धेरै मानिस समय व्यवस्थापनन गर्न नसकेर वा भनौँ समयको सही उपयोग गर्न नसकेर पछाडी परेका हुन सक्छन्। त्यस्तो विषय कहिलेकाहीँ हेल्चक्रयाई गरेर वा प्रयोग नै गर्न नजानेर हुन सक्छ। यस्तो बेलामा समयको सदुपयोग सही ढंगले गर्नु नै आफ्नो भविष्यको लक्ष्य प्राप्ति हो। कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर केही महत्वपुर्ण बुँदाहरु बारे छलफल गरौँ।
अध्ययनहरुले के भन्छ भने लामो समयसम्म एकै ठाउँमा बसेर अध्ययन गर्न प्राय कठिन नै हुन्छ। यस्तो खालको पढाइ सफल अनि प्रभावकारी नहुन सक्छ। त्यसैले निश्चित समयसम्म प्रभावकारी तरिकाले पढ्ने अनि फेरी छोटोछोटो ब्रेक लिनु प्रभावकारी मानिन्छ। हरेक ४०-५० मिनेटको बीचमा ब्रेक लिनु राम्रो हुन्छ। निश्चित समयसम्म अध्ययन गर्दा त्यस्तो खालको अध्ययनले विषयवस्तुमा केन्द्री गर्न सहज हुन्छ।
यसरी अध्ययन गर्दागर्दै यदि आफूलाई उत्प्रेरित भएको महशुस भएन भने केही समयको लागि समय सेट गर्न सकिन्छ। १/२ मिनेटको लागि रिफ्रेश हुने समय मिलाउन सकियोस् जसबाट हरेक व्यक्तिले आफूलाई आफ्नो लक्ष्यमा पुग्नको सहज वातावरण बन्ने छ।
कहिलेकाहीँ हामी छोटोछोटो दूरीको यात्रा पनि गर्न सक्छौँ, जसबाट पनि आफ्नो अध्ययन समयको लागि अझ बढी नै प्रेरित गर्न सकिने देखिन्छ। अध्ययन गरेको स्थानबाट उठेर यताउता हेर्ने जसबाट विद्यार्थीको लागि दिमागमा ताजापन आउन सक्छ। सफल अनि प्रभावकारी अध्ययन गर्ने विद्यार्थीको लागि हरेक कुरामा समय तालिका राख्दा अझ बढी प्रभावकारी हुन्छ।
आजकलका बाबुनानीहरुले नियमित अध्ययन गरिरहेका हुन्छन् तर त्यो अध्ययन प्रभावकारी नभएको हुन सक्छ। त्यस्तो अवस्थामा नियमित बसिरहँदा नबुझेको कुरालाई चर्कोसँग आवाज निकाल्नु प्रभावकारी हुन्छ। जसरी शिक्षकले कक्षामा अध्ययापन गराउँदा आवाज निकाल्नछन्, त्यसरी नै विद्यार्थीले पनि चर्को आवाज निकाल्नु जरुरी छ। यसबाट पढेको कुरा बुझिन्छ, लामो समयसम्म स्मरण रहन सक्छ।
अध्ययन गर्दा हरेक कुराको लागि सानोसानो नोट बनाउनु पर्ने हुन्छ, जसबाट हरेक कुरा नबिराइकन गर्न सकियोस्। हरेक कुराको लिस्ट बनाउने, त्यो पनि कुन काम कुन समयमा गर्ने त्यसको सबै विवरण भयो भने अगाडि बढ्न अझ सजिलो हुन्छ।
आज सबैभन्दा चुनौतीको साधन मोबाइल अनि टेलिभिजन हुन्, जुन प्रयोग गर्न जाने अचुक औषधि हुन्छ। तर हाम्रा छोराछोरीले यिनीहरुको दुरुपयोग गरेका छन्।
कतिपय बाबुनानीले आफ्ना अनपढ बाबुआमालाई सोझै छल्ने हुन्छन् भने कति आमाबाबुले छोराछोरीको स्वतन्त्रताको लागिनै छाडेको पाहिन्छ। यसबाट समग्रमा, नियन्त्रण गर्न छोराछोरीको लागि ती वस्तुहरुको आवश्यकता कस्तो हो भन्ने कुरा समयमै बुझाउन नसक्नु कमजोरी हो भने त्यसका फाइदाहरुको उपयोग गर्न पनि सिकाउन जरुरी छ। कहिलेकाहीँ बाबुनानीहरु आफै पनि सचेत भए भने अझै राम्रो हुन्छ।
बाबुनानीहरुले परीक्षाका समय होस् वा अन्य समय, अनावश्यक व्यक्तिहरुलाई फलो गर्दै सामाजिक संजालमा समय बर्बाद नगर्दा राम्रो हुन्छ। आफूलाई सकारात्मक हिसाबले सहयोग गर्ने मानिसको संगतपनि सामाजिक संजालमा राम्रो हो। तर अनावश्यकरुपले अरुलाई पछ्याउनु सायद भविष्य र वर्तमान दुबैमा घातक हुन्छ।
कहिलेकाहीँ अध्ययन गर्दा आफूले प्रयोग गर्ने मोबाइल ल्यापटपहरुलाई बन्द गर्ने अनि सामाजिक संजालका नोटिफिकेसनहरुलाई पनि बन्द गर्दा राम्रो हुन्छ। मोबाइल फोनहरुलाई बन्द गर्दा सबैभन्दा राम्रो, नमिल्ने भयो भने त्यस्ता साधनहरुलाई शान्त मोडमा राख्नु पर्छ। जसबाट हाम्रो एकाग्रता क्षमतालाई बढी सहयोग हुन्छ।
विद्यार्थीले आफूले अध्ययन गरेको कुरालाई २४ घण्टाभित्रमा त्यसलाई पुनः अध्ययन गर्नु जरुरी छ। अध्ययन गरेको कुरालाई पटकपटक पढी रहनु नै उच्चतम सम्झना शक्ति हो। शारिरीकरुपमा आफूलाई सक्षम राख्नु जरुरी छ ताकी परीक्षाको समयमा कुनै दुख भोग्न नपरोस्। त्यसैले हरेक समय मिलाएर आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी छ।
हरेक दिन बिहान कम्तिमा २०-३० मिनेटसम्म हल्का खालको शारिरीक व्यायम गर्ने अनि लामो लामो स्वास लिने र हाम्रो शरीरका हरेक कोसीकालाई स्वस्थ राख्नु पर्छ। अरुबेला पनि विद्यार्थीले पढ्ने समयको सुरुआतमा लामो-लामो स्वास लिएर २/३ मिनेटसम्म बस्ने अनि मात्र अध्ययन गर्ने कुरा राम्रो हुन्छ।
विद्यार्थीको सफलताको लागि उत्तम उपाय भनेकै समयको सही प्रयोग हो। जो जसले राम्रोसँग आफ्नो जीवनको परिभाषा बुझ्ने कोसिस गर्छ र सबल अनि सफल बन्ने इच्छा लिन्छ, तिनीहरुले समयको सदुपयोग गरेको हुनुपर्छ।
समयको सदुपयोग गर्न सक्नु नै समय को महत्व बुझ्नु हो। आजका केटाकेटीहरुले समाजको महत्व बुझ्न अनि सामाजिक जीवन शैली पनि नबुझेका हुन सक्छन्। त्यसैले यो बेलामा अभिभावकले पनि आफ्ना छोराछोरीहरुलाई हिजोको आफ्नो बाल्यकाल अनि त्यो समयमा गरेका स-साना गल्तीको कारणले जीवन प्रगतिमा आएका अवरोधलाई सम्झाउन सक्नु सबैभन्दा उत्तम हुन्छ।
कहिलेकाहीँ अभिभावकले केटाकेटीसँगको समदुरीको व्यवस्थापनन गर्न नसक्नु पनि समस्याको विषय हुनसक्छ। हामीले आफ्ना सबै कमजोरीहरु लुकाउँदा हुन सक्ने राम्रानराम्रा दुबै पक्षको मुल्यांकन गर्नु अनि त्यसबाट सिक्न सकिने कुरा बाबुनानीलाई बताउनु महत्वपूर्ण हुन्छ।