अभिनेत्री तृप्ति नाड्करले कुनै समय नेपाली फिल्ममा आफ्नो अभिनयको जादू नै छरेकी थिइन्।
'कुसुमे रूमाल', 'सम्झना', 'साइनो', 'लाहुरे', 'कोशेली' लगायत फिल्मबाट उनी दर्शकको मनमा बसिन्। उनको अभिनय, सुन्दर मुस्कान र पर्दामा देखिने आत्मीयताले उनलाई नेपाली फिल्मकी प्रिय अभिनेत्री बनाएको थियो।
तर पछि वर्षौंवर्ष उनी नेपाली फिल्मको पर्दामा देखिइनन्।
आखिर किन अभिनयबाट टाढिइन् तृप्ति? कहाँ गइन्? के गर्दै थिइन्?
सायद धेरैको मनमा यस्ता जिज्ञासा थिए।
उनै तृप्ति झन्डै १९ वर्षपछि नेपाली फिल्ममा फर्किएकी छन्। विक्की अग्रवाल र श्रद्धा प्रसाईं निर्देशित फिल्म 'ककाकिकी' मार्फत उनको पुनरागमन भएको हो।
यो फिल्म शुक्रबारदेखि देशभरका सिनेमाहलहरूमा प्रदर्शनमा आइसकेको छ। प्रिमियरमा सहभागी हुन तृप्ति गत साता मुम्बईबाट काठमाडौं आइपुगिन्। अहिले उनी दर्शकसँग भेटघाट गर्दै हलसम्म पुगिरहेकी छन्।
लामो समयपछि फिल्मको माहोलमा फर्किँदा उनलाई धेरै कुरा नयाँ लाग्यो। कलाकारले फिल्म प्रदर्शनका बेला गर्ने प्रचारप्रसारदेखि दर्शकसँगको भेटघाट र सञ्चारमाध्यमसँगको अन्तर्वार्तासम्मको शैली फेरिएको उनले महसुस गरिन्।
'सबै कुरा नयाँ नयाँ अनुभव भइरहेको छ। हाम्रो पालामा यस्तो धेरै कुरा थिएन। अहिले कलाकारहरू दर्शकसँग यसरी भेट्ने, कुरा गर्ने र सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्ने रहेछन्। फिल्म रिलिज हुँदा पनि यति धेरै गतिविधि हुने रहेछ। पहिलेको तुलनामा अहिले फिल्मको प्रचार गर्ने तरिका नै फरक भइसकेछ,' केही दिनअघि सेतोपाटी कार्यालयमा कुराकानी गर्दै तृप्तिले भनिन्।
झन्डै दुई दशकपछि तृप्ति नेपाली फिल्ममा कसरी फर्किइन् त? अभिनयबाट टाढिएर यतिका वर्ष उनी कहाँ थिइन्? के गर्दै थिइन्?
अनि, फेरि फिल्ममा काम गर्ने माहोल कसरी जुर्यो?
विक्की अग्रवालको एउटा फोनकल
तृप्तिको पुनरागमनको कथा निर्देशक विक्की अग्रवालले गरेको एउटा फोनबाट सुरू हुन्छ, जति बेला तृप्तिको संसार अर्कै थियो। उनी मुम्बईमा नर्सरी र किन्डरगार्टेन तहका दुईदेखि ६ वर्षसम्मका बालबालिकालाई पढाउने काम गरिरहेकी थिइन्।
उसो त विक्कीले पनि धेरै प्रयास गरेर मात्रै तृप्तिको नम्बर पाएका थिए।
त्यसपछि सिधै फोन गरेर प्रस्ताव राख्दै भनेका थिए, 'हामी यस्तो फिल्म बनाउँदै छौं, तपाईंले काम गर्नुपर्छ।'
प्रस्ताव राख्ने उनको शैली र कामप्रतिको दृष्टिकोणले तृप्तिको मन छोयो। तर फिल्ममा काम गर्ने निर्णय गर्नुअघि उनले आफ्नो स्कुलको जिम्मेवारीबारे स्पष्ट पारिन्। एक महिना नेपाल आउनुपर्ने भएकाले स्कुलबाट बिदा मिलाउनुपर्ने उनको बाध्यता थियो।
अन्ततः करिब ६ महिनापछि उनी नेपाल आइपुगिन्। त्यो उनको झन्डै दुई दशकपछिको काठमाडौं आगमन थियो।
उनलाई सहर नै नयाँ लाग्यो। पुराना बाटाहरू चिन्न सकिनन्। काठमाडौं ओर्लिएलगत्तै पोखरा पुगिन्। फिल्म छायांकन त्यहीँबाट सुरू हुँदै थियो।
'म त पूरै अलमलिएँ। काठमाडौंका बाटाहरू पनि चिन्न सकिनँ। अहिले पनि सबै जना मलाई लिन आउनुहुन्छ, यता लैजानुहुन्छ, उता लैजानुहुन्छ। उहाँहरूले जे भन्नुहुन्छ, त्यहीअनुसार हिँडिरहेकी छु,' उनले हाँस्दै सुनाइन्।
पुराना सहकर्मीसँगको भेट, नयाँ कलाकारसँगको सहकार्य र छायांकनको माहोलले उनलाई फेरि पुरानै संसारमा फर्किएको अनुभूति गरायो।
अभिनयको कुरा उस्तै भए पनि प्रविधि र काम गर्ने शैलीमा आएको परिवर्तनले भने उनलाई अचम्मित बनायो।
यतिका वर्ष कहाँ थिइन् तृप्ति?
तृप्ति अभिनयबाट टाढिनुको कारण न कुनै फिल्मी असफलता थियो, न नेपाली फिल्मप्रतिको मोहभंग।
परिवारमा आइपरेको कठिन परिस्थितिले उनलाई अभिनयबाट टाढा पुर्याएको थियो।
'पहिले बुबा बिरामी हुनुभयो। त्यसपछि आमा। आमालाई मधुमेहका कारण देख्न गाह्रो भएको थियो। पछि उहाँको खुट्टा पनि भाँचियो। यस्तो अवस्थामा उहाँलाई एक्लै छाडेर म कसरी फिल्ममा काम गर्न जान सक्थेँ र,' उनले भनिन्, 'म एक्ली छोरी थिएँ। बुबाआमालाई समय दिनु र उहाँहरूको हेरचाह गर्नु नै मेरो जिम्मेवारी थियो।'

बुबाआमाको स्वास्थ्य अवस्थाले उनलाई मानसिक रूपमा पनि निकै कमजोर बनाएको थियो। उनीहरूको हेरचाह र साथमै समय बिताउनुपर्ने भएपछि अभिनयलाई निरन्तरता दिन सम्भव भएन।
पछि बुबाआमा दुवैलाई गुमाउँदा आफू एकदमै टुटेको उनी बताउँछिन्।
'बुबाआमालाई गुमाउनु मेरो जीवनको निकै कठिन समय थियो। उहाँहरू हुनुहुन्न भन्ने कुरा स्वीकार गर्न पनि सजिलो थिएन। म एक्ली छोरी भएकाले उहाँहरूसँग मेरो सम्बन्ध र जिम्मेवारी अझै विशेष थियो। त्यसपछि पनि म तत्कालै फिल्ममा फर्किन सक्ने अवस्थामा थिइनँ। जीवनलाई फेरि सम्हाल्नुपर्ने थियो,' उनी विगत सम्झिन्छिन्।
त्यसपछि तृप्तिले आफूलाई बालबालिकाको संसारमा व्यस्त बनाइन्। मुम्बईमा नर्सरी र किन्डरगार्टेन तहका बालबालिकालाई पढाउन थालिन्। झन्डै १८ वर्ष उनले यही काममा बिताइन्।
फिल्मी संसारसँग उनको सम्पर्क बिस्तारै टुट्दै गयो। नेपाली फिल्मबाट कुनै प्रस्ताव पनि पुगेको थिएन। सम्पर्क गर्ने नम्बरसमेत कसैसँग नरहेको हुन सक्ने उनको अनुमान छ।
उनले पनि फिल्ममा फर्किनेबारे खासै सोचिनन्।
'बच्चाहरूसँग मेरो मन रमाउन थाल्यो। आफ्नो सम्पूर्ण समय त्यहीँ दिन थालेँ। त्यसपछि फिल्म क्षेत्रसँग मेरो सम्पर्क नै टुट्यो। बीचमा नेपाली फिल्मबाट कुनै प्रस्ताव पनि आएन। मसँग सम्पर्क गर्ने नम्बरसमेत कसैसँग थिएन होला,' उनी भन्छिन्।
तर नेपाली फिल्मसँगको भावनात्मक सम्बन्ध मनको कुनामा बाँकी थियो। अभिनयमा फर्किनेबारे कुनै ठोस योजना नभए पनि एक पटक फेरि नेपाली फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने चाहना कतै थियो।
'नेपाली फिल्मसँग मेरो एउटा छुट्टै सम्बन्ध छ। फर्किन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर कसरी फर्किने, कसले सम्पर्क गर्ने भन्ने कुरा पनि थिएन,' तृप्तिले सुनाइन्।
दुई वर्षको उमेरदेखि अभिनयमा
तृप्तिको जन्म दार्जिलिङमा भएको हो। उनकी आमा नेपाली थिइन्। तृप्तिका अनुसार आमाको माइती दोलखा हो।
उनी दुई वर्षको उमेरमै परिवारसँग मुम्बई पुगिन्। अभिनयमा पनि उनको प्रवेश त्यही उमेरमा भयो।
कलाकार बन्ने योजना उनले आफै बनाएकी थिइनन्। यो उनका बुबाको इच्छा थियो। बुबाको परिवार फिल्म क्षेत्रसँग नजिक थियो।
तृप्तिका नजिकका आफन्त विलास बेन्डे विज्ञापन क्षेत्रमा चर्चित छायांकार थिए। उनैले दुई वर्षकी तृप्तिलाई एउटा ब्रिटिस विज्ञापनमा काम गराउने प्रस्ताव राखे। बुबा पनि खुसी भए।
त्यसपछि उनले थुप्रै विज्ञापनमा काम गरिन्। यसरी खेल्ने उमेरमै क्यामरा र अभिनयसँग परिचित भएकी तृप्तिले सानै उमेरमा मराठी फिल्ममा पनि काम गरिन्। उनले करिब चार वटा मराठी फिल्ममा अभिनय गरेकी छन्।
हिन्दी फिल्म 'गोदाम' मा समेत उनले अभिनय गरिन्। सुरूमा अभिनय उनको रोजाइभन्दा पनि पारिवारिक वातावरण र बुबाको इच्छाले अघि बढाएको यात्रा थियो।
तर यही यात्राले उनलाई नेपाली फिल्मको स्वर्णीम युगकी अभिनेत्री बनायो।
यसरी नेपाली फिल्ममा आइन्
नेपाली फिल्मसँग तृप्तिको सम्बन्ध जोडिनुमा पनि पारिवारिक सम्बन्धकै ठूलो भूमिका थियो। भुवन केसीका काका ध्रुव केसी गायक थिए। तृप्तिकी आमा पनि रेडिओकी राम्री गायिका थिइन्।
ध्रुव केसी र उनकी आमाबीच चिनजान थियो। ध्रुवलाई तृप्तिले ध्रुव मामा भनेर सम्बोधन गर्थिन्। कहिलेकाहीँ घरमै बसेर आमासँग गीत गाउँथे।
निर्देशक शम्भु प्रधानसँग पनि परिवारको चिनजान थियो। त्यति बेला तृप्ति मराठी फिल्मको छायांकनमा व्यस्त थिइन्।
नेपाली फिल्म 'कुसुमे रूमाल' का लागि नायिका खोजी भइरहेको थियो। ध्रुव केसी लगायतले तृप्तिलाई सम्झिए। त्यसपछि उनको छायांकनस्थलमै पुगेर काम हेर्ने योजना बन्यो।
भुवन केसी, तुलसी घिमिरे, शम्भु प्रधान लगायत उनको मराठी फिल्मको सुटिङ हेर्न पुगे। तृप्तिको अभिनय हेरेपछि उनीहरूले उनका बुबासँग कुरा गरे।
बुबाले पनि सहमति जनाए। त्यसपछि कुसुमे रूमालमा काम गर्ने कुरा अगाडि बढ्यो। तृप्ति त्यति बेला करिब १७ वर्षकी थिइन्। त्यसपछि उनले 'सम्झना' मा अभिनय गरिन्।
२०४० साल आसपासका यी फिल्मले तृप्तिलाई नेपाली दर्शकमाझ स्थापित गराए। दुवै फिल्मले दर्शकको असाध्यै माया पाए।
कुसुमे रूमालको अधिकांश छायांकन दार्जिलिङ र कालिम्पोङ आसपास भएको थियो। तुलसी घिमिरेको घरमा पनि छायांकन गरिएको थियो। सम्झनाको छायांकन पनि उतैतिर भएको थियो।
फिल्म 'साइनो' को गीतका लागि उनी बल्ल पहिलो पटक काठमाडौं आइन्। त्यसपछि 'कोसेली' भने धेरैजसो छायांकन नेपालमै भएको थियो।
कुसुमे रूमाल तृप्तिको परिचय बनेर बस्ने फिल्म पनि बन्यो। फिल्मले नेपाली दर्शकबाट असाध्यै माया पायो। नेपाली फिल्म इतिहासमै रजत जयन्ती मनाउने पहिलो फिल्मका रूपमा पनि यसलाई सम्झिइन्छ।
तृप्ति भने फिल्मको सफलताले त्यति छिट्टै उत्साहित हुने स्वभावकी थिइनन्। फिल्म चल्यो भन्दैमा धेरै हौसिनेभन्दा पनि दर्शकले कसरी लिए, कहाँ सुधार गर्न सकिन्छ भन्ने कुरामा उनको ध्यान जान्थ्यो।
'म त्यति छिट्टै उत्साहित हुने मान्छे होइन। फिल्मले रजत जयन्ती मनाउँदा पनि मेरो प्रतिक्रिया सामान्य नै थियो,' उनी भन्छिन्।

त्यसबेला कलाकारले दर्शकसँग प्रत्यक्ष भेट्ने अवसर पनि कम पाउँथे।
कुसुमे रूमालले रजत जयन्ती मनाउँदा तुलसी घिमिरेले एउटा कार्यक्रम आयोजना गरेका थिए। त्यही बेला एक दिनका लागि तृप्तिलाई बोलाइएको थियो। दर्शकसँग प्रत्यक्ष भेट्ने अवसर उनले त्यही कार्यक्रममा मात्रै पाएकी थिइन्।
दर्शकले भने सधैं सम्झिन्थे। सुटिङ हेर्न दर्शकको भीड लाग्ने समय थियो त्यो। फिल्म कहाँ छायांकन भइरहेको छ भन्ने थाहा पाएपछि मानिसहरू कलाकारलाई हेर्न पुग्थे।
लाहुरेको सिक्किममा खिचिएको एउटा दृश्य तृप्तिलाई अझै सम्झना छ।
त्यस दृश्यमा उनले अभिनेता श्रवण घिमिरेलाई माटो लगाएर निकै लथालिंग बनाउने दृश्य थियो। त्यहाँ सुटिङ हेर्न आएका दर्शक हाँसेर भुतुक्कै हुन्थे।
नेपाल र दार्जिलिङमा पनि छायांकनका क्रममा दर्शकको भीड लाग्थ्यो। तृप्तिलाई देख्नेबित्तिकै कतिपयले उनको वास्तविक नामभन्दा फिल्मको नाम लिएर बोलाउँथे।
उनी नोस्टाल्जिक हुँदै सुनाउँछिन्, 'सुटिङमा मलाई जिस्क्याएर कुसुमे रूमाल भनेर बोलाउनुहुन्थ्यो। त्यतिबेला रमाइलोका लागि बोलाइने त्यो नाम पछि दर्शकमाझ पनि परिचित भयो। अहिले पनि कतिपय दर्शकले मलाई देख्नेबित्तिकै कुसुमे रूमाल भनेर भन्नुहुन्छ। त्यो सुन्दा निकै खुसी लाग्छ।'
तृप्तिका फिल्मको चर्चा गर्दा त्यसमा समावेश गीतहरूलाई अलग राख्न सकिँदैन।
उनका फिल्मका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् र, दर्शकको मनमा बसेका छन्। यसमा संगीतकार तथा गायक रंजित गजमेर र गायिका आशा भोसलेको योगदानलाई उनी विशेष रूपमा सम्झिन्छिन्।
'रञ्जित दाइले मेरा लागि गीत दिनुभयो। आशा जीले पनि मेरा लागि गीत गाउनुभयो। उहाँहरूप्रति म निकै आभारी छु। उहाँहरूकै कारण मैले त्यस्ता राम्रा गीतमा काम गर्ने अवसर पाएँ,' उनी भन्छिन्।
गीतहरू लोकप्रिय हुनुमा कलाकारको अभिनयसँगै संगीत र स्वरको पनि उत्तिकै भूमिका हुने उनको अनुभव छ।
आज पनि पुराना फिल्मका गीत र दृश्यहरू युट्युबमा भेटिन्छन्। समय मिल्दा तृप्ति दर्शकका प्रतिक्रिया पनि हेर्छिन्।
सबै प्रतिक्रिया पढ्न नभ्याए पनि दर्शकको माया अझै उस्तै रहेको पाउँदा खुसी लाग्ने उनी बताउँछिन्।

उनले करिब २४ वटा हाराहारी नेपाली फिल्ममा अभिनय गरिन्। 'देवरबाबु', 'पल', 'त्रिशूल', 'कोही मेरो' र 'मेरो लभ स्टोरी' जस्ता फिल्ममा पनि उनले अभिनय गरिन्।
करिअरका सबै नेपाली फिल्ममध्ये उनलाई सबभज्दा प्रिय लाग्ने फिल्म चाहिँ कुन होला?
तृप्तिको जबाफ छ— सम्झना।
किन त?
'किनभने त्यसमा मैले दोहोरो भूमिका निर्वाह गर्ने अवसर पाएकी थिएँ,' उनी भन्छिन्, 'एउटै फिल्ममा दुइटा फरक चरित्र देखाउन पाउनु मेरा लागि विशेष थियो। त्यसमाथि त्यस फिल्ममा मेरो आमाबुबा पनि हुनुहुन्थ्यो। त्यसैले त्यो फिल्मसँग मेरो भावनात्मक सम्बन्ध पनि छ।'
तर तृप्तिको फिल्मसँग जोडिएको एउटा रोचक कुरा धेरै दर्शकलाई थाहा नहुन सक्छ।
त्यो के भने, उनले अभिनय गरेका यसअघिका कुनै पनि नेपाली फिल्ममा आफ्नै आवाजमा डबिङ गरेकी थिइनन्। पर्दामा तृप्ति देखिए पनि संवादमा उनको वास्तविक आवाज सुनिँदैनथ्यो।
'फिल्मको सुटिङ सकेपछि म आफ्नो ठाउँमा फर्किसकेकी हुन्थेँ। त्यसैले मेरो डबिङ अरूले नै गर्नुहुन्थ्यो। यो ककाकिकी मैले आफै डबिङ गरेको पहिलो नेपाली फिल्म हो,' उनी भन्छिन्।
राम्रो भूमिका आए फिल्ममा निरन्तरता दिने
लामो समयपछि अभिनयमा फर्किएकी तृप्ति ककाकिकीमा गाउँकी एक वृद्धाको भूमिकामा छिन्।
गाउँ जोगाउन प्रयासरत चार फरक पात्रको कथामा आधारित फिल्ममा उनको भूमिका हास्यरस र रमाइलोसँग जोडिएको छ। तृप्तिका अनुसार फिल्मको कथावस्तु र पात्रले पनि यसमा काम गर्न आफूलाई आकर्षित गरेको थियो।

झन्डै दुई दशकपछि क्यामराअगाडि उभिँदा अभिनयको आधारभूत पक्ष उस्तै लागे पनि फिल्म निर्माणको प्राविधिक पक्षमा भने निकै परिवर्तन आएको उनले महसुस गरिन्।
पहिलेको तुलनामा अहिले काम गर्ने शैली, प्रविधि र प्रचारप्रसारको तौरतरिका धेरै बदलिएको अनुभव छ तृप्तिको।
'अभिनय गर्ने कुरा त उस्तै हो। क्यामरा अगाडि उभिने, अभिनय गर्ने, आफ्नो भूमिका निर्वाह गर्ने कुरा उस्तै नै छ। तर प्राविधिक रूपमा भने धेरै परिवर्तन भएको छ। प्रविधि र काम गर्ने तरिकामा धेरै नयाँ कुरा थपिएका छन्,' उनले भनिन्।
तृप्ति यो पुनरागमनलाई एउटा फिल्ममै सीमित राख्न चाहन्नन्। उनी नेपाली फिल्ममा काम गर्न खुला छिन्। तर त्यसका लागि राम्रो कथा र आफूलाई चित्त बुझ्ने भूमिका हुनुपर्ने उनको चाहना छ।
'म आफ्नो तर्फबाट काम गर्न तयार छु। तर प्रस्ताव पनि आउनुपर्यो नि। म सबैलाई चिन्दिनँ। त्यसैले काम गर्न चाहनेहरूले नै मलाई सम्पर्क गर्नुपर्छ,' उनी भन्छिन्।
भुवन केसीको 'बाटुलो जून' र तुलसी घिमिरेको 'पहाड' जस्ता फिल्मबाट पनि उनलाई प्रस्ताव आएको थियो।
तर समय र छायांकनको तालिका नमिल्दा काम गर्न सकिनन्। केही फिल्ममा भूमिका सानो भएकाले पनि उनले काम नगरेको बताइन्।
त्यस्तै, तृप्तिले अब श्रद्धा प्रसाईंको निर्देशनमा बन्ने 'डियर काब्या' मा पनि अभिनय गर्नेछिन्।
तृप्ति अब स्कुलको जिम्मेवारी र फिल्मलाई सँगसँगै अघि बढाउन चाहन्छिन्। गत वर्ष नै अवकाश लिने तयारी गरेकी उनलाई स्कुलकी प्रिन्सिपलले बालबालिकासँगको आत्मीयताका कारण केही समय थप काम गर्न आग्रह गरेकी थिइन्।
त्यसपछि उनले दुई वर्षजति थप काम गर्ने निर्णय गरिन्। तर राम्रो फिल्मको प्रस्ताव आए समय मिलाउने उनको योजना छ।
तृप्ति अहिले दर्शकलाई प्रत्यक्ष भेट्न उत्साहित छिन्। पहिले फिल्मको सफलतामा पनि दर्शकसँग भेट्ने अवसर कम मिल्थ्यो। यस पटक भने फिल्म प्रदर्शनसँगै दर्शकको प्रतिक्रिया सुन्ने र उनीहरूसँग समय बिताउने उनको इच्छा छ।
'दर्शकले जे रूपमा स्वीकार गर्नुहुन्छ, म त्यसलाई स्वीकार गर्छु। उहाँहरूको मनमा रहन पाए पुग्छ। उहाँहरूको मुटुमा रहन पाए मलाई अरू केही चाहिँदैन,' उनी भन्छिन्।
लामो समयपछि फेरि फिल्ममा फर्किएकी तृप्ति आफूलाई अहिले नयाँ सुरूआत गरिरहेकी कलाकारका रूपमा लिन्छिन्।
'मैले त अहिले भर्खर नर्सरीमा पाइला राखेकी छु। सानो बच्चालाई जस्तै सम्झेर मेरा केही गल्ती भए माफ गरिदिनुहोला,' दर्शकसँग उनको आग्रह छ।

तस्बिरहरूः नबीनबाबु गुरूङ/सेतोपाटी