सन् २०१८ देखि संयुक्त राष्ट्र संघले जुन ३ लाई 'विश्व साइकल दिवस' का रुपमा मनाउँदै आएको छ।
मान्छेलाई दुई सय वर्षदेखि साथ दिँदै आएको दुईचक्के साधन साइकल- सरल, सस्तो, स्वस्थ्यकर र वातावरण मैत्री यातायातको मध्यम।
यही विशेषताले गर्दा लामो समय ओझेलमा परेको साइकल अहिले धेरै विकसित मुलकमा पुनः उदाएको छ। साइकल संस्कृति विकास गर्न विभिन्न साइकलमैत्री पूर्वाधारमा लगानी गर्ने लहर बढ्न थालेको छ।
यसको उदाहरणका लागि यूरोपेली मुलुकसम्म पुग्नैपर्दैन, हाम्रै छिमेकी भारत र चीन हेरे हुन्छ। चीनमा साइकल साझेदार 'बाइक सेयरिङ' मोडेलबाट साइकल संस्कृति पुनरागमन हुँदैछ। हालै मात्र भारतको राजधानी दिल्लीका भित्री वस्तीमा बढ्दो यातायात चाप कम गर्न यही बाइक सेयरिङ मोडल सुरू भएको छ।
साइकल संस्कृतिको विकास वैकल्पिक सोच नभएर आवश्यकताका रुपमा लिन सकिन्छ। तर हामी जस्तो वार्षिक प्रतिव्यक्ति आय हजार डलर हाराहारी भएको अल्पविकसित देशमा साइकल संस्कृति विकास प्राथमिकतामा राख्न गाह्रै हुन्छ। निजी गाडीलाई हामी व्यक्तिगत समृद्धि र प्रतिस्ठासँग जोड्छौं। हामीलाई साइकल चढ्न लाज लाग्छ, अल्छी लाग्छ।
हामी यस्तो समाज निर्माण गर्दैछौं जसमा एउटा कलेज पढ्ने विद्यार्थीले मोटरसाइकलको सपना बोक्छ। अलि कमाउनेले गाडी चाहना गर्छ। सरकारले सार्वजनिक यातायात व्यवस्थाका कमजोरी सुधार्न नसक्नू र साइकल पूर्वाधार कम प्राथमिकता राख्नुको परिणाम हो यो। साइकललाई कर नतिर्ने साधन भनेर हेला गरिएको नतिजा हो।
गाडीका लागि आठ लेन सडक बनाउँदा हामी सार्वजनिक यातायात सहज पर्ने 'बिआरटी', साइकल लेन र पैदलयात्रु मैत्री पूर्वाधार समेट्न चुक्छौं। भन्सार विभागको पछिल्लो दस महिनाको तथ्यांक हेर्ने हो भने पेट्रोल र डिजेल आयातमा मात्र १ खर्ब २४ अर्ब खर्च गर्छ। जबकि यही समयमा हाम्रो कुल निर्यात ७८ अर्बको मात्र छ। २०७२ को भारतीय नाकाबन्दी सम्झिने जो कोहीलाई थाहा छ, साइकल आत्मनिर्भर अर्थतन्त्र र समाजको प्रतिविम्व गर्ने प्रमुख यातायातको माध्यम हो।
काठमाडौंको औषत वायू प्रदूषणस्तर विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दोब्बर छ। हामी वायू प्रदूषणरहित सहर चाहना गर्छौं, तर प्रदूषण निम्त्याउने साधनप्रति ध्यान दिँदैनौं। अझ त्यसमै झुम्मिएका हुन्छौं। गाडी संख्यासँगै वायू प्रदूषण बढ्दै छ।
वायू र ध्वनी प्रदूषण नगर्ने साइकल प्रवर्द्धन गर्न भने हामी पछि परिरहेका छौं। साइकल चलाउन गाह्रो छ, तर स्वस्थ जीवनका लागि अति नै फाइदाजनक छ। कसैले शारीरिक वा उमेरका कारणले साइकल चलाउन नसक्लान्। तर कलेज जाने विद्यार्थी, छोटो दूरीको यात्रा गर्नेहरूले साइकल चलाए व्यक्ति मात्र होइन, समाज नै स्वस्थ हुँदै जान्छ। विलाशिताको संस्कृति छाडेर साइकल संस्कृति अपनाए यसले दीगो सुधार दिन्छ।
हाम्रा धेरै ठाउँ भौगोलिक विविधताका कारण दैनिक साइकल यात्रा गर्न उपयुक्त छैनन्। पहिलेदेखि साइकल संस्कृति भएको तराईमा दैनिक आवश्यकताको साधन भए पनि साइकल प्रवर्द्धन गर्न सकिरहेका छैनौं। पूर्व-पश्चिम राजमार्गलाई सीमा नजिकका सहरसँग जोड्न धेरै सडक परियोजना बन्दैछन्। साइकल यात्रीको उल्लेखनीय संख्या हुँदा पनि हामीले यी बाटोमा साइकल पूर्वाधार समावेश गर्ने आवश्यकता देखेनौं।
काठमाडौं उपत्यका त झनै सम्पदा, संस्कृति र कलाले भरिएको साना वस्तीहरूको नमुना क्षेत्र हो। बाक्लो घनत्व भएको वस्ती भित्रका साना बाटो, गल्ली, चोक, ननी:, बहाल हाम्रो सम्पदा र संस्कृतिका अभिन्न अंग हुन्। यी साना बाटोमा घुम्न, अनुभव गर्न, संरक्षण गर्न, सफा राख्न इन्धन युक्त गाडी न्यूनिकरण गरी पैदल र साइकललाई प्राथमिकता दिई राम्रो उदाहरण दिनसक्छौं।
हाल लण्डन, पेरिस, मेड्रिड, बार्सिलोना, बर्लिन, ऐडिनबर्ग जस्ता विकशित देशका सहरको भित्री क्षेत्रमा यो उदाहरण लागू भएको छ। सकारात्मक परिणाम पनि आइसकेको छ। स्वाभाविक रुपमा उपत्यकाका साना बाटामा गाडी गुडाउँदा असुविधा र असुरक्षा धेरै छ। सहरलाई साइकल मैत्री बनाउनु भनेको सुरक्षित सहर निर्माण गर्नु हो, सहरमा दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्नु हो।
त्यस्तै सहरका साँघुरा गल्लीले साइकललाई रोक्दैन, खुड्किलाले छेक्दैन। यसलाई आवश्यक पर्ने भनेको चालकको जाँगर र इच्छाशक्ति हो।
यो इच्छाशक्ति र जाँगर भएका चालकलाई साइकलमैत्री पूर्वाधार दिई उनीहरुलाई सम्मान दिन सके काठमाडौंमा पनि संसारका विकसित सहरमा जस्तै साइकल संस्कृति विस्तार हुँदै जानेछ। बिना संकोच गर्वसाथ साइकल चलाउन सक्नेछन्।
(लेखक किरणमान जोशी सहरी विकास विज्ञ तथा नेपाल साइकल सोसाइटीका संस्थापक सदस्य हुन्।)