हातमा दुई–दुई वटा मास्टर डिग्रीका प्रमाणपत्र छन्। कागजमा लेखिएको योग्यता कमजोर छैन। तर आज पनि म कामको खोजीमा भौंतारिँदैछु। कहिलेकाहीँ ती सर्टिफिकेटहरू हातमा लिएर हेर्छु—आखिर यिनले किन मेरो जीवन बदल्न सकेनन् भनेर आफैलाई प्रश्न गर्छु।
मेरो कथा एसएलसी सकेपछि सुरू हुन्छ। गाउँको शान्त माटो, आमाको मायालु काख, बाबाको भरोसा—सबै छोडेर म काठमाडौंतिर लागेँ। मनमा एउटै सपना थियो— 'म पढेर केही बन्छु, आमाबुवाको दुःख मेट्छु। ५ हजार रुपैयाँको सानो कोठा भाडामा लिएर म बस्न थालेँ। विजय मेमोरियल कलेजमा प्लस टु भर्ना भएँ। पहिलो पटक घरबाट टाढा गएको, नयाँ सहरमा एक्लै। त्यो कोठा सानो थियो, तर त्यहीँभित्र मेरा ठूला सपना बस्थे। आमाबुवाले मेरो लागि गरेको संघर्ष सम्झिँदा आज पनि मुटु भारी हुन्छ। कहिले खसी बेचेर, कहिले सागसब्जी बेचेर, थोरै–थोरै पैसा जम्मा गरेर पठाउनु हुन्थ्यो।
उहाँहरूले आफ्नो आवश्यकता काटेर मेरो भविष्य जोड्दै हुनुहुन्थ्यो।
छोरीलाई आफूबाट टाढा पठाउँदा आमाको मन कति रोएको थियो होला? तर बिदाइको दिन उहाँको आँखामा आँसु मात्र थिएन—त्यहाँ मेरो सफलताको सपना पनि थियो। काठमाडौंका सुरूआती रातहरू सजिला थिएनन् मेरा लागि। परिवार सम्झेर रातभरी रून्थेँ आसुले सिरानी भिज्थ्यो। कहिलेकाहीँ एक्लोपनले घाँटी थिचेजस्तो लाग्थ्यो। तर हरेकचोटि मनले भन्थ्यो 'तँलाई कमजोर हुने छुट छैन, तँ आमाबुबाको आशा होस्।' त्यसैगरी १२ कक्षामा हुँदा दुई जनाले प्रेम प्रस्ताव राखे। त्यो उमेरमा मन डगमगाउनु स्वाभाविक थियो। तर मैले आफूलाई सम्झाएँ— 'अहिले होइन।' प्रेमलाई अस्वीकार गरेँ, किनकि मलाई डर थियो—कहीँ म लक्ष्यबाट टाढा नजाऊँ। मैले आफ्नो भावना दबाएँ, तर आमाबुवाको विश्वास जोगाउनु पर्छ भन्ने लाग्यो।
१२ कक्षा राम्रो नतिजा सहित पास गरेँ। त्यसपछि आरआर कलेजमा ब्याचलर सुरू भयो। तर आर्थिक संघर्ष झन् चर्कियो। महिनौँ कोठा भाडा तिर्न नसक्दा घरबेटीले ढोका ढकढक्याउँदा मुटु काँप्थ्यो आज पनि ती दिन सम्झिँदा रून आउँछ।
साथीहरूले खाजा खान जाम भनेर मलाई आग्रह गर्दा म मुस्कुराएर 'मलाई भोक लागेको छैन तिमीहरू जाऊ न' भन्थेँ। उनीहरूलाई लाग्थ्यो म घमण्डी छु, एकलकाँटे छु भन्ने। तर कसैले देखेन—मेरो झोलामा पैसा थिएन। ब्याचलर फर्स्ट डिभिजनमा पास गरेँ। फेरि मास्टर सुरू गरेँ। आमाबुवाले फेरि संघर्ष दोहोर्याउनुभयो। छोरीले मास्टर पढेपछि सुख पाउँछे भन्ने विश्वासले उहाँहरूलाई जिउन बल दिइरहेको थियो। मैले पनि सोचेँ—यो अन्तिम संघर्ष हो, अब सफलताको ढोका खुल्छ मैले त अब राम्रो जागिर पाउँछु होला भन्ने लाग्थ्यो तर मेरो लागि ठिक उल्टो भैदियो। मास्टर सकियो। तर वास्तविकता निर्दयी रहेछ।
जागिर खोज्न जता जाँदा पनि एउटै प्रश्न—अनुभव छ? डबल डिग्रीले ढोका खोल्दैन रहेछ, अनुभवले मात्र खोल्दो रहेछ।
अन्ततः १० हजारको जागिर सुरू गरेँ। त्यो पैसाले न कोठा भाडा तिर्न पुग्थ्यो, न घर पठाउन पुग्थ्यो। पछि १५ हजारको काम पाएँ, तर त्यो पनि सपनाको उचाइका लागि सानो थियो। सायद अझै पढाइ कम भयो कि भनेर फेरि अर्को विषयमा मास्टर गरेँ। तर परिणाम उही—एक्स्पेरियन्स चाहिन्छ। समय बगिरह्यो। उमेर ३३ पुग्यो। घरबाट बिहेको दबाब आउन थाल्यो। समाजका प्रश्नहरू काँडाजस्तै बिझ्न थाले। यति पढेर पनि के गर्यौ? भन्ने शब्दहरूले रातभरि सुत्न दिँदैनथे।
आज बुझ्दैछु—सफलता डिग्रीको सङ्ख्याले नापिँदैन रहेछ। जीवनको मैदानमा प्रमाणपत्रभन्दा अनुभव बलियो रहेछ। तर के मेरो संघर्ष व्यर्थ हो त? म आफूलाई प्रश्न गर्छु अनि फेरि एकछिन फेरि सोचेर भन्छु- तँ हारेकी छैनस्। किनकि म त्यो छोरी हुँ, जसले अभावमा पनि सपना मारिन दिइनँ। जसले प्रेमभन्दा परिवार रोजी। जसले भोक लुकाएर मुस्कुराउन सिकी। आज पनि म कामको खोजीमा छु। तर मेरो आत्मविश्वास मरेको छैन। पक्का एकदिन, मेरो आमाको आँखामा फेरि खुसीको आँसु झर्नेछ—तर यसपटक गर्वको।
डबल डिग्रीले होइन, मेरो धैर्य, आँसु र निरन्तर संघर्षले मलाई चिनाउनेछ। किनकि कथा अझै सकिएको छैन। यो त मेरो जीवनको मध्यभाग मात्र हो। अन्त्य अझै लेखिन बाँकी छ।