गुड फ्राइडे सिनेमा
टर्किश सिनेमाको एउटा विशेषता हो— व्यक्तिका कथा सुनाउँदा त्यसलाई समाज, समय र परिस्थितिसँग जोड्नु।
प्रेम, पारिवारिक सम्बन्ध, वर्गीय विभेद, सामाजिक परिवर्तन र जीवनका संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गर्नु टर्किस फिल्मको कथावाचनमा बारम्बार देखिने पक्ष हो। यहाँ प्रेमका कथा केवल दुई व्यक्तिबीच सीमित हुँदैनन्, तिनमा तत्कालीन समाज, संस्कार र परिस्थितिको प्रभाव पनि जोडिएको हुन्छ।
यस्तै शैलीमा बनेको एउटा सुन्दर टर्किस फिल्म हो, 'द बटरफ्लाइज ड्रिम' (केलेबेगिन र्युयासी)।
सन् २०१३ मा प्रदर्शन भएको यो फिल्म यिल्माज एर्दोगानले निर्देशन गरेका हुन्। प्रेम, मित्रता, कविता र जीवनका सपनामा आधारित फिल्ममा किभान्च तात्लितुग, मेर्त फिरात, बेल्चिम बिल्गिन र फराह जेनेप अब्दुल्लाह मुख्य भूमिकामा छन्।
फिल्मले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म समारोहमा १५ अवार्ड जितेको थियो। टर्कीबाट यसलाई अस्करमा पनि पठाइएको थियो। मनोनयनमा भने परेन।
तर उत्कृष्ट टर्किश सिनेमाको सूचीमा पर्ने द बटरफ्लाइज ड्रिमको अर्को विशेषता यसको कथा वास्तविक व्यक्तिहरूको जीवनबाट प्रेरित हुनु हो।
फिल्मका मुख्य पात्र रूस्तु ओनुर र मुजफ्फर तैयप उस्लू वास्तविक जीवनका टर्किश कवि हुन्। उनीहरूको साहित्यप्रतिको लगाव, मित्रता र संघर्षलाई फिल्ममा उतारिएको छ।
त्यसैले यो केवल काल्पनिक प्रेमकथा नभई दुई कविको वास्तविक जीवन र तत्कालीन टर्कीको सामाजिक परिवेशमा आधारित फिल्म पनि हो।
फिल्मको कथा सन् १९४१ को टर्कीबाट सुरू हुन्छ।
दोस्रो विश्वयुद्ध चलिरहेको समयको खानी सहर जोङुल्दाकमा रूस्तु र मुजफ्फर बस्छन्। दुवै सरकारी सेवामा छन्।
तर उनीहरूको वास्तविक रूचि साहित्य र कविता हो। उनीहरू कविता लेख्छन् र आफ्ना रचना प्रतिष्ठित साहित्यिक पत्रिकामा प्रकाशित गराउन चाहन्छन्।
त्यस बेला मानिसहरू दैनिक जीवनका समस्या र अभावसँग जुधिरहेका हुन्छन्। यस्तो समाजमा कवितामा रमाउने उनीहरूका लागि आफ्नो सिर्जनालाई स्थापित गराउनु सजिलो छैन। तैपनि उनीहरू आफ्नो सपनाबाट पछि हट्दैनन्।
उनीहरूलाई साहित्यप्रति प्रोत्साहित गर्ने शिक्षक बेहचेत नेजातिगिल पनि छन्।
यहीबीच उनीहरूको भेट सुजान नामकी युवतीसँग हुन्छ। सुजान सहरका धनी तथा प्रतिष्ठित व्यक्तिकी छोरी हुन्। उनलाई देखेपछि दुवै युवा आकर्षित हुन्छन्।
सुजानको मन जित्न उनीहरू कविता लेखेर सुनाउने प्रतिस्पर्धा गर्छन्। यसले उनीहरूको मित्रता र प्रेम सम्बन्धमा नयाँ परिस्थिति सिर्जना गर्छ।
तर उनीहरू बाँचिरहेको समय सहज छैन। युद्धको प्रभाव, आर्थिक अभाव र तत्कालीन सामाजिक व्यवस्थाले उनीहरूको जीवनमा चुनौती थपिरहेको हुन्छ।
त्यसमाथि दुवै क्षयरोगसँग पनि जुधिरहेका हुन्छन्। यस्तो परिस्थितिमा पनि उनीहरू कविता र साहित्यप्रतिको लगाव छाड्न चाहँदैनन्।
यसरी कविता र साहित्यप्रतिको लगाव बोकेर अघि बढिरहेका उनीहरूको जीवनमा प्रेम र रोगले कस्तो मोड ल्याउँछ? सीमित अवसर, आर्थिक अभाव र समयको कठिन परिस्थितिबीच उनीहरूले आफ्ना सपना कसरी जोगाउँछन्?
यसका लागि हेर्नुहोस् द बटरफ्लाइज ड्रिम।
यो प्रेमकथा मात्र होइन, सपना देख्ने र प्रतिकूल परिस्थितिमा पनि आफ्नो रुचि तथा सिर्जनालाई जीवित राख्न संघर्ष गर्ने दुई युवाको कथा हो। वास्तविक कविहरूको जीवन, ऐतिहासिक परिवेश, सुन्दर दृश्यांकन र संगीतले फिल्मलाई विशेष बनाएको छ।
प्रेम, साहित्य र वास्तविक जीवनका संघर्षमा आधारित सिनेमा हेर्न रूचाउने दर्शकका लागि यो राम्रो विकल्प हुन सक्छ।
हेर्नुस् युट्युबमा, अंग्रेजी सबटाइटलसहित