नेपाली एनिमेटेड फिल्म ‘जय लाखय्’ शनिबार प्रदर्शन हुँदैछ। करिब ८ वर्ष लगाएर तयार गरिएको यो फिल्म चाबहिलस्थित एफक्युब सिनेमामा मात्र एक दिनका लागि प्रदर्शन हुन लागेको हो।
यो फिल्म संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको नाटक ‘मजिपा लाखे’ मा आधारित छ। फिल्ममा कथा, संवाद र पटकथा जोशीकै छ। फिल्मका निर्देशक एवं एनिमेटर संयुक्त श्रेष्ठका अनुसार, सन् २०११ मा बेलायतको पासा पुचः गुठी र विश्व नेवाः संगठनले एक भेला आयोजना गरेका थिए।
विभिन्न क्षेत्रका संस्कृति विज्ञहरूको भेलामा संस्कृतिविद् जोशी पनि सहभागी भएका थिए। त्यसबेला उनले आफूलाई मजिपा लाखेबारे नाटक लेख्ने इच्छा भएको बताएका थिए। मजिपा लाखेलाई प्रत्येक वर्ष मनाइने येंया (इन्द्रजात्रा) को प्रमुख पात्र मानिन्छ। उनी राक्षस हुन्, तर एक किसानकी छोरीसँग उनको प्रेम सम्बन्ध बस्छ।
‘मौखिक रूपमा मात्र सीमित यो कथालाई नाटकका रूपमा लेख्न सकियो भने नयाँ पुस्तामा यसको हस्तान्तरण गर्न सकिन्छ भन्ने सोच उहाँमा थियो। बेलायतबाट फर्केपछि उहाँले तुरून्तै यसमा काम गर्नुभयो,’ संयुक्तले भने।
जोशीले सन् २०१४ मा नाटकको किताब प्रकाशित गरे। संयुक्तलाई त्यस कथामा आधारित एनिमेसन फिल्म बनाउन मन थियो। जोशीले आफ्नो किताबमा हस्ताक्षर गर्दै फिल्म बनाउने स्वीकृति दिएका थिए। तर संयुक्तले सन् २०१७ पछि मात्र फिल्म निर्माणको काम थाले।
‘सन् २०१७ मा मैले शंखधर साख्वाबारे ४५ मिनेटको छोटो फिल्म बनाएको थिएँ। त्यो मेरो लागि एनिमेसन सिक्ने अभ्यास थियो। त्यो फिल्म प्रदर्शनपछि पाएको आत्मबलका आधारमा मैले यो फिचर फिल्म बनाएको हुँ,’ उनले भने, ‘मैले दिनरात नभनी मेहनतपूर्वक फिल्मको काम गरेको छु।’
एनिमेसन फिल्मका लागि १ लाख ३५ हजार चित्र कोर्नुपरेको उनी बताउँछन्। संयुक्तसँगै नियुक्त श्रेष्ठले पनि एनिमेसन निर्माणमा सहयोग गरेका छन्। फिल्ममा जंगबहादुरको बेलायत भ्रमणबारे पनि वर्णन गरिएको छ।
‘जब जंगबहादुर बेलायत भ्रमणमा जानुभयो, त्यतिबेला प्लेन होइन, महिनौं लगाएर जहाजमार्फत जानुपर्थ्यो। यात्राक्रममा जहाजमा केही गडबडी भएछ। त्यो समस्या समाधान भए मजिपा लाखेलाई चारवटा हिरा चढाउने बाचा गर्नुभएछ,’ उनले भने, ‘समस्या समाधान भएपछि उहाँले बेलायतबाट फर्कंदा हिरा किनेर मजिपालाई चढाउनु भएको रहेछ। उहाँले कहाँ–कहाँ हिरा किन्नुभयो, कहाँ–कहाँबाट बन्दुक ल्याउनुभयो भन्ने विषयमा मैले अनुसन्धान गरेको छु। उहाँ चढेको जहाजदेखि सबै विवरणको अनुसन्धान गरेर मैले यो एनिमेसन तयार पारेको हुँ।’
‘जय लाखय्’ फिल्म १ घण्टा १५ मिनेट लामो छ। यन्त्रकला स्टुडिओमार्फत यो फिल्म प्रदर्शनमा आउन लागेको हो। फिल्मका निर्माता बेलायतबाट अञ्जना श्रेष्ठ र लोचन मानन्धर हुन् भने अमेरिकाबाट शैलेन्द्र मानन्धर र समीर महर्जन हुन्।
फिल्म नेपाली र नेपाल भाषामा छ। बिहान ९ बजे नेपाल भाषामा र ९ः१५ बजे नेपाली भाषामा प्रदर्शन हुन लागेको छ। नेपाल प्रदर्शनपछि लन्डनमा पनि यसको प्रदर्शन गरिने संयुक्त बताउँछन्।
‘नेवाः संस्कृति, लोककथा र भाषा प्रवर्द्धनका लागि यो फिल्म बनाएका हौं। फिल्ममार्फत नेवाः समुदायमा लाखेको इतिहासको महत्त्व दर्शाउन खोजिएको छ। नेपालको सांस्कृतिक इतिहासलाई नेपाल र नेपालबाहिरका दर्शक तथा नयाँ पुस्तासम्म पुर्याउने जमर्को हामीले गरेका छौं,’ उनले भने।