आज ठ्याक्क ८ महिना भएछ उच्च शिक्षा हासिल गर्न त्यो जन्मघरमा आमासँग आँसु लुकाउँदै अन्तिम पाइला छोडेको, धेरै थिए इच्छा र आकांक्षा विदेश गएर धेरै कुरा सिक्छु भन्ने तर फरक परिस्थिति, फरक वातावरण र भिन्नै अध्यापन शैलीलाई पछ्याउँदै पहिलो सेमेस्टर सकिएछ।
दोस्रो सेमेस्टर सुरू हुँदानहुँदा कोरोना विस्तारै विश्वव्यापी महामारीको रूपमा फैलिँदै थियो, हाल म अध्ययनरत युनिभर्सिटी अफओस्लोले पनि नर्वेजियन सरकारले देश पूर्णरूपमा लकडाउन हुने घोषणा गरेसँगै सबै पठनपाठन बन्द गरी तत्कालै इलर्ङिङ सुरू गर्यो।
नर्वे एक अर्काप्रति चरम विश्वास भएको देश भएको हुनाले अब सेमेस्टर एक्जाम पनि अनलाइन नै लिने प्रबन्ध मिलाइरहेको छ।
आज देश पूर्ण रूपमा लक भएको ४० दिन कटिसक्यो, एउटा कोठामै खेर गइरहेका छन् दिन, सुरूका १५ दिन त कोरोना कोरोना भन्दै डर त्रास मै बित्यो।
यतिसम्म भयो कि स्वस्थ रहेको शरीर पनि, दिमागले अनावश्यक कुरा खेलाएर आफैं बिरामी पर्न थालिसकेको थियो।
अनेकौं प्रयत्न गरेर पढ्न कोशिस गरे पनि मन एकत्रित हुन नसक्ने मनोदशाबाट गुज्रिँदै छ, यद्यपी यहाँको स्थानीय सरकार र अन्य सम्बन्धित क्षेत्र कसैलाई कुनै पनि किसिमको मनोवैज्ञानिक असर नपरोस् भनी अनेकौं प्रयत्न भने नगरेका हैनन्।
यसका बाबजुद आफू सम्हालिएर घरपरिवारलाई सान्त्वना दिन चाहिँ हामीलाई गाह्रो भएन।
त्यति डर त म बसेको ठाउँमा कोरोना सङ्क्रमित हरेक दिन दुई गुणा बढेर करिब ५५०० जना पुग्दा नि लागेको थिएन जब नेपालमा दोस्रो पटक कोरोना सङ्क्रमित भेटियो भन्ने समाचार सुन्दा लागेको थियो, सायद परदेशमा बसेर एउटा नागरिकले देशप्रति देखाउने माया यही होला।
कहिलेकाहीँ मन धेरै कुरा सोचेर बेस्सरी कुद्ने गर्छ, एकातिर भइरहेको जागिर गयो, अर्कोतिर जुन उद्देश्य लिएर आएको त्यही पूरा नहुने स्थिति सिर्जना भइरहेको छ।
हुन त पूरै विश्व नै यो समस्याबाट ग्रसित छ यद्यपी म जस्तै भर्खरमात्र देश छोडेर विदेश आएका नेपाली विद्यार्थीलाई यो वैदेशिक यात्रा तातो भात निल्नु न ओकल्नु हुँदैछ, भन्छन् नि हात्ती आयो हात्ती आयो फुस्स।
मैले यी शब्द लेखिरहँदा हजुरहरूलाई लाग्ला तिमीहरूलाई कसले भन्थ्यो र विदेश जान? यो प्रश्नको मसँग एउटै उत्तर छ कि हामी सबैलाई परिवेश यस्तो होला भन्ने रत्तीभर पनि शङ्का थिएन।
आफ्नो एउटा लक्ष्य हासिल गरी भविष्यमा देशलाई केही योगदान गर्न सकिन्छ कि भनी, भए भरको सबै कुरा केही समयलाई छोडेर विदेशिएका थियौं तर समयले उल्टो कोल्टो फेर्यो।
भाग्यवस नर्वेका युनिभर्सिटीमा सबै विद्यार्थीलाई नि:शुल्क पढाउने गरिन्छ त्यसैले सेमेस्टर फी बुझाउने अर्को ठूलो पीर भने छैन। म यहीँ अँध्यारो कोठामा बसेर सोच्ने गर्छु कि म जस्तै भर्खर मात्र अध्ययनको लागि अन्य देश जस्तै क्यानडा, अस्ट्रेलिया, जापान, कोरिया, अमेरिका जहाँ चर्को युनिभर्सिटी फी रहेको छ, त्यस्तो ठाउँका विद्यार्थीको मनोदशा के भयो होला?
एकातिर कोरोनाबाट आफू बच्नुपर्ने चुनौती,अर्कोतिर खान, बस्न अनि कलेजको फी तिर्ने पैसाको जोहो गर्नु पर्ने बाध्यता।
हामी सबैलाई थाहा नै छ, एउटा सामान्य परिवारमा जन्मेको कुनै पनि नेपाली विद्यार्थीले यहाँ केही काम नगरी उसको जीविकोपार्जनसम्म पनि गर्न सक्दैन भन्ने, अनि धेरै जनाको काम रोकिसकेको छ।
फेरि सुरू हुने कुनै ठेगान छैन, त्यसैले धेरै नेपाली विद्यार्थीमा आर्थिक तथा मनोवैज्ञानिक संकट पर्ने निश्चित जस्तै छ।
युरोप, अमेरिका लगायत अन्य धेरै ठाउँमा पढ्ने विद्यार्थीको सेमेस्टर सकिँदै छ र लामो छुट्टी पनि सुरू हुँदैछ। अन्य देश जहाँ छुट्टी छैन त्यहाँका कलेज तथा विश्वविद्यालयले डिफर दिन पनि तयार छन् यस मानेमा यहाँ समस्यामा परेर बस्नुभन्दा नेपाल फर्किने एउटा ढोका खुल्दैछ तर नेपालमा अहिले कोरोना संक्रमित बढिरहेको हुनाले देशमा लकडाउन खुल्ने सम्भावना एकदमै न्यून छ।
यस्तो अवस्थामा विदेशमा भएका आफ्ना विद्यार्थीको उद्दार गर्न सरकारले खेल्ने भूमिका एकदम महत्वपूर्ण हुन्छ।
पक्कै कोही पनि नेपाली विद्यार्थी कोरोना बोकेर आफ्नो देश फर्किन चाहन्नन्। मतलब कसैले पूर्ण रूपमा स्वस्थ भएको मजबुत प्रमाण देखाइ नेपाल सरकारलाई फिर्ता बोलाउन लाग्ने खर्च तिरी तोकेको मापदण्ड अनुसार पूर्ण रुपमा आइसोलेसनमा बस्न तत्पर छ भने उसलाई फर्किनको लागि सहज वातावरण बनाउन जरूरी छ। जसले गर्दा यहाँ उत्पन्न हुँदै गइरहेका समस्याबाट ग्रसित विद्यार्थीलाई ठूलो राहत पुगोस्।
आज विश्व नै संघर्षमा रहिरहँदा यहाँ बसेर गुनासो पोख्नु त्यति मनासिव त हैन तर बिग्रँदै गइरहेको समयलाई हामी सबैको हातेमालोमा केही हदसम्म सपार्न सकिन्छ कि भन्ने हेतुले मात्र हो।
आशा छ नेपाल सरकारले यस विषयमा आफूले सक्ने कदम चाल्ने छ। सबै जना सरकारले लागू गरेका हरेक नियम पालना गरी घरमै बसी आफू पनि बचौं, अरूलाई पनि बचाऔं। जय नेपाल!
(लेखक हाल नर्वेको ओस्लो विश्वविद्यालयमाअध्ययनरत छन्।)