अमेरिकाको बोस्टन शहरमा पशुपतिनाथ र बौद्ध मन्दिरसहितको समुदायिक भवन बनाउने उदेश्यले अर्थ संकलन गर्न श्रीमद्धभागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आईतबार सयौं नेपाली महिलाको अगुवाईमा कलश यात्रा आयोजना गरि स्थानीय शिवालय मन्दिरमा पुगेर सप्ताहको सुरुवात गरिएको हो ।
नेपाली समुदायका विभिन्न भेषभूषासहितको कलश यात्रामा महिलाका साथै बालबालिका तथा सयौं पुरुषले पनि कलश बोकेर साथ दिएका छन् ।
वाचन प्रविण पण्डित् दिनबन्धु पोख्रेलले मेडफोर्डस्थित शिवालय मन्दिरको दुर्गा हलमा पानसमा बत्ती बाल्दै पूजा गरि सप्ताहको सुरुवात गरेका छन् । त्यस क्रममा विभिन्न देव, देवीको पूजाअर्चनाका गर्नुका साथै जयजयकार गरिएको थियो ।
त्यसपछि प्रमुख वाचकको हैसियतमा आसन ग्रहण गर्दै पण्डित् पोख्रेलले सप्ताहको थालनी गरेका हुन् । पोख्रेललाई उपवाचक महेश सुवेदी, गणेशका रुपमा रमेश पराजुली र पूजाचार्यको रुपमा दिनेश ढुंगेलले साथ दिएका छन् ।
बोस्टन र आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि पारिवारिक, सामाजिक र धार्मिक कार्य गर्न आफ्नै सामुदायिक भवन र मन्दिर अभाव महसुस हुंदै आएको छ । यसका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले अर्थ संकलन गर्न सप्ताह आयोजना गरिएको मूलआयोजक समितिका संयोजक सुशील पौलेलले जानकारी दिए ।
उनकाअनुसार सामुदायिक भवनमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहने छ । समितिले यो सप्ताहबाट १५ लाख डलर अर्थ संकलन गर्ने लक्ष्य लिएको छ।
हेर्नुहोस् तस्बिरमा






