वरिष्ठ साहित्यकार डा. महेन्द्रकुमार मल्लको उपन्यास 'नक्खी' लोकार्पण गरिएको छ।
कर्णालीको मौलिक कथामा आधारित उक्त उपन्यास शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।
प्रवृत्तिगत रूपमा यथार्थवादलाई आत्मसात् गरेको तथा शिल्पगत दृष्टिले उत्तरआधुनिकताको प्रयोग गरिएको 'नक्खी'ले नेपाली समाजको चरम विषमता चित्रण गरेको छ। उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो।
उपन्यासको लोकार्पण गर्दै वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ 'सम्भव' ले नक्खी जातीय उत्पीडनको कथा मात्र नभएर समाजव्यवस्थाको त्रासद आख्यान भएको बताए। 'घटनाहरूको विन्यासमा कलात्मकता त छँदैछ, कथानकको बनोट र बुनोटमा कल्पनाको मिश्रणले यसलाई कलात्मक उचाइ प्रदान गरेको छ,' उनले भने, 'आख्यान शिल्पको नितान्त नवीन प्रयोगले उपन्यासलाई विशिष्ट बनाएको छ।'
उपन्यासमाथि समीक्षा गर्दै प्रा.डा. कुलप्रसाद कोइरालाले कर्णालीको कथा, परिवेश, भाषा, भेषभूषा, रीतिरिवाज तथा समग्र जीवनशैलीको विशिष्ट चित्रण गरेकाले उपन्यास आञ्चलिक विशेषतासहित प्रस्तुत भएको बताए। त्यसैगरी अभिनेत्री सुरक्षा पन्तले उपन्यास प्रेमिल कथाको आवरणमा सामाजिक जीवनधारालाई यथार्थवादी र उत्तरआधुनिक प्रवृत्तिमा अन्तर्घुलन गरेर देखाउन सफल भएको बताइन्।
विशेषतः मध्यपश्चिमको आञ्चलिकता बोकेको डा. मल्लको पछिल्लो सिर्जना 'नक्खी'ले समाजलाई जरैदेखि झकझक्याउने क्षमता राखेको चर्चा कार्यक्रममा गरिएको थियो।
नेपाली उपन्यास परम्परामा काव्यान्यासको सुन्दर कृतिका रूपमा आएको 'नक्खी' सामाजिक यथार्थ, उत्तरआधुनिक शिल्प, समकालीन नेपाली जीवनको त्रासद चित्रण तथा सौन्दर्य चेतका दृष्टिले उत्कृष्ट रहेको समीक्षकहरूको भनाइ थियो।
कविता, निवन्ध, नाटक र आख्यानमा कलम चलाउने डा. मल्लको यसअघि 'भाषाको बकपत्र' कविता संग्रह (२०७९) प्रकाशित भएको छ। मध्यपश्चिम विश्वविद्यालका पूर्वरजिष्ट्रारसमेत रहेका उनले 'भाषाविज्ञान र पूर्वीय एवम् पाश्चात्य साहित्य सिद्धान्त', 'भाषाविज्ञानका प्रमुख सिद्धान्त', 'कोशविज्ञान', 'प्रायोगिक भाषाविज्ञान' लगायत पाठ्यपुस्तक र सन्दर्भ पुस्तकहरूको लेखन गरिसकेका छन्।
नक्खी लोकार्पण समारोहमा डा. मल्लको 'एक कृष्णकी राधा' गजलसमेत सार्वजनिक गरिएको थियो।
कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले गरेका थिए।
