आफ्नो छोराछोरीले गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्वल बनाउन् भन्ने हरेक आमाबुवाको सपना रहेको हुन्छ। यस्तै हरेक छोराछोरीको चाहना पनि यही हुन्छ कि राम्रोसँग पढी राम्रो जागिर खाएर आफ्नो जीवनशैलीसँगै घरपरिवारलाई खुसी साथ राख्ने।
यही खुसियाली र सुखमय जीवन बिताउने सपना बोकी हर कोही आफ्नो जीवनयात्रामा अघि बढिरहेको छन्।
संसारमा सायदै आमाबुवा होलान् जसलाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोस्। आफ्नो सन्तानको उज्वल भविष्यका लागि आफ्नो तर्फबाट गर्न सकिने लवाइ,खुवाइदेखि पढाइसम्मका हरेक कुरामा पूर्ति गर्न कुनै पनि कसुर बाँकी राखेका हुँदैनन्।
अहिलेको यो २१ औं शताब्दी शिक्षा र प्रविधिको युग हो । वर्तमान समयमा शिक्षाबिनाको मानिस फूलबिनाको बगैंचासरह मानिन्छ। त्यसैले शिक्षाको महत्व बुझेर हर कोही व्यक्ति आफू शिक्षित हुन पढाइप्रति अग्रसर भइरहेका छन्।
पढाउनु र पढ्नुपर्छ भनेर त यहाँ अधिकांशलाई थाहा छ , तर किन र केका लागि पढ्ने भनेर कमैलाई मात्र थाहा छ। नेपाली समाजमा धेरैजसो मानिसहरूले के बुझेका हुन्छन् भने पढ्नु भनेको केही कुरा सिकेर ज्ञान हासिल गर्नु भन्दा पनि परीक्षामा राम्रो अंक ल्याइ भविष्यमा जागिर खानका लागि हो।
पढाइमा अब्बल हुनेहरूले मात्रै भविष्यमा उन्नति–प्रगति गरेर जीवन सुखमय तरिकाले बिताउन सक्छन्, तर पढाइमा कमजोर हुनेहरूले जीवनमा केही प्रगति गर्न सक्दैनन् भन्ने मनोभाव अधिकांश अभिभावक तथा विद्यार्थीहरूमा पनि रहेको हुन्छ।
उनीहरूको यही नै सोच रहेको हुन्छ कि जसले परीक्षामा धेरै अंक ल्याउन सक्छ उसले मात्रै भावी जीवन सुखमय ढंगले बिताउन सक्छ। त्यसैले प्राय आमाबुवाले आफ्नो सन्तानले के सिक्यो भन्दा पनि परीक्षामा कति अंक ल्यायो भन्ने कुरासँग बढी मतलब राख्छन्।
जब एउटा बच्चा स्कुल जान सुरू गरेको हुन्छ। त्यहीबाट नै उसलाई ज्ञानको महत्व भन्दा पनि परीक्षामा अंकको महत्व बढी हुन्छ भनी सिकाइन्छ।
उसलाई यो सिकाइँदैन कि पढ्नु भनेको परीक्षामा धेरै नम्बर ल्याउन मात्र नभइ नजानेको कुरा सिक्न,बुझ्न,ज्ञान हासिल गर्नु इत्यादिका लागि हो।
घरमा प्राय: अभिभावक तथा विद्यालयमा शिक्षकहरूबाट विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट अंक ल्याउने दबाब रहेको हुन्छ। अभिभावकहरूलाई उनीहरूको रुची र ज्ञानसँग नभइ परीक्षाको नम्बरसँग बढी मतलब हुन्छ।
फलस्वरूप विद्यार्थीहरू पढेर होस् या नपढेर, बुझेर होस् या घोकेर, या चाहे चोरेर नै किन नहोस्, उनीहरू केवल अंक ल्याउनका लागि मात्रै पढ्छन्।
उनीहरूलाई त बच्चैदेखि नै सिकाइएको हुन्छ कि जीवनको अस्तित्व त केवल मार्कसिटको अंकमा हुन्छ । जसकारण उनीहरू जीवनभर ज्ञानको भोको नभइ केवल नम्बरको मात्रै भोको हुन्छन्। स्कुल गएदेखि पढाइ सकुन्जेल सधैं नम्बरकै पछाडि दौडिन्छन्। राम्ररी बुझेर, सिकेर पढ्नेहरू त राम्रो नै भइहाले। घोकेर , चिट चोरेर ल्याएको अंकले स्कुलको परीक्षामा त पास होलान् तर जीवनको कुन चाहिँ परीक्षामा पास हुन सक्लान् उनीहरू?
तर पनि ती जान्ने र नजान्ने अधिकांश केवल नम्बरकै लागिमात्रै पढिरहेका छन्। परिवार र समाजलाई देखाउनकै लागिमात्र भए पनि उनीहरूले परीक्षामा धेरै नम्बर ल्याउन कोशिस गर्छन् । यसो गर्नु कुनै पनि विद्यार्थीको रहर नभइ बाध्यता हुन्छ।
मार्कसिटको अंकमा जीवन खोज्दा खोज्दै आफैं कहाँ हराइ जान्छन् पत्तै हुँदैन। स्कुलदेखि कलेजसम्म हरकोही परीक्षा धेरै नम्बर ल्याइ एक अर्कालाई जित्ने दौडमा लागिरहेका हुन्छन्।
अनि यो नम्बरको पछाडि दौडने दौडले जीवनको कुन चाहीँ म्याराथन जित्छन् उनीहरूले ?
नम्बरको पछाडि दौडदा दौडदै कतिपय मानिसहरूले त आफ्नो जीवन नै गुमाइरहेका हुन्छन्। जीन्दगीमा हजार बार पाइने नम्बरका लागि एकचोटीलाई मात्र पाइने जीवन लाखौंले गुमाइरहेका छन्।
परीक्षामा फेल हुँदा आफ्नो जीवन त्याग्नेहरूको संख्या हाम्रो समाजमा हरदिन बढिरहेको छ।
यसो गर्नु उनीहरूको रहर कदापी पनि होइन । समाज र परिवारको नजरमा तिरस्कृत र हेपिएर जिउनुभन्दा मृत्यु अगाल्न उनीहरू विवश हुन्छन्। आखिर बाँच्नका लागि जन्मेकाहरूलाई मर्न विवश बनाउने यो कस्तो खालको शिक्षा र संस्कार हो हाम्रो समाजको ?
हो ठीक हो, पढाइ सुनौलो भविष्यलाई सुनिश्चित गर्ने मुख्य आधार हो।
तर के पढाइमा कमजोर र असफल हुनेहरूले आफ्नो जीवन सुखमय ढंगले बिताउन नसक्ने हुन् र ? पढाइमा फेल हुनु भनेको जीवनमा फेल हुनु हो र ? पढ्न यहाँ धेरैले पढेका छन् । कोही बिए पास छन् त कोही एमए तर जीवनमा भने धेरै जसो फेल नै छन्। यसमा कुनै अभिभावक, विद्यार्थी र शिक्षकको मात्र दोष नभइ हाम्रो देशको शिक्षा प्रणालीको पनि दोष छ। यदि देशको शिक्षा प्रणाली नै यसो नहुँदो हो त सायदै यो अवस्था कसैले भोग्नु पर्ने नै थिएन ।
धेरै आमाबाले आफ्नो सन्तानलाई शिक्षा त दिइरहेका छन् । तर सही संस्कार दिन सकिरहेका छैनन् । हाम्रो समाजमा कैयौं उदाहरण छन् जहाँ राम्रो संस्कार नपाउँदा कोरा शिक्षाले भरिएका विद्वानहरू बर्बादीको पहिरोसँगै बगिरहेका छन् ।
साँच्चै भन्ने हो भने अहिलेको शिक्षाले अप्रत्यक्ष रूपमा हिंसा सिकाइरहेको छ । जस्तै मानौं कि कुनै ठाउँमा धनराशीको म्याराथन प्रतियोगिता चलिरहेको छ र दौडदा दौडदै कुनै प्रतिस्पर्धी लड्यो भने अर्कोले उसलाई उठाउँदैन । उल्टै खुसी भएर अगाडि जान्छ ।खोइ कहाँ छ सुसंस्कार ?कहाँ छ मानवता?कहाँ छ गुणस्तरी शिक्षा?
शिक्षाले मात्रै मानिसलाई कहिले पनि महान र विद्वान बनाउने होइन । वास्तविक जीवनको अस्तित्व खोज्न त उनीहरूले कोरा किताबमात्र नभइ बाहिरी संसार पढ्न जरूरी छ ।
यी कुराहरू बुझ्न कति समय लाग्छ हाम्रो समाजलाई ?
असल र महान् मानिस बन्न शिक्षामात्रै दिएरै हुँदैन सही संस्कारको पनि उत्तिकै आवश्यक पर्दछ । संस्कारबिनाको शिक्षाले मानवताको परिचय दिन सक्दैन ।
हरेक आमाबुवाले आफ्नो सन्तानलाई पढाउन त पढाइ रहेका छन् तर उनीहरूलाई पढ्न सकिरहेका छैनन् । आफ्नो सन्तानहरूको रुची केमा छ? कुन काम गर्दा उनीहरू खुसी हुन्छन्? कुन क्षेत्रमा जाँदा उनीहरू सफल हुन्छन् । यी कुराहरूलाई अधिकांश अभिभावकहरूले ध्यानमा राखेका हुँदैनन् । उनीहरूको चाहना र भावनालाई बुझेर उनीहरूको इच्छाबमोजिमको काम गर्न दिनुको साटो पढ, जति सकिन्छ धेरै नम्बर ल्याउ, जागिर खाउ र पैसा कमाउ भन्दै इच्छाविपरीत जान लगाइन्छ । अनि आफ्ना हजारौं सपनाहरुको तिलान्जली दिएर ती हातमा मार्कसिटका भारी बोकेर जीवनको अस्तित्व खोज्नेहरूको भीडमा मिसिन पुग्छन्।
भगवानले सबैको दुख कष्ट बुझ्छ्न् भनेर मानिसहरू भगवानको शरणमा जान्छन् । तर हरेक सन्तानको लागि भगवानभन्दा पनि ठूला मानिने बाआमाले आफ्नो सन्तानलाई किन बुझ्न नसकेका होलान्? किन अर्कोले बनाएको बाटोमा मात्रै हिँड्न सिकाउँछन् ? किन उनीहरूको प्रतिभा र सृजनाको सदुपयोग हुन नदिएका होलान् ?
यो कुरा किन बुझ्दैनन् कि शिक्षाले अरुले बनाएको बाटोमा हिँडाउँछ र सृजनाले आफ्नो बाटो आफैं बनाउँछ ।
यसको यो अर्थ होइन कि हरेक अभिभावक र विद्यार्थी यस्तै प्रकृतिका हुन्छन् । यहाँ धेरै विद्यार्थीहरू पनि छन् जो पढाइसँगसँगै नैतिकता र मानवीय व्यवहारमा पनि अब्बल र उत्कृष्ट छन्, जसले राम्रो शिक्षासँगसँगै राम्रो संस्कार पनि पाएका छन् ।
पढाइमा अब्बल हुँदै आफ्नो सपना साकार बनाएका छन् । जीवनलाई सही ढंगले बुझेर अगाडि बढ्दै आफ्नो गन्तव्यमा पुगेका छन् । अरुका लागि प्रेरणाको स्रोत बनेका छन् । अनि धेरै अभिभावकहरू छन्,जसले आफ्ना सन्तानलाई राम्रो शिक्षा र सुसंस्कार दिनुको साथसाथै उनीहरूको चाहनाबमोजिमको गोरेटोमा हिँड्न प्रेरित गरिरहेका छन् ।
तर अब हरेक अभिभावक, शिक्षक र विद्यार्थीहरूले के बुझ्न जरूरी छ भने पढ्नु भनेको परीक्षामा धेरै नम्बर ल्याएर पास हुनुमात्र होइन वास्तविक जीवनमा उपयोग हुने ज्ञान सिक्नु पनि हो ।
अभिभावकको धर्म शिक्षा दिनुमात्रै होइन राम्रो संस्कार पनि दिनु हो । जसले गर्दा उनीहरुले बाहिरी दुनियाँमा आफू मानव हुनुको भान गराउन सकुन् ।
हरेक व्यक्तिको आ–आफ्नो रुची र प्रतिभा हुन्छ । यो कुरा बेलैमा बुझेर हरेक आमाबुवाले आफ्नो सन्तानलाई सही ढंगले उनीहरूको गन्तव्यसम्म पुग्ने गोरेटो देखाउन जरूरी छ ।
जीवन जिउने कला सिक्न किताबी कुरा मात्र पढेर हुँदैन बाहिरी दुनियाँ पनि पढ्न जरुरी छ ।
जुन व्यक्तिले प्रकृतिको नियम बुझेर सकारात्मक सोचका साथ अगाडि बढ्छ त्यही व्यक्ति नै वास्तविक जीवनको परीक्षामा पास हुन्छ भन्ने कुराको बोध गराउन जरुरी छ ।
सम्पन्न र गुणस्तरीय जीवन जिउन स्कुल–कलेजको परीक्षामा फेल हुँदैमा त्यति फरक पर्दैन, जति जीवनले विभिन्न मोडमा लिने परीक्षामा फेल हुँदा फरक पर्छ ।
त्यसैले जीवनको परीक्षामा पास हुन किताबी ज्ञानकासाथै बाह्य ज्ञान, सुसंस्कार,सुविचार र सुकर्मसँगै परिश्रम गरेर धैर्यताका साथ अगाडि बढ्न जरुरी छ । यसरी यी सबै कुराहरूलाई ध्यानमा राख्दै आफ्नो जीवन यात्रामा अगाडि बढ्न सकियो भने मात्र कसैले मार्कसिटको अंकमा आफ्नो जीवनको अस्तित्व खोज्दै हिँड्नु पर्दैन ।