ग्लोबल नेपाली
तनहुँका शम्भु पौडेल अमेरिकाको टेक्सस राज्यअन्तर्गत 'टेक्सस पार्क एन्ड वाइल्ड–लाइफ डिपार्टमेन्ट' मा कार्यरत छन्।
उनको काम डल्फिन र माछाको संरक्षण सम्बन्धी हो। डल्फिन र माछाको तथ्यांक संकलन गर्नु र संरक्षणको रणनीति बनाउनु उनी कार्यरत डिपार्टमेन्टको जिम्मेवारी हो।
'हाम्रो मुख्य काम तथ्यांक संकलन गर्नु र त्यसका आधारमा संरक्षण नीति बनाएर कार्यान्वयन गर्नु हो। तथ्यांकका आधारमा नीति बनाउने गाइडलाइन दिन्छौं,' उनले भने, 'पानीको गुणस्तर पनि अध्ययन गर्छौं। पानीमा पाइने अक्सिजन र तापक्रम नियमित अनुगमन गर्छौं।'
शम्भु सन् २००९ देखि डल्फिनको अध्ययन–अनुसन्धान संलग्न छन्। उनले सन् २०१७ मा अमेरिकाकै 'युनिभर्सिटी अफ एरिजोना' बाट पिएचडी (विद्यावारिधि) तहको अध्ययन पूरा गरे।
उनले 'फ्रेस वाटर इको सिस्टम एन्ड स्पेसिस कन्जरभेसन' अन्तर्गत नेपालमा डल्फिनको अध्ययन–अनुसन्धान गर्न डब्लुडब्लुएफ (विश्व वन्यजन्तु कोष) को फेलोसिप प्राप्त परेका थिए।
यही फेलोसिपबाट नेपालको वाइल्ड–लाइफ र डल्फिन संरक्षणबारे अध्ययन–अनुसन्धान गरे। त्यही फेलोसिपमा उनले पिएचडी पूरा गरे।
'मेरो पिएचडीको विषय डल्फिन नै हो। मैले नेपालको डल्फिन र यसको संरक्षणबारे अनुसन्धान गरेँ,' उनले भने, 'नेपालको डल्फिन संरक्षणको सबैभन्दा ठूलो चुनौती नदीमा बनेका ड्याम (बाँध) हुन्। ड्याम बनाउँदा अपनाउनुपर्ने सावधानीबारे मेरो पिएचडी थेसिसमा उल्लेख गरेको छु।'

नदीबाट बालुवा र गिटी निकाल्दा पनि डल्फिनको जीवनशैली असहज भएको र बासस्थानमा असर परेको उनले फेला पारेका छन्।
शम्भुले सन् २००९ मा वन विज्ञान अध्ययन संस्थान अन्तर्गत मास्टर्स (स्नातकोत्तर) तहको पढाइका क्रममा पनि डल्फिनकै विषयमा थेसिस लेखेका थिए। त्यसयता निरन्तर डल्फिनकै वरिपरि छन्।
उनका अनुसार कुनै बेला नेपालमा करिब दुई सय वटा डल्फिन थिए। अहिले बढीमा ५० वटा रहेको उनको अनुमान छ।
डल्फिनको संरक्षणमा ध्यान दिन सकिएन र परिणाममुखी काम गर्न सकिएन भने भावी सन्ततीले नेपालमा डल्फिन देख्न नपाउने उनको भनाइ छ।
'वर्षातको समयमा कहिलेकाहीँ भारतबाट केही डल्फिन नेपालतिर आउँछन्। त्यस बेला संख्या बढेको देखिन्छ। तर सुख्खा मौसममा गरेको गणनामा मात्र डल्फिनको वास्तविक संख्या थाहा हुन्छ,' उनले भने, 'यसरी हेर्दा नेपालमा ५० वटाभन्दा बढी डल्फिन छैनन्। यो संख्या एकदमै थोरै हो। यो पनि खस्किँदो अवस्थामा छ।'
नदी पर्यावरणमा डल्फिन निकै महत्त्वपूर्ण सूचक हो। डल्फिनको संख्या घट्दै जानुको अर्थ नदीको गुणस्तर खस्किँदै जानु हो।
शम्भुले नेपालमा र अमेरिकामा डल्फिनको अध्ययन गर्ने मौका पाए। यी दुई देशमा पाइने डल्फिनमा केही आधारभूत भिन्नताहरू छन्। अमेरिकामा पाइने डल्फिन समुद्री हो, नुनिलो पानीमा बस्ने हुन्छ। नेपालको डल्फिन स्वच्छ पानीको हो, नदीमा बस्ने हुन्छ।
संरक्षणको प्रयासमा पनि दुई देशबीच आकाश–जमिनको भिन्नता छ।

'अमेरिकाले डल्फिन संरक्षणका लागि कुनै कसर बाँकी राखेको छैन। अध्ययन र अनुसन्धानका आधारमा हामीले दिएको सुझाब त्यहाँको निकायले जस्ताको तस्तै लागू गर्छ,' शम्भुले भने, 'नेपालमा यस्ता अनुसन्धान प्रतिवेदन र सुझाबको वास्तै कसैले गरेको हुँदैन। नेपालमा विज्ञानको गति र नीतिका बीचमा ठूलो अन्तर छ।'
आफू कार्यरत डिपार्टमेन्टले डल्फिनले जलचक्रमा पार्ने प्रभाव र यसको महत्त्वबारे नीति निर्माण तहमा जानकारी गराउने प्रयास गर्ने पनि उनले बताए।
डल्फिन संरक्षणको नीति निर्माणका लागि नेपालको संसद र कर्मचारी संयन्त्रमा पक्षीकरणको प्रयास गर्ने उनले बताए।
'नेपालमा डल्फिन संरक्षणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक छ। अमेरिकामा राजनीतिक तहमै चासो छ तर नेपालमा छैन,' उनले भने।