अमेरिकामा स्थिर जागिर छाडेर आफ्नै व्यवसाय सुरू गर्नु सजिलो निर्णय थिएन। तर दम्पती अस्मिता दाहाल र असिम गजुरेलले जोखिम मोलेरै आफ्नै कम्पनी खोल्ने आँट गरे।
अस्मिता पेसाले आर्किटेक्ट हुन् भने असिम सिभिल तथा जियोटेक्निकल इन्जिनियर।
निर्माण क्षेत्रमा काम गरिरहेका उनीहरूले आफूले हासिल गरेको अनुभव र सीप आफ्नै व्यवसायमा उपयोग गर्ने सोच बनाए। त्यसपछि सन् २०२४ मा अमेरिकाको टेक्ससमा 'भिन्ची आर्किटेक्ट्स एन्ड इन्जिनियर्स' स्थापना गरे।
कम्पनीले अहिले अमेरिकाका विभिन्न राज्यमा आवासीय तथा व्यावसायिक भवनको डिजाइन र इन्जिनियरिङ सेवा दिँदै आएको अस्मिताले जानकारी दिइन्।
'हामी विशेषगरी आवासीय तथा व्यावसायिक भवनको डिजाइन र इन्जिनियरिङ सेवा दिन्छौं,' उनले भनिन्।
उनका अनुसार जग्गा विकासदेखि भवनको नक्सा बनाउने, संरचना तयार पार्ने, बिजुली, पानी र भवनभित्र हावा आवतजावतको व्यवस्था मिलाउनेसम्मका सबै प्राविधिक सेवा एउटै कम्पनीबाट उपलब्ध गराउनु यसको विशेषता हो।
जग्गा किनेर त्यसमा घर, अपार्टमेन्ट, होटल वा अन्य संरचना निर्माण गर्नेहरू कम्पनीका मुख्य ग्राहक हुन्।
कम्पनीमा अस्मिताले आर्किटेक्चर तथा डिजाइनको काम सम्हाल्छिन् भने असिमले इन्जिनियरिङतर्फको जिम्मेवारी लिएका छन्। डिजाइन र इन्जिनियरिङ सेवा एउटै कम्पनीबाट उपलब्ध हुँदा परियोजनाको लागत घटाउन सहज हुने उनीहरूको अनुभव छ।
कम्पनीमा उनीहरू दुई जनासहित १५ जनाको टोली छ। त्यसमध्ये धेरैजसो अमेरिकी नागरिक छन्। केही नेपाली र भारतीय मूलका पनि छन्।
अस्मिता र असिमको भेट अमेरिकाको टेक्ससस्थित युनिभर्सिटी अफ टेक्सस एट अस्टिनमा स्नातकोत्तर पढ्ने क्रममा भएको थियो।
अस्मिता सन् २०१७ मा अमेरिका पुगेकी थिइन्। नयाँ देश र परिवेशमा घुलमिल हुन सहज थिएन। त्यही बेला असिमसँग भेट भएपछि उनलाई सजिलो भयो।
बिस्तारै नजिकिएका उनीहरूले एक वर्षअघि मात्र बिहे गरेका हुन्।
'जीवनसाथी नै व्यावसायिक साझेदार हुँदा काम गर्न सजिलो हुँदो रहेछ,' अस्मिताले सुनाइन्।

दैनिक जीवनमा जस्तै व्यवसायमा पनि दुवैको सीप र अनुभव एकअर्काका लागि पूरक बनेको छ।
अस्मिताले अस्टिन विश्वविद्यालयमा दिगो डिजाइनमा केन्द्रित रहेर आर्किटेक्चरमा स्नातकोत्तर सकेकी छन्। असिमले पनि सोही विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अन्तर्गत जियोटेक्निकल विषयमा स्नातकोत्तर गरेका छन्। दुवैले पूर्ण छात्रवृत्तिमा पढेका हुन्।
पढाइसँगै उनीहरूले विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीलाई पढाए। शिक्षण तथा अनुसन्धान सहायकका रूपमा पार्टटाइम काम पनि गर्थे। त्यो कमाइले बसाइ र खाना खर्च जुटाउन सघाउँथ्यो।
पढाइ पूरा गरेपछि अस्मिता आर्किटेक्चर र असिम इन्जिनियरिङ कम्पनीमा काम गर्न थाले। केही समयपछि उनीहरू क्यालिफोर्नियाको सानफ्रान्सिस्को सरे र त्यहाँ पनि पढाइ अनुसारै काम गरे।
करिब पाँच–छ वर्ष आर्किटेक्चरका रूपमा काम गर्दा अस्मिताले विलासी घर डिजाइनको अनुभव बटुलिन्।
'मैले डिजाइन गरेको एउटा घर निजी पहाडमा बनेको थियो। त्यसका प्रत्येक कोठाबाट गोल्डेन गेट ब्रिज देखिन्थ्यो। यस्ता घर बनाउन करोडौं अमेरिकी डलर खर्च हुन्छ,' उनले सुनाइन्।
अनुभव बटुल्दै जाँदा उनीहरूलाई जागिरमा सीमित नभई आफ्नै व्यवसाय सुरू गर्ने सोच आयो।
उनीहरूले जागिर छाडे। तर व्यवसाय सुरू गर्न सहज थिएन। विदेशी नागरिकका रूपमा अमेरिकामा कम्पनी खोल्दा भिसाको अवस्था र कानुनी प्रक्रिया बुझ्नुपर्थ्यो। सुरूआती पुँजी सीमित थियो। नयाँ कम्पनी भएकाले ग्राहक खोज्नु र आफ्नो कामप्रति विश्वास दिलाउनु अर्को चुनौती थियो।
तर एकअर्काको साथ र सीपले उनीहरूलाई अघि बढ्ने आँट दियो।
'नियमित तलब आउने जागिर छाडेर व्यवसाय गर्न सुरूमा त गाह्रो हुने नै भइहाल्यो,' असिमले भने, 'बिस्तारै सहज हुँदै गयो।'

सुरूका दिनमा ग्राहक खोज्न र आफ्नो क्षमता प्रमाणित गर्न निकै मेहनत गर्नुपरेको असिम सम्झिन्छन्।
कामको गुणस्तरबाट ग्राहकको विश्वास जित्दै गएपछि कम्पनीले पनि गति लिन थाल्यो।
'हामीले गरेका कामबाट सन्तुष्ट भएका ग्राहकले अरूलाई पनि सिफारिस गर्न थाले। यसले नयाँ ग्राहक पाउन र व्यवसाय अघि बढाउन धेरै सहयोग पुगेको छ,' असिमले सुनाए।
पछिल्लो समय उनीहरू सरकारी परियोजनामा समेत काम गर्न थालेका छन्। आगामी दिनमा यस्ता परियोजनामा बढी केन्द्रित हुने योजना छ। साथै अमेरिकाका विभिन्न राज्यमा कार्यालय खोलेर कम्पनीको सेवा र कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य पनि उनीहरूले राखेका छन्।
अस्मिता र असिमका परिवारका सदस्य नेपाल र अमेरिकाका विभिन्न ठाउँमा बस्छन्।
अस्मिताका बुबाआमा र एक भाइ काठमाडौंको वनस्थली बस्छन् भने अर्का भाइ अमेरिकाको डिसीमा छन्। असिमका बुबाआमा नेपालमै छन् भने दाजुभाइ तथा दिदीबहिनी अमेरिका नै बस्छन्।
चाडपर्वका बेला परिवारका सदस्य एकै ठाउँमा भेला हुने भएकाले भेटघाट भइरहने अस्मिताले बताइन्।
'आमाबुबा आउने–जाने गरिरहनुहुन्छ। परिवारका अन्य सदस्य यतै भएकाले चाडपर्वमा एक्लो महसुस हुँदैन,' उनले सुनाइन्।