२०८२ सालमा घरेलु बक्स अफिसमा नयाँ निर्देशकहरूको दबदबा देखिएको छ।
यो वर्ष चारवटा नेपाली फिल्मले १० करोड रूपैयाँभन्दा माथिको व्यापार गरे। त्यसमध्ये दुई फिल्मका निर्देशक नयाँ छन् भने बाँकी दुईको पनि दोस्रो वा तेस्रो फिल्म मात्र हो।
सिने क्षेत्रमा व्यावसायिक रूपले प्रभाव जमाउन सफल यी चार निर्देशक हुन् — दीपक आचार्य, चन्द्र पन्त, सुयोग गुरूङ र नवीन चौहान।
यी चारमध्ये 'डेब्यू' फिल्मले नै सर्वाधिक कमाउनेमा दीपक र नवीन पर्छन्। उनीहरूको फिल्म 'परान' र 'ऊनको स्वीटर' ले संयुक्त रूपमा २९ करोड रूपैयाँभन्दा बढी कमाएका थिए।
दीपक आचार्य (परान)
यस वर्ष सर्वाधिक कमाउने फिल्मको रेकर्ड 'परान' ले बनायो।
कात्तिकमा रिलिज यो फिल्मले १७ करोड ७६ लाख ८४ हजार रूपैयाँ कमाउँदै रेकर्ड राखेको हो। यो रेकर्डसँगै फिल्मका निर्देशक दीपक आचार्यले डेब्यु निर्देशनमै ठूलो सफलता हात पारे।
नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको यो फिल्म सुरूका दिनमा राम्रो चलेको थिएन। सुरूमा जम्मा ६४ शोबाट प्रदर्शन सुरू भए पनि दर्शकको सकारात्मक प्रतिक्रिया र बलियो 'वर्ड अफ माउथ' ले फिल्मलाई क्रमशः ठूलो सफलता दिलाएको थियो।

निर्देशक आचार्य यसअघि टेलिसिरियल कलाकार र म्युजिक भिडिओ निर्देशकका रूपमा चिनिएका थिए।
'सक्किगोनि' सिरियलमा उनले निर्वाह गरेको पात्र 'काकु' ले उनलाई घरघरमा चिनाएको थियो। भिडिओ निर्देशनको कुरा गर्दा 'चल बतास चल', 'एक कान दुई कान मैदान भैदियो', 'झुमा हल्का पिरती', 'रिङ्की बुङको राँगोलाई' जस्ता भिडिओ दीपककै निर्देशनमा बनेका थिए। उनले केही फिल्ममा अभिनयसँगै फिल्म निर्माण र लेखकको समेत भूमिका निर्वाह गरेका थिए।
उनी पहिलो फिल्म निर्देशनमै पाएको सफलताको मुख्य कारण 'कन्टेन्ट' लाई मान्छन्।
आफ्नो फिल्मले नेपालीपन झल्काउने र दर्शकलाई विषयवस्तुसँग जोड्न सफल भएकाले सबै वर्गका दर्शकले सहजै आत्मसात् गरेको उनी बताउँछन्।
'सबभन्दा मुख्य त कन्टेन्ट नै हो। प्रायः सबै दर्शकले आफूलाई रिलेट हुने, नेपालीपन बोकेको फिल्म भएकाले वर्ड अफ माउथ बलियो बन्यो,' दीपकले भने।
यो सफलताको खुसीसँगै अझ राम्रो फिल्म बनाउने चुनौती महसुस भइरहेको उल्लेख गर्दै उनले भने, 'अबको मेरो प्रतिस्पर्धा 'परान' सँगै हुनेछ।'
चन्द्र पन्त (आबाट आमा)
यस वर्ष सर्वाधिक कमाउने दोस्रो फिल्म बन्यो, आबाट आमा।
अझै हलमा प्रदर्शनरत यो फिल्मले नेपालमा १३ करोड १३ लाख ७८ हजार रूपैयाँ कमाइ गरिसकेको छ।
पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त लगायत कलाकारहरूको अभिनय रहेको यो फिल्म गत माघमा रिलिज भएको थियो। निर्देशक पन्तको यो दोस्रो फिल्म हो।
गत वर्ष रिलिज 'ह्रस्वदीर्घ' उनले निर्देशन गरेको पहिलो फिल्म थियो। उनको परिचय द्वन्द्व निर्देशकबाट बनेको हो। ६० भन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरेका उनीसँग केही भोजपुरी र हिन्दी फिल्ममा समेत काम गरेको अनुभव छ।
चन्द्रले आफ्नो पहिलो निर्देशन 'ह्रस्वदीर्घ' बाट साधारण सफलता पाएका थिए। दोस्रो फिल्म 'आबाट आमा' ले भने उनलाई ठूलै सफलता दिलायो।

उनी फिल्म सफल हुनुमा बलियो स्क्रिप्ट, कलाकारको मेहनत र प्रभावकारी बजार प्रवर्द्धन मुख्य कारण रहेको औंल्याउँछन्।
'यो फिल्म सफल हुनुको मुख्य कारण स्क्रिप्ट नै हो। मैले पहिल्यैदेखि स्क्रिप्ट राम्रो छ भनेर भन्दै आएको थिएँ। कलाकारहरूले पनि निकै मेहनत गर्नुभयो। प्रमोशनको रणनीति राम्रो रह्यो। वितरकहरूको पनि राम्रो साथ रह्यो। सबैको सहयोगले नै फिल्म सफल भयो,' निर्देशक पन्तले भने।
सुयोग गुरूङ (जेरी अन टप)
गत असोजमा रिलिज अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत 'जेरी अन टप' १२ करोड २८ लाख ८४ हजार कमाइ गर्दै वर्षको तेस्रो सर्वाधिक कमाउने फिल्म बन्यो। यसका निर्देशित सुयोग गुरूङको यो तेस्रो फिचर फिल्म हो।
यसअघि उनले 'सानो मन' र 'फर्की फर्की' निर्देशन गरेका थिए। गत वर्ष रिलिज 'फर्की फर्की' ले पनि पाँच करोड माथिको व्यापार गरेकोमा 'जेरी अन टप' उनको सबभन्दा सफल फिल्म बन्यो। यसले कमाइसँगै दर्शकबाट प्रतिक्रिया पनि राम्रो पाएको थियो।
सुयोग हङकङमा फिल्म मेकिङ पढेर फर्किएपछि निर्देशनमा लागेका हुन्। फिल्मअघि उनले केही म्युजिक भिडिओ समेत निर्देशन गरेका थिए।

सुयोगलाई लाग्छ, 'जेरी अन टप' को सफलतमा विभिन्न पक्षको महत्त्वपूर्ण भूमिका छ। उनका अनुसार फिल्मको मुख्य बलियो पक्ष यसको 'कन्सेप्ट' नै हो। विश्वभर चिनिएको हिमाल आरोहणको विषयमा आधारित यो फिल्ममा भिजुअल प्रस्तुति चुनौतीपूर्ण रहे पनि दर्शकले त्यसलाई रूचाए।
'पहिलो कुरा कन्सेप्ट हो जस्तो लाग्छ। विश्वले चिनेको हिमालको विषयमा बनाएको फिल्म हो। हिमाल आरोहण क्रममा आउने चुनौतीलाई भिजुअलाइजेसन गर्नु गाह्रो काम थियो। तर दर्शकहरूले हाम्रो काम मन पराउनुभयो। साथै, दर्शकहरूलाई आकर्षित गर्ने इमोसन, लभ स्टोरी र त्रिकोणात्मक प्रेमकथा जोड्न हामी सफल भयौं,' उनले भने।
यसबाहेक फिल्ममा अनमोल, आँचल, माग्ने बुढा लगायतका चर्चित कलाकारहरूको उपस्थितिले पनि 'वर्ड अफ माउथ' राम्रो पाएको गुरूङ बताउँछन्।
नवीन चौहान (ऊनको स्वीटर)
वैशाखमा प्रदर्शनमा आएको विपिन कार्की र मिरूना मगर अभिनीत 'ऊनको स्वीटर' ले नेपालमा ११ करोड ४१ लाख ९२ हजार रूपैयाँ खुद कमाइ गर्यो। निर्देशक चौहानको यो पहिलो फिल्म हो।
यसअघि म्युजिकल फिल्म निर्देशनमा आफ्नो अलग्गै र विशिष्ट पहिचान बनाएका नवीनले कथानक फिल्ममा पनि पहिलो प्रयासमै वाहवाही बटुले।
'के माया लाग्छ र', 'तिनपाते', 'बाफ', 'घुमीघुमी' जस्ता स्रोता/दर्शकले निकै रूचाएका गीतका भिडिओहरू नवीनकै निर्देशनमा बनेका थिए।
फिल्म 'ऊनको स्वीटर' ले व्यवसाय मात्र राम्रो गरेन, यसको कथावस्तु, अभिनय, गीत–संगीत सबैजसो पक्षले दर्शक तथा समीक्षकहरूको प्रशंसा पायो। कमाइका हिसाबले यो फिल्म वर्षको धेरै कमाउनेमा चौथो नम्बरमा रह्यो।
निर्देशक नवीन 'ऊनको स्वीटर' युट्युबमा सार्वजनिक भएपछि यसको लोकप्रियता अझ बढिरहेको उनी बताउँछन्।
निर्देशक चौहानका अनुसार युट्युब रिलिजपछि फिल्मले नयाँ दर्शक पाएको छ र अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा बटुलिरहेको छ। युट्युबमा आउनुअघि भारतमा गरिएको थिएटर रिलिजमा समेत फिल्मको तारिफ भएको थियो।

'भारतमा इन्फ्लुएन्सर र समीक्षकहरूले भिडिओ सामग्री बनाएर फिल्मको चर्चा गर्नुभयो। अन्य देशहरूबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ,' उनले भने, 'युट्युबमा आएपछि अडियन्सको रेस्पोन्स झन् बढेको महसुस गरिरहेको छु।'
उनले फिल्मको सफलताबारे बोल्दै यसको मूल कारण 'अथेन्टिसिटी' भएको बताए।
'मलाई लाग्छ, एकदमै अथेन्टिक कुरा प्रस्तुत गरियो। सानोसानो कुरा, जुन मान्छेको नोस्टाल्जियामा हुन्छ, फिल्म हेरेपछि दर्शकले त्यसलाई सेलिब्रेट गर्नुभएको छ। फिल्म हेर्दा उत्सवजस्तो अनुभूति गर्नुभएको हामीले पायौं। दर्शकले आफूले भोगेका कुरा देखेर खुसी हुनुभयो। हाम्रो संस्कृति र संस्कारलाई सम्मानजनक रूपमा प्रस्तुत गरिएकाले मन पराउनुभयो,' उनले भने।
नयाँ फिल्मको तयारीमा चारै निर्देशक
सुरूआतमै सुपरहिट फिल्म दिएका यी चार निर्देशक अहिले नयाँ फिल्मको तयारीमा छन्।
'परान' का निर्देशक दीपक यति बेला आगामी फिल्मको स्क्रिप्ट तयारी गरिरहेका छन्। फाइनल भएपछि नाम घोषणा गर्ने उनी बताउँछन्। उनको आगामी फिल्म पनि पारिवारिक कथामै आधारित हुनेछ।
'आबाट आमा' का निर्देशक चन्द्र पन्त वैशाखदेखि 'आबाट आमा २' को छायांकन थाल्दैछन्।
'वैशाख १५ भित्र छायांकनमा जाने योजना छ। बाहिरी फिल्मबाट पनि प्रस्ताव आएका छन्, तर अहिले आफै निर्माता र निर्देशक भएर काम गर्ने सोच बनाएको छु। 'आबाट आमा' मा म पार्टनर थिएँ, तर 'आबाट आमा २' मा सिंगल प्रोड्युसर हुनेछु,' पन्तले भने।
पहिलो शृंखलाको सफलतालाई निरन्तरता दिने लक्ष्यसहित दोस्रो भाग निर्माण गर्न लागिएको उनले बताए।
त्यस्तै, 'जेरी अन टप' का निर्देशक सुयोग गुरूङले पनि नयाँ फिल्मको तयारी गरिरहेका छन्। रौनकविक्रम कंडेल र सिनेमा आर्टसँग मिलेर नयाँ प्रोजेक्ट अगाडि बढाउन लागेको उनले बताए। फिल्मबारे थप जानकारी भने उनले दिएनन्।
अर्को सुपरहिट फिल्म 'ऊनको स्वीटर' को यति बेला सिक्वेलको सम्भावनाबारे चर्चा सुरू भएको छ। युट्युबमा दर्शकहरूले 'भाग २' को माग व्यापक रूपमा गरेका छन्।
नवीन पनि सिक्वेलको सम्भावना बढेको बताउँछन्।
'युट्युबमा सिक्वेल ल्याउनुपर्छ भन्ने सयौं प्रतिक्रिया देखिन्छन्। यसको सम्भावना बढिरहेको छ। हामी रिसर्चमै छौं,' नवीनले भने।
***