फागुन महिना सामान्यता नेपाली फिल्मका लागि चहलपहलकै समय मानिन्छ। तर यस वर्ष भने फागुनमा केही सीमित फिल्म मात्रै आउनेछन्।
फागुन १ गते रिलिज फिल्म 'बिगुल' का निर्माताले यसको प्रदर्शन बुधबारदेखि स्थगित गरेका छन्। 'बिगुल' सँगै रिलिज 'शिवांश' र 'श्री बुकुरो' पनि धेरै हलबाट उत्रिसकेका छन्।
त्यसअघि माघ २३ मा रिलिज 'कुमारी' र 'रमिताको पिरती' को व्यापार पनि निराशाजनक छ। 'कुमारी' ले गत शनिबारसम्म ५६ लाख रूपैयाँ मात्र ग्रस कमायो भने 'रमिताको पिरती' को कमाइ २० लाख रूपैयाँ पनि पुग्न सकेन। अहिले यी फिल्मको शो संख्या पनि धेरै घटिसकेको छ।
नयाँ रिलिज फिल्म कमजोर देखिए पनि माघ १६ गते रिलिज 'आबाट आमा' ले तेस्रो सातामा पनि सुखद् व्यापार गरिरहेको छ।
गत शनिबारसम्म फिल्मले ८ करोड ३१ लाख रूपैयाँ ग्रस कमाएको थियो। बुधबारसम्म चन्द्र पन्त निर्देशित यो फिल्मको कमाइ १० करोड नाघ्ने अनुमान छ।
'आबाट आमा' को व्यापार राम्रो रहे पनि अन्य फिल्मको प्रदर्शन अवधि छोटिँदै जाँदा हलमा नेपाली फिल्मको उपस्थिति भने घट्दै गएको छ। यतिबेला हलमा केही नेपाली फिल्महरू रहे पनि अब नयाँ रिलिज फिल्म भने न्यून छन्।
निर्माताहरूले फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोललाई हेरेर नयाँ रिलिज रोकेका छन्।
निर्वाचनको समयलाई फिल्म रिलिजका लागि जोखिमपूर्ण मान्दै नयाँ रिलिज नराखिएको हो। फागुन १५ मा फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आउनेछ भने फागुन २९ मा 'लालिमा' प्रदर्शन तालिका छ।
कतिपय फागुनमा रिलिज हुने भनिएका फिल्मको प्रदर्शन हेरफेर गरिएको छ।
वितरण करण श्रेष्ठले विगतमा फिल्म रिलिजका हिसाबले चहलपहल हुने भए पनि यसपालि निर्वाचनको माहोलले गर्दा फागुनमा नयाँ रिलिज नेपाली फिल्म न्यून रहेको बताए।
उनले भने, 'फिल्म सधैं जोखिमपूर्ण व्यापार हो। निर्वाचनको माहोलमा रिलिज गर्दा निर्माताले थप जोखिम देख्नु स्वाभाविक पनि हो।'
उनी यस परिस्थितिमा निर्वाचनलाई समर्थन गर्दै फिल्म उद्योगले पनि साथ दिनुपर्ने बताउँछन्।
चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा पनि नयाँ रिलिज फिल्म नहुनुमा चुनावी माहोलकै असर देख्छन्।
उनी भन्छन्, 'निर्वाचनका कारण अहिले दर्शकको ध्यान त्यतातिर केन्द्रित छ। चुनावको प्रचार–प्रसार पनि सुरू भइसकेको छ। त्यसैले निर्माताहरूले यो समयमा फिल्म रिलिज नगरेका हुन सक्छन्।'
उनले अगाडि भने, 'फागुन महिना सामान्यतया फिल्मका लागि राम्रो मानिन्छ। तर अहिले चुनावी माहोलका कारण दर्शकमा फिल्म हेर्ने मनस्थिति नहोला भन्ने अनुमानले पनि रिलिज टारिएको होला।'
उसो त 'आबाट आमा' ले सुरूमा फागुन १५ लाई प्रदर्शन मिति तोकेको थियो। पछि माघ १६ लाई नयाँ मिति तोकेर रिलिज गरियो। निर्देशक चन्द्र पन्तले भने, 'सुरूमा प्रदर्शन मिति तोक्दा निर्वाचन घोषणा भएको थिएन। निर्वाचन घोषणा भएपछि हामीले फिल्म अघि ल्याउने निर्णय गर्यौं।'
फिल्म 'आबाट आमा' को पोस्टर र निर्देशक चन्द्र पन्त।
चन्द्र अहिलको माहोलमा फिल्मले अझै लामो यात्रा तय गर्ने विश्वासमा छन्।
'भोलि बिहानसम्ममा १० करोड व्यापार आँकडा छुन्छ भन्ने अपेक्षा छ। आगामी शनिबारसम्म व्यापार १२ करोड पुग्ने अनुमान छ। अब अरू ठूला फिल्म पनि छैनन्। त्यसैले 'आबाट आमा' निर्वाचन पछिसम्मै हलमा टिक्ने अपेक्षा छ,' निर्माता समेत रहेका पन्तले भने।
अब फिल्मको नियमित रिलिज चक्र भने चैत मध्यतिरबाट मात्रै सक्रिय हुने फिल्मकर्मी बताउँछन्।
'त्यसपछि लाइनअप बन्दै जानेछ,' वितरक करण श्रेष्ठ भन्छन्, 'चैत २७ मा त ठूला फिल्महरू प्रदर्शनमा आउने तयारी छ।'