गुड फ्राइडे सिनेमा
बर्फी, नामै स्वादिलो। फिल्म पनि नामजस्तै छ भन्दा फरक पर्दैन।
'बर्फी' मा सन् १९७० को दशक र २०१० को आसपासको समय सँगसँगै अघि बढ्छ। यी कथा फरक फरक पात्रले सुनाउँछन्।
फिल्म श्रुति (इलियाना डिसुजा) ले सुनाउने कथाबाट सुरू हुन्छ। प्रहरी पछिपछि र चार्ली चाप्लिनझैं देखिने पात्र (रणवीर कपुर) अघिअघि भागेको दृश्यबाट दर्शक 'बर्फी' सँग परिचित हुन्छन्।
बर्फी मिठाइ हैन, फिल्मको पात्रको नाम हो। पात्रको यो नाम किन राखियो, फिल्ममा त्यसको रमाइलो किस्सा छ।
बोल्न–सुन्न नसक्ने बर्फी दार्जिलिङमा बस्ने गाडी चालकका छोरा हुन्छन्। बर्फीको जीवनमा जोडिने श्रुति र झिलमिल (प्रियंका चोपडा) को वरिपरि फिल्मको कथा घुमेको छ।
झिलमिल पनि बर्फीजस्तै शारीरक र मानसिक समस्या भएकी पात्र हुन्।
फ्ल्यासब्याक र वर्तमान जोड्दै भनिएको र विभिन्न तहमा जोडिएको कथा सरल भएर पनि प्रस्तुति पृथक छ। निर्दोष र कमजोरी सहितका 'बर्फी' का पात्रमा पाइने मस्तीले दर्शकको मन बहलाउँछ।
शब्द बिनै भाव व्यक्त गर्न सक्ने रणवीर र प्रियंकाको अभिनय तारिफयोग्य छ। फिल्ममा बर्फी, झिलमिल र श्रुति तीन जनै मुख्य पात्र अधुराजस्ता भएर पनि पूर्ण छन्।
'बर्फी', 'फिर ले आया दिल', 'क्यो ना हम तुम' जस्ता गीतले फिल्मलाई अझ अर्थपूर्ण बनाएको छ।
कथा बुन्ने निर्देशक अनुराग बासुको शैली सुन्दर छ। रमाइलो शैलीमा कथा बुन्दै निर्देशकले दर्शकलाई पात्रहरूको संवेदनानजिक पुर्याएका एका छन्।
विभिन्न विधामा ७० वटा भन्दा बढी अवार्ड जितेको यो फिल्म सुपरहिट भएको थियो।