फागुन १ गतेदेखि एकसाथ प्रदर्शनमा आएका थिए- बिगुल, श्री बुकुरो र शिवांश।
तीनवटै फिल्मले रिलिजको पाँच दिनमै प्रदर्शन स्थगित गरे। बुधबारदेखि यी फिल्महरू सबै सिनेमा हलबाट हटेका छन्।
सम्बन्धित निर्माण टिमले प्रेस विज्ञप्ति जारी गरेर फिल्म प्रदर्शन स्थगितको घोषणा गरेका हुन्।
'निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायहरूको सुझाव तथा परिस्थितिको मूल्यांकनपश्चात यो निर्णय लिइएको हो', फिल्म 'बिगुल' को निर्माणपक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, 'श्री बुकुरो' ले पनि देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरेको जनाएको छ।
अर्को फिल्म 'शिवांश' ले भने प्राइम टाइममा शो नपाएको, प्रमोशनमा चुकेको लगायतका कारण देखाउँदै प्रदर्शन स्थगित गरेको बताएको छ।
निर्माण पक्षले सार्वजनिक गरेको विज्ञप्ति।
स्थगन कि फ्लप? पाँच दिनमा १० लाख पनि छैन कमाइ
विभिन्न कारण देखाउँदै प्रदर्शन स्थगितको घोषणा गरे पनि तीनवटै फिल्ममा सुरूआती दिनबाटै दर्शकको खडेरी देखिएको थियो। रिलिजको दिनमै अपेक्षित दर्शक नआएपछि तीनवटै फिल्म धेरैजसो हलबाट उत्रिसकेका थिए। केही हलमा मात्रै फिल्म सीमित थिए।
फिल्मको बक्स अफिस रिपोर्ट पनि निकै कमजोर देखिएको छ। 'बिगुल', 'श्री बुकुरो' र 'शिवांश' मध्ये कुनै पनि फिल्मले पाँच दिनमा बक्स अफिसमा १० लाख रूपैयाँको आँकडा पनि पार गर्न सकेका छैनन्।
बक्स अफिस स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार तीन फिल्ममध्ये 'बिगुल' अलि अगाडि छ। 'बाँकी दुई फिल्मको कमाइ त ३ लाख हाराहारीमा छ', स्रोतले भन्यो।
पाँच दिनमै फिल्मको प्रदर्शन स्थगन हुनु दर्शक अभाव र कमजोर ओपनिङको संकेतका रूपमा हेर्न सकिन्छ।
फिल्म नचलेपछि निर्माता स्वयंले हलबाट उतार्ने लहर
पछिल्लो समय फिल्म नचलेपछि हलबाट उतार्ने लहर देखिएको छ। यसअघि माघ १६ गते रिलिज फिल्म ‘द ब्लु लाइट’ को पनि प्रदर्शन स्थगित गरिएको थियो। निर्माण पक्षले फिल्म रिलिजको चौथो दिनमा प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगितको घोषणा गरेको थियो।
विज्ञप्तिमा उल्लेख भएअनुसार 'द ब्लु लाइट' मूलतः राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूलाई लक्ष गरी निर्माण गरिएको थियो। साथै, नेपालमा यसलाई न्यून प्रचार–प्रसारका साथ सीमित रूपमा मात्र प्रदर्शन गर्ने योजना बनाइएको थियो। तर प्रदर्शन अवधिमा अपेक्षाभन्दा फरक रूपमा दर्शकहरूको उल्लेखनीय स्वतस्फूर्त उपस्थिति देखिएको विज्ञप्तिमा दाबी छ।
'दर्शक, फिल्मकर्मी तथा शुभेच्छुकबाट फिल्मलाई नेपाली सिनेमाका लागि फरक, नयाँ र महत्वपूर्ण प्रयासका रूपमा मूल्यांकन गर्दै अझ व्यापक प्रचार–प्रसार आवश्यक रहेको सुझाव प्राप्त भयो', निर्माण पक्षको दाबी थियो, 'प्राप्त सुझाव तथा दर्शकहरूको समर्थनलाई उच्च सम्मान गर्दै फिल्मलाई हालका लागि हलबाट हटाई आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने निर्णय भएको छ।'

निर्माताले दर्शकहरूको उल्लेखनीय उपस्थिति दाबी गरे पनि यसको ब्यापार भने दयनीय देखियो। प्रदर्शन अवधिभर यसले सिनेपाः बक्सअफिसमा ३ लाख १९ हजार रूपैयाँ मात्र ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ।
अब कहिले आउँछन् यी फिल्म?
'द ब्लु लाइट' ले नयाँ प्रदर्शन मिति घोषणा गरिसकेको छैन। 'श्री बुकुरो' भने नयाँ वर्ष २०८३ को बैशाख १८ गतेदेखि अझ व्यापार प्रचारप्रसार र भव्य प्रस्तुतिका साथ दर्शकमाझ ल्याउने निर्माण टिमले प्रतिबद्धता गरेको छ।
त्यस्तै, फिल्म 'शिवांस' टिमले अब प्रमोशनमा ध्यान दिने र दर्शकको रूची बढेपछि मात्रै पुनः प्रदर्शनमा ल्याउने जनाएको छ। 'बिगुल' को प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको भनाइ छ।
तर पुनः प्रदर्शनले अपेक्षित व्यवसाय दिन सक्छ कि सक्दैन भन्ने प्रश्न भने खुला नै छ।
एकपछि अर्को फिल्मको प्रदर्शन स्थगितको लहर देखिँदा आगामी दिनमा रिलिज रणनीति, कन्टेन्ट गुणस्तर र प्रचार शैलीबारे थप गम्भीर सोचविचार गर्नुपर्ने आवश्यकता देखिएको छ।