काठमाडौंका सुरेश चन्द्र उपाध्याय अहिले जापानको व्यवसायमा व्यस्त छन्।
जापानको नागोयामा सुरेशको मुख्य व्यवसाय 'रिक्रुट एजेन्सी' हो। पायनियर रिक्रुट नामक एजेन्सीमा उनले २५० भन्दा धेरैलाई जागिरमा लगाइरहेका छन्।
त्यस्तै उनीसहित १० जना नेपाली मिलेर नागोयामै नेपाली स्कुल खोलेका छन्। यसबाहेक सुरेश ४ वटा रेस्टुरेन्ट चलाउँछन्। साझेदारहरूसँग मिलेर रेमिटेन्स कम्पनी पनि खोलेका छन्।
यसरी व्यवसायमा स्थापित हुँदै गरेका सुरेश सन् २००९ मार्चमा जापान गएका हुन्।
सुरूमा उनले एउटा खाद्य उत्पादक कम्पनीमा बन्दा, प्याज काट्ने काम पाए। त्यही बेला जापानी भाषा पढाइ गरे। स्नातकोत्तर पनि पढे। काम गर्ने ठाउँमा पनि बढुवा हुँदै सुपरभाइजरसम्मको जिम्मेवारी पाए।
'म मातहत सय जनाभन्दा धेरै काम गर्थे। सन् २०१६ देखि भने मैले आफ्नै व्यवसाय सुरू गरेँ,' सुरेशले भने।
उनको पायनियर रिक्रुटमेन्ट एजेन्सीले जापानका विभिन्न कम्पनीका लागि कामदार आपूर्ति गर्छ। उनका अनुसार हाल एजेन्सीमार्फत पूर्ण समय र आंशिक समय गरेर २५० जना विभिन्न कम्पनीमा काम गरिरहेका छन्।
'हामी २४ सै घन्टाका लागि कामदार दिन्छौं,' उनले भने, 'खासगरी गाडी उत्पादन, कृषिजन्य उत्पादन, खाना प्याकिङ लगायतका लागि कामदार आपूर्ति गर्छौं।'
अफिस व्यवस्थापन लगायत कामका लागि १५ जना कर्मचारी छन्।
उनको कम्पनीमार्फत काम गर्नेहरूमध्ये नेपाल, भियतनाम, कम्बोडिया, फिलिपिन्स लगायत देशका हुन्छन्। सबैभन्दा धेरै नेपाली रहेको उनले बताए।
जापान जानेहरूमध्ये कतिले जापानी भाषा नजानी काम पाउँदैनन्। भाषा राम्रोसँग नआउनेलाई पनि काम लगाउँदै आएको उनले बताए।
सुरेशसहित १० जनाको टिमले नागोयामै तोकाया बाटिका इन्टरनेसनल स्कुल पनि सुरू गरेको छ। उनी यसका निर्देशक हुन्। सन् २०२१ मा स्थापना भएको यो स्कुलमा १५० जना पढिरहेका छन्। यहाँ किन्डरगार्टेनदेखि ९ कक्षासम्म पढाइ हुन्छ।
'जापानमा हुर्किँदै गरेको पुस्तालाई नेपाल चिनाउन हामीले स्कुल चलाएका हौं। त्यहाँ नेपालकै पाठ्यक्रम अनुसार पढाइ हुन्छ। थप भनेको जापानी भाषा हो,' उनले भने, 'अब १२ कक्षासम्म पुर्याउने अनि जापानका अरू ठाउँमा पनि विस्तार गर्ने हाम्रो योजना छ। हामीले त विश्वविद्यालयसम्मको महत्वाकांक्षा राखेका छौं।'
आफ्नो स्कुलमा पढेका विद्यार्थीले नेपाल र जापानसँगै विश्वका जुनसुकै देशमा प्रतिस्पर्धा गर्न सक्ने उनको दाबी छ।
यसबाहेक सुरेश दुई इन्डियन र दुई जापानी गरी चार वटा रेस्टुरेन्ट चलाउनमा पनि व्यस्त छन्। इन्डियन रेस्टुरेन्टमा नेपाली परिकार पनि पाइन्छ।
जापानबाट नेपालमा अनधिकृत तवरले पैसा पठाउन कम होस् भनेर आफूहरूले रेमिटेन्सको काम पनि सुरू गर्न लागेको उनले बताए।
'येहे रेमिट' नामक कम्पनीबाट उनीहरू हाल जापानबाट कम्बोडिया, फिलिपिन्स, भियतनाम, भारत लगायत देशमा पैसा पठाइरहेका छन्।
'अब नेपालका लागि पनि काम भइरहेको छ,' उनले भने, 'अवैधानिक कारोबार जतिसक्दो निरूत्साहित गर्नुपर्छ भन्ने हो।'
सुरेश सामाजिक काममा पनि सक्रिय छन्। जापानमा रोटरी क्लबमा आबद्ध उनको पहलमा विराटनगरको जेलमा पुस्तकालय बन्दैछ।
नेपाल–जापान फाउन्डेसनका संस्थापक सुरेश भन्छन्, 'अब बिस्तारै नेपाल बसाइ पनि लम्ब्याउँदै जाने सोचेको छु।'