प्रिय आयरा,
आज तिम्रो जन्मदिन होइन। तैपनि म यो पत्र लेखिरहेको छु। तिमी नयाँ वर्षको आरम्भसँगै विद्यालय जान थालेकी छौँ। मलाई थाहा छ, तिमीले अक्षरहरू चिन्न सुरुवात गरेकी छौँ। तिमीले अब आफ्नै नामको पहिलो अक्षर कुन हो भनेर पहिचान गर्न थालेकी छौँ।
भनिन्छ माया कहिल्यै घट्दैन, केवल पर्खाइमा परिपक्व हुन्छ। आज मैले तिम्रो जन्मदिनमा लेखेको त्यो पुरानो चिठी सम्झिँदै छु। त्यो चिठीमा मैले लेखेको थिएँ, ‘सायद केही वर्षपछि जब तिमी विद्यालय जानेछौ अनि भाषासँग परिचित हुनेछौ, तब तिमी यो चिठी पढ्नेछौ।’ सायद समयको केही अन्तराल पछि तिमीले यी पत्रहरूका शब्द र वाक्य मात्र होइन, यसमा व्यक्त गरिएको मौनताहरू पनि महसुस गर्ने छौँ।
आज तिमी मेरो सामु छौ। तिमी विद्यालय जान सुरु गरेकी छौ अनि जानी नजानी प्रश्न गर्ने भएकी छौ। म फेरि लेख्दै छु। अब आशामा होइन,साक्षात्कारमा। सपना होइन, साक्षी भएर।
***
करिब ५ सय दिन।
सुन्दा सजिलो लाग्छ तर बिताउँदा प्रत्येक दिन साल जस्तै लागेको थियो तिम्रा बुबाआमालाई। पानामा लेख्न सजिलो लागे पनि ती दिनहरू एक-एक गरेर काट्दा, हरेक दिन एक-एक पर्खाइ थिए। सहर आधुनिक थियो, बाटो चिल्लो थियो, घडी चलिरहन्थ्यो तर समय टक्क अडिएको जस्तो लाग्थ्यो। किनभने त्यो समयमा तिमी थिएनौ र तिमी नभएको समय भनेको केवल घडीमा चलेको सुई थियो, जीवन थिएन।
प्रिय आयरा,
घरबाट बाहिर निस्किँदा होस या पार्कतिर जाँदा, तिम्रै उमेर समूहका बच्चाहरू देख्थेँ। तिमी जस्तै मानेर गर्लम्मै अँगालो हालेर म्वाइँ खान मन लाग्थ्यो। तर के गर्नु बिरानो देश, यहाँको कानुनअनुसार छुन त के यहाँको बच्चाहरूलाई राम्रोसँग हेर्न पनि पाइँदैन।
त्यो पर्खाइको समयभित्र, म बारम्बार यो सोच्थेँ— किन भगवानले मसँग यस्तो परीक्षा लिए? हामी दुवै जना तिम्रो अनुपस्थितिमा ठुलो रिक्तता महसुस गरिरहेका हुन्थ्यौँ। तर आज लागिरहेको छ, यी सबै अप्ठ्यारा समय, लामो पर्खाइ र बिछोडहरू तिमीलाई झन् गहिरो अनुभवसँग भेट्नको लागि रहेछ।
त्यो दिन सम्झिँदा अझै हृदय काँप्छ। घरको ढोका खुलेको थियो अनि तिमी दौडिँदै मेरो छातीमा अँगालो हाल्न आएकी थियौ। ‘बाबा’ भनेर चिच्याउँदै आएर मलाई समात्दा, म केवल रोइरहेको थिएँ।
प्रिय आयरा,
जब हामी छुट्टियौ, तिमी सानी थियौ। हाँस्दा तिम्रा सबै दाँत पलाउन बाँकी थिए। आज तिमी आफैँ स्कुल जान तम्सिन लागेकी छौ। तिम्रो बोलीमा गम्भीरता छ, बुझाइमा परिपक्वता छ। म चुपचाप हेर्छु तिमीलाई। सायद समयले सन्तुलन दिएको रहेछ तिमीलाई। तिमी मेरो सानो छोरी मात्र होइन, तिमी अब मेरो गुरुझैँ भइसकेकी छौ। मलाई जीवन बुझाउन सक्ने, मायाको आकार देखाउन सक्ने एक भव्य गुरु।
हाम्रो अनुपस्थितिमा तिमीलाई जसले साथ दिनुभयो, उहाँहरू कुनै नाम वा नाता मात्र होइनन्। उनीहरू तिम्रा सारथि हुन्। जीवनको गह्रुङ्गो भारी तिमी एक्लैले बोक्न सक्दिनौ भनेर तिमीलाई सहारा र हौसला दिने सारथिहरू। तिम्रो सानी आमा, जसले आफ्ना सपना होमेर तिमीलाई निदाउन दिइन्। हजुरआमा, जसको अङ्गालोमा तिमीले भय बिर्सियौ। हजुरबुबा, जसको काँधमा तिमीले आत्मबल भेट्यौ। ती अङ्कलहरू, जसले हरेक चोट आउनु अघि काँध अघि सारे। पहाडबाट हजुरबुबा हजुरआमा समय समयमा भेट्न आएर आफ्नो ठेगाना सम्झाए। मामाले तिमीलाई ठुला सपनाले जीवनमा ल्याउने आत्मबल सिकाए।
उनीहरू सबै प्रति कृतज्ञता शब्दले अभिव्यक्त गर्न सकिन्न। हामी उनीहरू मार्फत तिमीलाई पाउन सक्यौ, उनीहरू बिना तिमी यति उज्याली हुने थिएनौ। उनीहरूले हामी नभएको खाल्डोलाई मायाले पुरे। तिमीलाई बाबाआमाको काखबाट मात्रै हैन, कैयौँ सहृदयीहरूबाट, न्यानो काखबाट प्रेम मिल्यो।
प्रिय आयरा,
तिमीलाई भेट्न म जुन देशबाट फर्किएँ, त्यहाँ तिम्रो बाबुको वरिपरि बगिरहेको एक अर्को संसार थियो। भाषा फरक, संस्कृति फरक तर हृदयहरू तिम्रो जस्तै न्यानो। ती सबै देशका साथीहरू जससँग मैले श्रमको पसिनाबाट मित्रताको गहिराइ पाएको थिएँ, तिमीलाई भेट्ने खबरले एकाएक उल्लासित भए। कसैले तिमीलाई किताब पठाइदिएँ, कसैले कपडा, कसैले माया समेटिएको सानो गिफ्ट। त्यसमा अर्जेन्टिनी साथीले पनि उपहार दिए। किनभने म लियोनल मेसीको ठुलो प्रशंसक थिएँ।
जब मैले ती उपहारहरू तिमीलाई थमाएँ, तिमीले त्यो सानो हातले प्रेमको भारी अँगालेकी थियौ। अनि म त्यो क्षण क्यामेरामा कैद गरे। तिमी उपहार समातिरहेकी थियौ, मुस्कानले अनुहार उज्यालो बनाएको थियो। त्यो तस्बिर मैले उनीहरूलाई पठाएँ र उनीहरूको जवाफ आयो, ‘हाउ इज योर लिटल एन्जल?’ त्यही एक लाइनमा तिमी र म दुवैको उपस्थितिको अर्थ भरिएको थियो।
अब म तिमीमार्फत पनि उनीहरूसँग जोडिएको छु। तिमी केवल मेरो सन्तान हैनौ, तिमी मेरो संसारसँगको अन्तरसम्बन्ध हौ। तिमीलाई दिइएका सबै उपहारहरू जति थिए— सबै तिमीले समातिरहेकी थियौ तर त्यो मुस्कान... त्यो त केवल तिमीले दिन सक्ने उपहार थियो, जुन संसारकै सबैभन्दा अमूल्य थियो।
खलिल जिब्रानले लेखेझैँ, ‘योर चिल्ड्रेन आर नट योर चिल्ड्रेन। दे आर लाइफ्स लन्गिङ फर इटसेल्फ।’ तिमी केवल हाम्रो सन्तान हैनौ, तिमी जीवनको तिर्खा हौ, हामी जस्ता बाबाआमाका लागि पुनः बाँच्ने बहाना। तिमीलाई फेरि अँगाल्दा महसुस भयो, हामीले जति दुख भोग्यौँ, त्यो केवल यो पुनर्मिलनलाई पवित्र बनाउन रहेछ।
भनिन्छ आनन्दका आँसु कहिल्यै चुपचाप खस्दैनन्, उनीहरू मुटुको आवाज बोलिरहेका हुन्छन्। त्यो अँगालोमा करिब ५०० दिनका आँसुहरू थिए। कहिल्यै बग्न नपाएका, कहिल्यै चिच्याउन नसकेका आँसुहरू। नानी, म तिमीलाई अँगाल्न ५०० दिन कुर्दा केवल समय हैन, जीवन आफैँ काटेको थिएँ। तिमीलाई अँगाल्दा तिमी मुस्काउँदै जब मेरो काखमा पर्न आयौ, मलाई लाग्यो, यही त हो म बाँचिरहेको प्रमाण।
आज म तिमीसँगै छु। तिमी हामीसँगै छौ। हरेक बिहान तिम्रो आवाजले बिउँझिन्छु। तिमी निदाउँदा तिमीलाई हेरेर सास फेरिरहन्छु। अब स्कुल पठाउँदा तिमीले हात हल्लाउनेछौ अनि तिमी हाँस्नेछौ, हाँसोभित्र म ईश्वर देख्नेछु। तिम्रो पाइला स्कुलतर्फ लाग्नेछ तर म तिमीभित्र मेरो भविष्यको गन्तव्य देखिरहेको हुनेछु। र म अहिले देखिरहेछु, मेरो हृदय तिमी भएर हिँडिरहेको।
सधैँ तिमीलाई अँगाल्न चाहने, तिम्रो बाबा।
उही तिमीलाई धेरै माया गर्ने तिम्रो बुवा र आमा!