चीनमा हजारौं वर्ष पहिल्यै कोइला प्रयोग भएको इतिहास छ। संसारमा उन्नाइसौं शताब्दीमा औद्योगिक क्रान्ति भएपछि कोइलाको माग बढ्यो। सँगसँगै खानीमा काम गर्ने मजदुरको माग पनि बढ्यो।
खानी उत्खनन हुने क्षेत्रमा सहर निर्माण भए। व्यापार बढ्यो। देशको अर्थनीतिमै आमूल परिवर्तन भयो। आधुनिक प्रविधि र कानुनको अभावका कारण खानीभित्र मजदुरको जीवन अत्यन्त कष्टकर थियो। बिस्तारै उनीहरूले मजदुर संगठनमार्फत हडताल गरे।
यिनै कोइलाखानी र मजदुरमा आधारित अर्थव्यवस्था, राजनीति, वातावरण, पर्यावरण, प्रविधि, कानुन, इन्जिनियरिङ, समाज आदि विषयमा संसारभर हजारौं पुस्तक प्रकाशित छन्। भारतमा मात्रै सयभन्दा बढी पुस्तक प्रकाशित छन्।
सन् १८८५ मा प्रकाशित इमिली जोलीको उपन्यास 'जर्मेनी' नै हालसम्मको विश्वचर्चित उपन्यास हो, जसमा माइनिङ हडतालले ल्याएको उथलपुथल र एक धुलाम्य, निडर पात्र निस्सासिँदो सुरूङभित्र कसरी बाँच्छ र उसको मेहनतले दुनियाँको अर्थव्यवस्था कसरी धान्छ भन्ने अति कारूणिक र दर्दनाक कथा भनिएको छ।
यसरी नै रिचार्ड लिविल्लिनको 'हाउ ग्रिन वाज माई भ्याली' ले औद्योगिकीकरणले कसरी प्रकृतिलाई नष्ट गर्छ भन्ने बताउँछ।
भारतीय लेखक खुसी मोइत्राको उपन्यास 'कोइल माइनर्स डाटर' ले सन् १९६० देखि १९७० को दशकमा बिहार–बंगालका निजी कोइलाखानीलाई सरकारीकरण गरिँदा जोडिएको मजदुरको पीडादायक कथा उजागर गरेको छ।
'कोइलाखाद' उपन्यासभित्रको कथा
यही सिलसिलामा श्याम सिंघकले लेखेको 'कोइलाखाद' नेपाली जातिको बसाइँसराइको गति नाप्ने कथाले भरिएको उपन्यास हो।
अठारौं शताब्दीमा गोर्खा राज्य विस्तार भएदेखि नै त्यहाँबाट कोही पूर्वतिर र कोही पश्चिमतिर बसाइँ सरे। सुगौली सन्धिपछि पूर्व जाने क्रम व्यापक भयो।
सुरूमा विरक्तिएर हिँडेकाहरू पहिले गाई पाल्ने, भारी बोक्ने काम गर्दागर्दै पछि कोइलाखानीमा छिरे। भनिन्छ, सन् १९७० देखि मेघालयमा मुसादुलो सुरूङ खनेर कोइला खन्ने क्रम सुरू भयो। त्यही खानीले नेपालीलाई तान्यो।
नेपाली समाजमा सिलङ जाने, कोइलाखाद जाने, मेघालय जाने, मुग्लान जाने भन्ने कुरा व्यापक भएर आए।
सँगसँगै भुटान, आसाम, नागाल्यान्ड आदि पूर्वोत्तर भारत जाने र उतै बिहे गरेर हराउने क्रम पनि चल्यो।
'कोइलाखाद' तीमध्येको एक कथा हो। यो सामाजिक यथार्थमूलक, अस्तित्ववादी, विसंगत उपन्यास हो।
'कोइलाखाद' उपन्यासमा कोइलाखादको कथालाई रूथ र लोचनको कथाबाट तानिएको छ। ठाउँठाउँमा कोइलाखादका उपकथाहरूले लोचन र रूथको प्रेमलाई प्रतिस्थापन गर्छन्। यहाँनेर प्रेम खोज्नेहरूले पुस्तक थन्क्याउन सक्छन्। पाठकमा गम्भीरता नरहे क्वारीको कथाले नतान्न सक्छ।
तर समाज बुझ्न नरकको यात्रा गर्नुपर्छ भन्ने पाठकले बुझेमा ऊ धीमा गतिमा बढ्दै आफूलाई कोलाहल, ठट्टा, निराशा, दुःख, पीडा र मृत्युतिर धकेल्दै जीवनको भासमा अगाडि लैजान सक्छ।
कामको खोजीमा हिँडेका नेपालीको कथा भन्छ 'कोइलाखाद' ले। यस उपन्यासको पात्र लोचन मेघालयको जयन्तिया हिल्स जिल्लाको छेरूपी पुगेको छ। अरू पनि थुप्रै नेपाली त्यहाँ पुगेका छन्।
कति चाहिँ खेती सकिएपछि बाँकी छ महिना कमाउन पुग्ने गरेका छन्। धेरै चाहिँ उतै हराउने गर्छन्। त्यहीँ घरजम गरेर जंगलमा बस्ती निर्माण गर्छन्।
नेपालबाट लगिएका चालचलन र चाडपर्वद्वारा समाज र सभ्यता निर्माण गर्छन्। केही देवीथान उतै स्थापित गरिन्छन्।
लोचनले पनि त्यहीँकी खासिनीसँग मायाजालमा परेर उतै घरबार गरेको छ। उसले रूथ सियाङछाईसँग बिहे गरेर खेतीपाती र पशुपालन गर्छ। उपन्यासमा खासीहरूको मातृसत्तात्मक समाज, उनीहरूको जंगलमाथिको निर्भरता र खोरिया खेतीको वर्णन गरिएको छ।
लोचन र रूथका दुई सन्तान हुन्छन्। रूथसँगको बिहेपछि पनि लोचनलाई खासी समाजसँग घुलमिल हुन कठिन भएका परिस्थिति छन्।
बीचमा नेपाल फर्केर सात वर्षपछि पुनः मेघालय फर्कँदा रूथले रिमी भन्ने ट्रक ड्राइभरसँग बिहे गरिसकेकी हुन्छे। समय क्रममा रिमीको मृत्युपछि रूथले लोचनलाई पुनः अँगाल्न खोज्दा उनीहरू बस्तीबाट निकालिन्छन्।
जाति, भाषा र संस्कृतिभन्दा प्रेम ठूलो हुन्छ भन्ने तथ्यलाई लोचन र रूथको प्रेम, विवाह र बस्ती परित्यागको घटनाले बताउँछ।
छेरूपीको जंगल क्षेत्रमा कोइलाखानीहरू सञ्चालनमा आएपछि मानिसको चहलपहल बढ्न थालेको थियो। झुपडीहरू बने। पसलहरू खुले। चाडपर्वहरू मनाइए। जाँडरक्सी बेच्ने, जुवातास र ढाइस खेल्ने, भिडिओहरू देखाउने काम भए।
खासी बस्तीमा भने कोइलाको आम्दानीले झुपडीहरू पक्की घरमा परिणत भए। बच्चाहरू राम्रा स्कुलमा पढ्न थाले। धेरैले निजी गाडी किने। हिजो सिकार र भष्मे खेती गर्नेहरू अन्य पेसामा लागे। नेपाली सरदारहरूले पनि प्रशस्त सम्पत्ति जोडे।
मजदुरहरूले खानीभित्र जोखिमयुक्त काम गर्थे। तर पुस्तौं बित्दा पनि उनीहरूको अवस्थामा कुनै सुधार देखिएन। उनीहरू धेरैजसो रमाइलोमै भुल्थे। कतिको कामको सिलसिलामै बेवारिसे मृत्यु हुन्थ्यो।
राष्ट्रिय हरित अधिग्रहण आयोगले वातावरण विनाश, कामदारको असुरक्षा आदि विषयमा मुद्दा लगाएपछि सन् २०१४ अप्रिलमा त्यहाँका कोइलाखानी बन्द भए। मजदुरहरूको अचानक रोजगारी गुम्यो।
कतिपय नेपाल फर्किए भने पुस्तौंअघि देश छाड्नेहरूको बिचल्ली भयो। पहिलेका गुल्जार क्याम्प क्षेत्रहरू अचानक सुनसान बने।
'कोइलाखाद' मा थुप्रै मजदुर आफ्ना परिवार छाडेर आएका हुन्छन्। तीमध्ये धेरैजसो यतै हराउँछन्। कसैले यतै बिहे गर्छन्। कोही परिवारै आएर पनि अर्कोसँग बिहे गरेर छुट्टिन्छन्। कोही पैसा कमाउन आएर मृत्युवरण गर्छन् र नेपालमा रहेका परिवारले उनीहरूको लाससमेत देख्न पाउँदैनन्।
कति सँगै भएकाहरू पनि काम गर्ने श्रीमानको मृत्यु भएपछि बिचल्लीमा परेका छन्। यस उपन्यासको प्रमुख पात्र लोचन नेपालमा परिवार हुँदाहुँदै पनि यतै आएर बिहे गर्ने कोइला मजदुर हो।
उपन्यासको भाषाशैली र खासी बस्तीका स्थानीय नामले पाठकलाई एउटा नयाँ संसारमा डोर्याउँछन्। कौतूहलता बढाएर पाठकमा रूचि जगाउँछन्।
जब क्वारीका घटना सुरू हुन्छन्, कोइलाखानीको इतिवृत्तान्तले त्यसबारे नयाँ जानकारी दिन्छ। साथै, खासी जातिको समाज र मजदुरको सम्बन्धबारे जानकारी गराउँछ। कोइला उत्खननको सुरूआती कथादेखि अन्त्यसम्म बयान गर्छ।
मजदुरहरूको अनिश्चित जिन्दगीको कथा
बिहान क्वारीमा छिरेका मजदुरको समूह नै कहिलेकाहीँ पुरिन्छ। कति ताल (सिलिङतिरको माटो–ढुंगा) खसेर मर्छन्, कति पानी भरिएर।
कति भर्याङबाट खसेर, अनि कति हावा नपाएर।
अत्यन्त जोखिमयुक्त गहिरो सुरूङमा काम गर्नुपर्ने भए पनि कामदारका लागि सुरक्षाका साधन छैनन्। न त उनीहरूको बिमा नै छ।
कुनै दिन दुर्घटनामा मृत्यु हुँदा पहिचानको अभावमा न आफन्तलाई खबर पुग्छ, न धार्मिक तथा सामाजिक मृत्युसंस्कार हुन्छ। सरदारहरूको अगुवाइमा सिधै खाल्टो खनेर पुरियो, सकियो।
न मजदुरहरूको स्वास्थ्य सेवा, न बच्चाहरूका लागि विद्यालय।
कतिपय सुत्केरीहरू उपचारको अभावमा मर्ने घटना भएका छन्। पेन्सन र उपदानको अभावका कारण भोलि बुढेसकालमा के गर्ने भन्ने अनिश्चितताको भुमरीमा छन् उनीहरू।
त्यस्तै, कतिपय चाहिँ बाजेबाजेको पालादेखि नेपाल छाडेर आएका र अन्यत्र पनि स्थायी बसोबास नभएकाले भोलि कता जाने भन्ने पनि ठेगान देखिँदैन।
कोइला मजदुरहरूमाझ भएका लुट, झगडा, हत्या, अनैतिकता र धोकाले पाठकलाई आङ सिरिंग बनाउँछन्। उपन्यासभित्र हत्या, आत्महत्या, बलात्कृत महिला र बेवारिसे लासका भयावह दृश्यहरू बग्रेल्ती भेटिन्छन्।
यो पुस्तकले पाठकलाई कोइला बन्ने क्रममा कति भयानक कथा जोडिएका छन् र त्यसबाट निस्कने उज्यालोको आगोमा दुःखी मजदुरहरूका सपना, आँसु, रगत र पसिना बलिरहेका छन् भन्ने आभास दिलाउँछ।
निरीहता र संस्कार ह्रासको कथा
उपन्यासका अधिकांश पात्र जुवातास, तीर, जाँडरक्सी र परस्त्रीमा लिप्त भेटिन्छन्। ससाना घटनामा झगडा गर्ने, हत्या र आत्महत्या गर्ने गर्छन्।
वयस्क र प्रौढहरूमा आफ्ना बच्चाको स्वास्थ्य, शिक्षा र भविष्यप्रति सजगता देखिँदैन। मानव संवेदनशीलताको अभावमा दुर्घटना र मृत्युलाई पनि सामान्य मानिन्छ।
क्याम्पबाहिरबाट हुने शोषण, दमन र अपमान यहाँकाहरूले सहेर बस्छन्। मजदुरहरूमाथि हेपाइ अनि उनीहरूको परिवारमाथि बलात्कार र हत्याका घटना हुने गरेका छन्। तर कानुन र प्रशासनको अनुपस्थितिका कारण न्याय मिलेको छैन।
यहाँका अमृत भन्ने एक पात्रले सधैं जुवातास खेलेको निहुँमा रिसाएर उनकी श्रीमती सानो छोरा लिएर माइती जान्छे। माइतीमा छोराको कपाल मुण्ड्याएर बाउ मरेको भनेपछि अमृतले आत्महत्या गर्छ।
आसामे भन्नेले सुत्केरी श्रीमतीलाई जंगलमै छाडेर सधैंका लागि भाग्छ। शिबे कछाडलाई तास चोरेको आरोपमा साथीले छुरा घोपेर हत्या गर्छ।
अत्यन्त जोखिमयुक्त कामले गर्दा जीवन अनिश्चित भएकाले अधिकांश पात्रमा नैतिक जीवनप्रति सचेतता हुँदैन।
साथै, कानुन र न्यायको अभावले पनि मजदुरहरूको जीवनप्रतिको नैराश्यतालाई बढावा दिएको देखिन्छ। मान्छे मरे पनि खोजतलास नहुने भएकाले यस क्षेत्रमा निर्मम सामाजिक व्यवस्था चलेको देखिन्छ। त्यसको असर उनीहरूको नैतिक जीवनमा पनि परेको देखिन्छ।
वातावरणीय प्रभाव
जताततै सुरूङ निर्माणले जमिन असुरक्षित बन्यो। जंगलहरू मासिए। पानीका मुहानहरू सुक्न थाले।
क्वारीहरूबाट निस्केको रासायनिक पानी नदीमा पुग्दा त्यहाँका जलचर प्राणीहरू पूर्ण रूपमा नष्ट भए। केही दशकअघिका जंगलहरू बिस्तारै विशाल घाँसे चौरमा परिणत भएको देखिन्छ।
कोइला सकिएर छाडिएका गहिरा–गहिरा खाडलहरू पुर्ने वा बार्ने नगरिएकाले थुप्रै दुर्घटना बढे। अव्यवस्थित क्याम्पहरूको निर्माणले खानेपानी र सरसफाइको अभाव भयो र मजदुर तथा उनीहरूको परिवारको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्यो।
उपन्यासका सीमाहरू
'कोइलाखाद' मा प्रयोग भएका बहुसंख्यक पात्र लिम्बुवान, खम्बुवान र लाम्सालिङबाट गएका थिए। उनीहरूको लवज मातृभाषाअनुकूल थियो। खासीहरूको आफ्नै लवज हुने नै भयो।
यद्यपि उपन्यासमा पात्रहरू आफ्नै लवजमा बोलेका छैनन्। केन्द्रीय मानकको संस्कृत प्रभावित खस नेपाली भाषालाई नै पात्रहरूको लवज बनाइएको छ।
पात्रहरूले समाज, जाति, देश, भूगोल र समयको समाजशास्त्रलाई बोकेर प्रतिनिधित्व गर्ने हो। त्यस कारण यस पुस्तकका अध्येताले 'लोचन र रूथले कति राम्रो नेपाली बोलेको? किन उनीहरूले आफ्नो भाषा बोलेनन्? भाषिक प्रभावसहितको लवजमा बोलेनन्? यति परको मेघालयमा पुगेर नेपालको लिम्बुवान, खम्बुवान र ताम्सालिङको लवज बिर्से?' भनेर प्रश्न गर्दा त्यसको उत्तर हुँदैन।
त्यस कारण 'कोइलाखाद' उपन्यास भाषिक हिसाबले एकात्मक देखिन्छ।
लेखकले उपन्यासलाई कोइलाखादको इतिहास भनेका छन्। उनको दाबी अनुसार क्वारीमा काम गर्ने मजदुर र सरदारहरूको कथा भन्न उपन्यासले समय खर्च गरेको छ। त्यसो भए उपन्यास त्यसैमा केन्द्रित हुनुपर्थ्यो। तर उपन्यास लोचन र रूथको प्रेमकथाले पठनीय बनेको छ। उपन्यासमा प्रेम मुख्य कथा भयो र कोइलाको कथा सहायक बन्न पुग्यो। लेखक यहीँनेर चुके।
यो कोइला खन्न गएको लोचनको प्रेमको असली कथा हो, जुन कोइलाखानीमा पूरा भयो।
अर्को कुरा, लेखकले यो उपन्यास मेघालयको कोइलाखानीको इतिहास भनेका छन्। इतिहास हुन तिथिमिति, साक्षी, प्रमाण र स्रोत चाहिन्छ। त्यो उपन्यासमा पाइँदैन।
भए पनि वास्तविकजस्तो नभएर काल्पनिकजस्तो हुन्छ। यो जयन्तिया हिल्सको छेरूपी र त्यस आसपासको कथा हो। खासी हिल्स र गारो हिल्सका कोइलाखानीका कथाहरू यसमा समावेश छैनन्। ती ठाउँका कोइलाखानीका कथा लेख्न बाँकी नै छन्।
त्यसैले पनि यो पुस्तक मेघालयको कोइलाखानीको पूर्ण इतिहास हुन सक्दैन।
तर यो उपन्यास वैदेशिक रोजगारीमा जाने नेपालीको कथाजस्तै एक युगको कथा हो। यसले हजारौं वैदेशिक श्रमिकको संघर्ष, जीवन र मृत्युको कथा सुनाएको छ।
यो देश छाडेर जाने आदिवासीको कथा पनि हो। भारतीय खासीहरूको संस्कृति र भूगोलमा घटित कथा पनि हो।
समग्रमा भन्दा, यो ग्रामीण नेपालीले भोगेको एक त्रासद कथा हो। सपनाको कथा! दुई देश तथा दुई समुदायबीचको साँचो कथा।
***