अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा नेपाली मूलका तीन जना निर्वाचित भएका छन्।
निर्वाचित हुनेमा डा.ह्यारी भण्डारी, सराहना श्रेष्ठ र विश्वबहादुर शाह छन्।
उनीहरू तीनैजना डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए।
डा. ह्यारी भण्डारी मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन्।
डा. भण्डारीले तेस्रो पटक मेरिल्यान्ड हाउस अफ डेलिगेट्स (राज्यसभा सदस्य) मा जित हासिल गरेका हुन्। उनले कुल मतको २२.३४ प्रतिशत मत प्राप्त गरे।
पहिलो पटक २०१८ मा उनी मेरिल्यान्डको हाउस अफ डेलिगेट्समा निर्वाचित भएका थिए।
उनका अनुसार अमेरिकाभरि कानुन निर्माता अर्थात् सांसदका रूपमा निर्वाचित हुने उनी पहिलो नेपाली मूलका हुन्।
त्यतिबेला १२ वर्षदेखि रिपब्लिकन पार्टीले जित्दै आएको सिट डेमोक्रेटिक पार्टीका तर्फबाट उनले जितेका थिए।
त्यसैगरी, सराहना श्रेष्ठले पनि न्युयोर्कको डिस्ट्रिक्ट १०३ बाट तेस्रो पटक जित हासिल गरेकी हुन्।
उनले कुल मतको करिब ६९ प्रतिशत मत प्राप्त गरेर जित हासिल गरेकी हुन्।
उनी पहिलो पटक सन् २०२२ मा न्युयोर्कको राज्यसभा सदस्य निर्वाचित भएकी थिइन्।
२०२४ मा दोस्रो जित हासिल गरेकी थिइन्। श्रेष्ठ अमेरिकाको राज्य विधायिकामा निर्वाचित हुने नेपाली मूलकी पहिलो महिला हुन्।
विश्वबहादुर शाह अमेरिकाको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ४१ बाट चुनावी मैदानमा उत्रिएका उनले कुल मतको २०.३६ प्रतिशत प्राप्त गरेका हुन्।
निर्वाचित भएपछि सेतोपाटीसँग कुरा गर्दै शाहले राज्यस्तरका नीति, बजेट र विकासका विषयमा काम गर्ने बताएका छन्।