ग्रीन कार्ड प्राप्त गर्न चाहने विदेशीहरूका लागि अमेरिकाले नयाँ नियम लागू गरेको छ।
यसअघि त्यहीँ बसेर आवेदन दिन सक्ने नीति परिवर्तन गर्दै अमेरिकाले अब त्यसका लागि विदेशीहरूले आफ्नै देश फर्केर दूतावासमार्फत आवेदन दिनुपर्ने नयाँ नियम लागू गरेको हो।
अमेरिकी गृह सुरक्षा विभाग ‘लुपहोल’ प्रयोग गरेर स्थायी बसोबास अनुमति लिने प्रवृत्ति रोक्नका लागि यस्तो व्यवस्था गरिएको भनेको छ।
ग्रीन कार्डबारे अमेरिकाको नयाँ नियमले त्यहाँ बस्ने नेपालीहरूलाई कस्तो असर पारेको छ भनेर हामीले न्युयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलारासँग कुराकानी गरेका छौं।
फुलाराले सबैभन्दा पहिले अमेरिकाले ल्याएको नियम के हो भनेर बुझ्न जरूरी रहेको बताए।
'विद्यार्थी भिसा, पर्यटन भिसा, कामदार भिसा प्रक्रियाबाट अमेरिका पुगेका नेपालीले अमेरिकाबाटै ‘ग्रीन कार्ड’को आवेदन दिन सक्थे। अब यसलाई कडाइ गरिएको हो,' उनले भने।
कंग्रेसले बनाएको नियमलाई सरकारले लागू गरेको हो।
'विद्यार्थी भिसामा आउने र भिसाको प्रकृति बदलेर ग्रीन कार्ड आवेदन दिने, पर्यटन भिसा र कामदार भिसावालाले पनि त्यस्तै गर्ने प्रवृत्ति थियो। त्यसलाई रोक्नका लागि यो नियम ल्याइएको हुन सक्छ। योग्य भएकाहरूले आफ्नै देशबाट आवेदन दिएर पनि ग्रीन कार्ड पाउन सक्छन् भन्ने हो,' उनले भने।
नेपालीहरूलाई पहिलेदेखि नै ग्रीन कार्डका लागि कडाइ गर्दै आएको थियो। यो नियमले थप जटिल बनाएको फुलारा बताउँछन्।
यद्यपि असाधारण परिस्थिति छ भने अमेरिकाबाट अझै पनि ग्रीन कार्डका लागि आवेदन दिन सकिन्छ। परिस्थितिको मूल्यांकन अमेरिकी गृह सुरक्षा विभागका अधिकारीहरूले गर्छन्।
असाधारण परिस्थिति रहेको भन्नका लागि पनि अमेरिकामा कम्तिमा ५ वर्ष बसेको हुनुपर्छ।
त्यतिले मात्रै पुग्दैन।
त्यस अवधिमा अमेरिकाको सबै नियम कानुन पालना गरेको र नियमित कर समेत बुझाएको हुनुपर्ने फुलारा बताउँछन्। त्यस्ता व्यक्तिलाई आफ्नो देश फर्किँदा मानवअधिकारको समस्या हुने अवस्था छ भने अमेरिकाबाटै आवेदन दिन सक्छन्।
अर्को भनेको सम्बन्धित आप्रवासीको देशमा ठूलो प्राकृतिक विपत्ति आएको, हत्या–हिंसा मच्चिएको, आर्थिक रूपमा टाट पल्टिएको अवस्था छ भने पनि त्यसलाई असाधारण परिस्थिति मान्न सक्छन्।
आवेदन दिने व्यक्तिको घरपरिवारमा समस्या छ भने पनि यस अन्तर्गत आवेदन दिन पाइन्छ।
बासु फुलारा। फाइल तस्बिर।
अमेरिकी समाजलाई आर्थिक योगदान दिएका व्यवसायीले पनि यो सुविधा पाउन सक्ने फुलाराले बताए।
यी सम्पूर्ण परिस्थितिको मूल्यांकन गरेर अधिकारीहरूले अमेरिकाबाटै ग्रीन कार्डका लागि आवेदन दिन सक्ने, नसक्नेबारे निर्णय गर्छ।
'यहाँ ओभरस्टे गरेका, गैरकानुनी तरिकाले वर्षौंसम्म बसेकाहरूले अब अमेरिकामै बसेर ग्रीन कार्ड लिन पाइँदैन। जति आउँछन्, कानुनी तरिकाले नै आउनुपर्छ भन्ने हो,' उनले भने, 'ग्रीन कार्ड सहुलियत हो, अधिकार होइन भनेर बुझाउन खोजिएको देखिन्छ। ग्रीन कार्ड लिन बन्द गरिएको होइन, यसलाई निरुत्साहित गरिएको हो।”
यद्यपि, यो निर्णय स्थायी नभई भिसा प्राप्त गर्ने सुविधा अस्थायी रूपमा रोकिएको मात्र भएको उनले बताए।
एकातिर नेपालबाट आवेदन दिनै नपाइने, अर्कोतिर अमेरिकाबाट दिन नपाउँदा नेपालीहरू दुवै तिरबाट अप्ठ्यारोमा परेको फुलाराको भनाइ छ।
'अब नेपालीले अमेरिकाबाटै असाधारण परिस्थिति अन्तर्गत ग्रीन कार्ड आवेदन दिने विकल्प मात्र पाएका छन्,' उनले भने।