यताउता जताततैबाट फोन आएको छ, यसपालि भोट फेरौँ बुझेर वा नबुझेर या बढी बुझेर, भोट फेर्ने कुरा बेसी छ। हुन त भोटभन्दा पहिला आफ्नै कर्म फेरौँ जस्तो लाग्छ मलाई।
एक मन त झोक चल्छ, नमागी के भोट दिने? फेरि अर्को मन भन्छ, मेरो घुर्की केका लागि? ब्यालेट थापेको छ, उम्मेदवार उठेको छ, आफू आफ्नो हित देशको हित, भात-भान्छा, शिक्षा स्वास्थ्यको लागि गर्ने, हेर्ने, बोल्ने मान्छेलाई दिऊँ भन्छ।
अर्को दिमागले कसैले केही गर्दैनन् भने भोट नदिने त, अधिकार हो ५ वर्षमा मात्र आउने। नखाऊँ भने दिनभर कुरेर बल्लतल्ल मिलेको सिकार, खाऊँ भने झट्ट हेर्दामा आफ्नै कान्छा बाबाको अनुहार मिल्दोजुल्दो छ, कस्तो धर्मसंकट! भोट दिन त पर्छ तर केमा? कसलाई किन दिने? आफैलाई पहिला सोध्ने? मेरो मनको राजा त मै हो नि।
हिजो एक मित्र भेट भएर भन्दै थिए- परिस्थिति खराब छ, कता देशै नरहने पो हो कि! भोट त राम्रै चयन गरेर गर्नुपर्छ नत्र के बेर सोचनीय छ।
मलाई उनको कुरामा घत लाग्यो। यस कारण मत त दिने मुडमा छु तर अझै तीन थान जति घोषणा प्रतिज्ञा पत्र सरसर्ती हेरेँ। खासै दमदार त भेटिनँ खाली देख्ने, बुझ्ने कुराप्रति व्यक्ति आय मनग्ये बनाउने सोच रहेछ। खुसी त लाग्यो तर प्रतिव्यक्ति आय जनता र मतदाताको बनाउने हो कि आफ्नै प्रतिव्यक्ति आय बढाउने हो बुझ्न सकिनँ। कहाँ, कसरी, कहिले, कोद्वारा आय बढ्छ लेखेर देखाएको र बुझाएको भेटिनँ। कतै साना अक्षरमा पो लेखेको छ कि सबै अक्षर दोहोराएर, तेहेराएर नपढ्ने बानीले जाँचमा तिर्की जुट आएर जीवनको यो हाल भयो। पढ्न बुझ्न त हामी नेपाली नै कमजोर छौँ, म मात्र होइन। हेडलाइन हेरेर र घरको रंग हेरेर जज्छौ, तैपनि चलेकै छ तर अब चाहिँ समय कठिन हुँदै आयो नचल्ला।
नयाँलाई दिऊँ भने चिने, जाने, बुझेकै छैन, कस्तो गर्ने हो? पुरानालाई दिऊँ भने पहिलाको व्यवहार त्यति मन पर्दो छैन। कता दिने, कता एक ठाउँमा त दिन पर्यो। खै चुनावका दिनसम्म कोही दमदार भेटिएला कि।
एक ताका भित्ते राष्ट्रपति खुबै चल्यो, यो पटक भित्ते प्रधानमन्त्री हुन्छ कि? आशा र आकांक्षा राख्न त पाइयो। पूरा, अपूरा भविष्यले बताउला त। म आफू हङ्ग पार्लियामेन्टले स्वतन्त्र एक सिटेलाई दङ्ग पार्लियामेन्ट बनाउँला कि भन्नेमा शंका पनि छ।
लोकतन्त्रमा मूलधारका दलहरू मिल्न हुन्न भन्ने मत पनि थियो, सायद अहिले पनि छ। भारे भुरे टाकुरे दलहरू मिलेर सरकार बनाउने स्थिति आए गो ब्याक टु मंगलमान होला कि। बालखाहरूले अनाहकमा परिवर्तनका लागि भन्दै ज्यान गुमाए, हामी वयस्कले होस गुमाउन हुन्न है।
कोही भोट फेर्न नडराउनुस् भन्दछन्, कोही सपनामा नभुल्नुस् भन्दछन्, कोही त्याग बलिदान हेर्नुस् भन्दछन्। त्यही त्याग बलिदानले त देश उँभो लागेन भन्ने मनमनै सोच्छु, जवाफ फर्काउन हिम्मत आउन्न।
प्रश्न गरौँ भन्दछन्, अर्का थरी प्रश्न गर्दै हिँड्दा पनि खाइपाइ आएको चलिरहेको चुलो पनि निभ्ला, चिचिलाले दुःख पाउलान् कि भन्ने डर। आजका दिनसम्म कसले कहाँ प्रश्नको जवाफ दिएको छ र अब प्रश्न गर्ने।
कायरले सिरकभित्र मुड्की पो ताक्ने हो, कताको प्रश्न गर्ने? यस्तै छ यहाँको चलन हेरौँ। भोट खसाल्ने दिनसम्म कोही कसै उम्मेदवारले बोलीले भाषणले चमत्कार गरेर भोट दिऊँ-दिऊँ बनाउला कि? के थाहा।
जे जसो भए पनि मेरो नितान्त व्यक्तिगत बिचारमा ‘तीन स’ नछाड्नु उत्तम होला; स्वास्थ्य, शिक्षा र सुशासन। जसले यो तीन कुरामा गाउनेको ताल सुसेल्दा थाहा हुन्छ भने झैँ गरी देखाउला र बुझाउला, प्रस्ट पार्ला, त्यसैलाई छाप लगाउने कि! नत्र भगवान् भरोसा छँदै छ नि, आखिर पशुपतिनाथले चलाएको देश हो।