफ्नो कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर उहाँले कृति तयार पानुभएको हो,' कार्कीको सचिवालयले भनेको छ।
उनले आफ्ना नातिलाई समर्पित गरेको यो किताबले प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ। चराचुरूंगी र जनावरहरूबीचको अन्तर्क्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ।
लेखक कार्कीका दुई कृति 'न्याय' (संस्मरण) र 'कारा' (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन्। यसबाहेक उनी 'लैंगिक समानता' र 'महिलावाद' (नारीवाद) की लेखक पनि हुन्।
पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि बहुमूल्य उपहारका रूपमा आएको लेखक कार्कीले बताएकी छन्।
उक्त पुस्तक चाँडै बजारमा उपलब्ध हुने कार्कीको भनाइ छ।