मानिसको स्वभाव साँच्चिकै एक किसिमको स्वार्थी हुँदा रहेछ। जबसम्म कुनै व्यक्ति, वस्तु अथवा समय आफ्नो नजिक सधैं सबै हुन्छ। समय पनि?
तौलिहवा, भिक्षु चोक, नजिकको ठूलो पहेँला घर, वरिपरि सिसौका ठूला रूखहरू भित्र सानो गीता राइस मिल, पछाडि आँपको बगैँचा, गाईको गोठ, आलु बारी, हरियो नल, नरिवलको रूख, ठूलो खेल्ने आँगन, बारम्बार मेरो मानसपटलमा आइरहन्छ।
कहिलेकाहीँ म आफैसँग प्रश्न गर्छु, किन यति सम्झना आइरहन्छ त्यो ठाउँ, उत्तर खोज्दै जाँदा मलाई आभाष हुन्छ कि मैले मेरो जीवनको सबभन्दा सुन्दर समय, बाल्यकालको अविस्मरणीय क्षणहरू मैले त्यहाँ बिताएको छु। त्यो समय कहिल्यै फर्केर आउँदैन र त्यस्ता अनगिन्ती पलहरूको साक्षी हुनुहुन्थ्यो, मेरा हजुरबुवा र हजुरआमा।
दसैं–तिहार, काठमाडौंको मिनपचासको जाडोमा एक महिना लामो बिदा हुँदा म आफ्नो हजुरबुवा र आमा भएको ठाउँमा बिताउने गर्थेँ। बिदा हुने थाहा पाएपछि एक किसिमको उत्साह हुन्थ्यो, तराईमा जाने, रमाइलो गर्ने। एक महिना बितेको थाहै हुँदैन्थ्यो, काठमाडौं फर्किँदा मन नरमाइलो भएको थियो।
पेसाले मेरो हजुरबुवा संस्कृत माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो। काठमाडौंको दरबार हाईस्कुलमा पनि केही समय पढाउनु भएको हो रे, बनारसमा बसेर संस्कृतका ज्ञाता भएर नेपालम पनि आफ्नो कर्म गर्दै 'ज्ञान' सबभन्दा ठूलो हुन्छ भन्नुहुन्थ्यो। बुवालाई सम्झँदा, 'हरियो एटलसको साइकल, कमिज सुरूवाल, टोपी, अनि पुस्तक' तस्बिर जसरी अगाडि आउँछ।
बुवा निकै ऊर्जाशील, हुनुका साथै एकदमै गहन अध्ययनकर्ता। भारतको नौतुनुवाबाट किनेको एटलस साइकल हो यो भन्दै सोमा सवार भएर आफ्नो विद्यालय जाने, फर्किँदा घरमा आवश्यक सामग्री ल्याउने। मधेसमा जति नै गर्मी भए पनि दिउँसो दिनको एक कप चिया भुजासँग खान रूचाउने।
बुवा बस्ने 'मचिया' हाम्रो पिर्काभन्दा ठूलो र अग्लो थियो। छुट्टीमा गएको बेला मलाई भुजा खाने हो नानु भन्नुहुन्थ्यो, म चाहिँ अलि मिठो अरू केही खान्छु भन्थेँ।
बुवा हाँस्दै भन्नुहुन्थ्यो, 'मधेसमा त भुजा, टिकिया र जेरी मिठो हुन्छ, तिमीलाई यो कुनै मनपर्दैन। हैन, काठमाडौंका मान्छेलाई के मनपर्छ?' त्यस बेला म आफूलाई 'काठमाडौंको' भन्दा निकै गर्व गर्थेँ, अलि घमण्ड पनि आउँथ्यो।
मेरो बाबाको जागिर राजधानीमा भएकाले हामी यहीँ बसोबास गथ्र्यौं यद्यपि त्यो बेला यहाँ आफ्नो घर नभएकाले पनि भिक्षु चोक नजिक, तराईको त्यो पहेँलो रङको घरले नै मलाई 'घरको' परिभाषा गरिदिएको थियो। म घर जाँदा प्राय: बुवासँगै समय बिताउँथेँ।
खेतमा बुवाको पछि लागेर गएको याद छ, केवल पानी खेल्न, बगैँचामा जाँदा बुवाले भनेको कुरा याद आउँछ, 'अब यसपालि धेरै आँप फल्छ, अनि म काठमाडौं पठाइदिन्छु, खुब खानु है,' म हाँस्दै बुवालाई हेर्थेँ।
लिच्चीको बोट घरमै थियो, सुटुक्क आफ्ना दाइभाइहरूसँग चढेर त्यो खाएको याद छ, रूख सानो भएकाले चढ्न र झर्न निकै सजिलो थियो, तर साना साना तराईका राता कमिलाले टोकेपछि रूँदै जान्थेँ, बुवा र आमालाई सुनाउँथेँ।
पहिला गाली अनि बिस्तारै माया गरेर सम्झाउनु हुन्थ्यो। घरको आँगनमा ठूलो हरफरौरीको रूख थियो, हामी छुट्टीमा आउने थाहा पाएर बुवाले पहिले नै पिङ हालिदिनु हुन्थ्यो। दसैं र तिहारको आधा समय त्यही पिङमा जान्थ्यो। खेतीपाती भएकाले भरमा लडिया थियो, मैले त्यसमा खेल्दा निकै गाली खाएको छु। सधैं मेरो खुट्टा अड्किन्थ्यो। दिउँसोमा परालमा लुकामारी खेल्दा मज्जा आउने तर राति शरीर चिलाएर सुत्न सकस हुन्थ्यो।
मधेसमा पाइने ‘रातो दही’ मलाई साह्रै मनपर्छ। काठमाडौंको भन्दा भिन्न, हल्का गुलावी रङको बाक्लो दही हाम्रो घरमा आउँथ्यो, म आउने थाहा पाएर बुवाले उनीहरूलाई सधैं मगाउनु हुन्थ्यो। मधेसमा भए पनि हाम्रो घर बाटोको छेवैमा पर्छ, तिलौराकोट पुग्न २ किमि अगावै त्यसको वरिपरि २—३ वटा किराना पसलहरू पनि थिए। कहिलेकाहीँ बुवाले त्यही रामलालको पसलबाट बिस्कुट किन्नु हुन्थ्यो। सानो छँदा अरू जस्तै म बुवालाई कथा सुनाउनु भनेर हैरान पार्थेँ। बुवा हुन्छ भन्दै, 'न्याउरी मारी पछुतो' भन्ने कथा सुनाउनु हुन्थ्यो, अनि म सुरूको ३—४ वाक्यले थाहा पाएर रिसाउँदै भन्थे, छ्या यो त सुनिसके, बुवा हाँस्दै भन्नु हुन्थ्यो, 'ल अब भोलि नयाँ भन्छु, आज सुत।'
बुवाको सिरानी मुनि लुकाएर राखेको हजमोला पाचक मैले भन्दा धेरै मेरा दाइ भाइहरूले झिकेका हुन्। शनिबार हाट बजार जान पाउँदा म खुसी हुन्थेँ तर टाढासम्म हिँड्न मलाई साह्रै अल्छी लाग्थ्यो। स्वाद फेरिएर होला कि आमाले पकाएको खाना निकै मनपर्थ्यो। आमा अलिक हक्की स्वभावकी मान्छे, एकदमै सुन्दर र अनुशासित। म बुवासँग भन्दा बढी आमासँग डराउँथेँ। आमा बिरलै खेतमा, बजार जानुहुन्थ्यो र मलाई घर बस्न भन्दा घुमफिर गर्न मन लाग्ने, त्यसैले बुवासँग म बढी नजिक भएको होला।
म सुतेर उठ्दा कोठाको झ्यालबाट खेतमा फलेको धान, गहुँ र माथि सफा निलो आकाश निकै बेरसम्म हेरिरहन्थे।
बाल्यकालमा बिताएका ती क्षणहरू मेरो मानसपटलमा अझै ताजा छन्। एक किसिमको अनौठो शान्ति र खुसी महसुस गर्छु जब फर्केर त्यो समयको सम्झनामा पुग्छु। पहिले मलाई घर जाँदा बुवाले चिनाउँदै भन्नुहुन्थ्यो, 'ऊ चाहिँ मेरी नातिनी हो, छुट्टीमा आएकी छे', यति भन्दै गर्दा म बीचमै ठूलो स्वरमा भन्थेँ, 'म काठमाडौंको हुँ र मलाई उतै मनपर्छ। तर आज सोच्दै जाँदा आफूलाई भन्न मनलाग्छ, 'सायद म काठमाडौंको होइन।'
मेरो जीवनको बाल्यकालको समयलाई अमूल्य बनाउने मेरो बुवा आमालाई सधैं स्मरण गर्छु।