लोकनाथ अधिकारी अमेरिकाको न्युयोर्कस्थित नायग्रा फल्समा रेस्टुरेन्ट चलाउँछन्। उनका सबै व्यवसाय साझेदारीमा सञ्चालन भइरहेका छन्। तिनको व्यवस्थापन उनी आफै सम्हाल्छन्।
उनको व्यवसाय अन्तर्गत एउटा बार, दुइटा रेस्टुरेन्ट र दुइटा फुड ट्रक छन्। यी व्यवसायमार्फत नेपाली, भारतीय र अमेरिकी परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको लोकनाथले बताए।
'द लुक्ला हिमालयन एन्ड साउथ इन्डियन किचेनमा दालभात, चाट लगायत परिकार पाइन्छ। त्यहाँ बुफे व्यवस्था पनि छ,' उनले भने, 'दिल्ली चाट रेस्टुरेन्टमा चिया, परौठा, समोसा, पानीपुरी, आलु टिक्की, लस्सी, मिठाई र उखुको ताजा जुस पाइन्छ।'
फुड ट्रकमध्ये एउटामा रेस्टुरेन्टमै तयार पारिएका नेपाली तथा भारतीय फास्टफुड परिकार लगेर बिक्री गरिन्छ। अर्को ट्रकबाट अमेरिकी परिकार बिक्री गरिन्छ।
लोकनाथका अनुसार अमेरिकी परिकार प्रायः फ्रोजन सामग्रीबाट बनाइने भएकाले छिटो तयार हुन्छ र तुलनात्मक रूपमा सस्तो पनि पर्छ। नेपाली खाना पकाउने प्रक्रिया फरक हुने भएकाले मूल्य केही बढी पर्छ।
रेस्टुरेन्ट व्यवसायमा ग्राहकको चाप मौसम अनुसार घटबढ हुन्छ। डिसेम्बरदेखि मार्चसम्म चिसो बढ्ने भएकाले ग्राहक कम हुन्छन्।
'अरू समयमा व्यापार राम्रो हुन्छ। मुख्य ग्राहक भारतीय छन्। नेपाली, अमेरिकी, भुटानी लगायत अन्य समुदायका मानिस पनि आउँछन्,' लोकनाथले भने।


सबै व्यवसायमा गरेर पर्यटकीय सिजनमा ४० जनाभन्दा बढीले रोजगारी पाएका छन्। तीमध्ये करिब आधा नेपाली छन् भने बाँकी भारतीय र अमेरिकी नागरिक हुन्।
लोकनाथले रेस्टुरेन्ट व्यवसाय थालेको तीन वर्ष भयो। यसअघि उनी स्वास्थ्य क्षेत्रमा काम गर्थे।
गोरखाको पालुङटारमा जन्मिएका लोकनाथ किसान परिवारका हुन्। परिवारको मुख्य आम्दानीको स्रोत कृषि थियो। गाउँमा पढाइसँगै उनी पनि खेतीपातीको काममा सघाउँथे।
गाउँनजिकैको स्कुलबाट उनले २०५८ सालमा एसएलसी (एसइई) उत्तीर्ण गरे। त्यसपछि थप पढाइका लागि काठमाडौं आएर महेन्द्ररत्न क्याम्पस, ताहाचलमा शिक्षा संकायमा भर्ना भए।
काठमाडौंमा आफ्नो खर्च आफै जुटाउनुपर्ने भएकाले उनले पढाइसँगै काम पनि गर्न थाले।
'गाह्रो विषय भएकाले अंग्रेजी र गणित चाहिँ कलेजमै पढ्न जान्थेँ। बाँकी समय काम गर्थेँ,' उनले सुनाए, 'बिहान पत्रिका बाँड्थेँ, दिउँसो मोटरसाइकल सोरूममा काम गर्थेँ।'
कमाएको पैसाले उनी आफ्नो खर्च पुर्याउँथे। घरको खर्चमा समेत सहयोग गर्थे। काठमाडौंमा करिब चार वर्ष उनले यसरी नै पढाइ र कामलाई सँगसँगै अघि बढाए। यही अवधिमा उनको बिहे पनि भयो।
बिहेपछि परिवारको आर्थिक जिम्मेवारी थपियो। तर अवस्था बलियो थिएन। त्यसपछि उनी सन् २००७ मा रोजगारीका लागि इसराइल पुगे
इसराइलमा स्वास्थ्य क्षेत्रमा काम गरे। ६ वर्ष त्यहाँ रहँदा नेपाल आउजाउ गरिरहन्थे। नेपाल आएका बेला उनले अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) का लागि आवेदन दिएका थिए।
उनलाई डिभी पर्यो। सन् २०१३ सुरूआततिर उनी इसराइलबाट नेपाल आए र दुई महिना बसेर अमेरिका गए।
इसराइलमा स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनले अमेरिकामा पनि त्यही क्षेत्रमा काम गरे।
'मलाई नेपालमा पर्यटनसँग जोडिएको क्षेत्रमा लगानी गर्न मन थियो। चीनमा बनेका सिसाका पुल र अग्ला ठाउँमा रहेका संरचनाका तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा देखेपछि त्यसतर्फ आकर्षित भएको थिएँ,' उनले भने।
न्युयोर्क टावर र क्यानडाको सिएन टावर देखेपछि उनको सोच अझ बलियो भयो। त्यस्तै सिसाका संरचना नेपालमा पनि बनाउन सके पर्यटक आकर्षित गर्न सकिने उनलाई लाग्यो।


सन् २०१७ मा उनले स्काइवाक टावरको अवधारणाबारे करिब एक वर्ष अध्ययन र अनुसन्धान गरे। त्यसपछि सन् २०१८ मा यही अवधारणा लिएर नेपाल आए।
'चीनतिर सिसामा हिँडेको देखेपछि साथी र म मिलेर यो अवधारणा अघि बढाएका हौं। अहिले धेरै साथी पनि जोडिनुभएको छ,' उनले भने।
हाल लोकनाथको मुख्य अवधारणा र लगानीमा काठमाडौंको कमलादी, इलामको कन्याम र धनकुटाको भेडेटारमा स्काइवाक टावर सञ्चालनमा छन्।
अमेरिकामा बसेर मनमा कल्पना गरेको योजना नेपालमा साकार भएको देख्दा आफूलाई गर्व लाग्ने लोकनाथ बताउँछन्।
भन्छन्, 'नेपाल आउँदा म प्रायः सबै स्काइवाक टावर अवलोकन गर्न पुगेकै हुन्छु।'
नेपालमा पर्यटन क्षेत्रमा लगानीको योजना अघि बढाइरहेका लोकनाथ सन् २०२३ देखि अमेरिकामा रेस्टुरेन्ट व्यवसायमा पनि जोडिए। अमेरिकामा व्यवसाय गर्ने वातावरण राम्रो भए पनि पछिल्ला तीन–चार वर्षमा व्यापारमा केही कमी आएको उनको अनुभव छ।
'पर्यटक संख्या घटे पनि रेस्टुरेन्ट व्यवसाय चलिरहेकै छ। यहाँ बाहिर खाना खाने संस्कृतिले यस क्षेत्रमा सम्भावना छ,' उनले भने।
तर रेस्टुरेन्ट चलाउन सजिलो छैन। कामको प्रकृति र परिस्थिति अनुसार आफैले विभिन्न जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ। त्यसैले कुनै पनि व्यवसाय सुरू गर्नुअघि त्यसबारे ज्ञान र अनुभव लिनुपर्ने उनको सुझाव छ।
'रेस्टुरेन्टमा परिस्थिति अनुसार पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गर्नुपर्छ,' उनले भने।
आगामी दिनमा अमेरिकामै पनि स्काइवाक टावर बनाउने उनको योजना छ। नेपालमा लगानीको वातावरण सुरक्षित भए थप लगानी गर्न पनि आफू तयार रहेको लोकनाथले बताए।
