परदेशीको दसैं
झापाका मनोज अधिकारी रोजगारीका लागि दक्षिण कोरिया पुगेको १० वर्ष भयो।
सन् २०१६ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पुगेका उनी अहिले ई–७ भिसामा काम गरिरहेका छन्। उनी त्यहाँको फलाम प्रशोधन गर्ने कम्पनीमा टिम क्याप्टेन छन्।
दक्षिण कोरिया पुगेयता उनले परिवारसँग दसैं मनाउन पाएका छैनन्।
'ठ्याक्कै दस वर्ष भयो। दसैंको समयमा मेरो बिदा पर्दैन। साथीभाइ दसैं मनाउन रहर गर्छन्,' उनी भन्छन्, 'म जान्छु भनेर जिद्दी गर्ने कुरा पनि भएन। सबैलाई पालो दिँदादिँदै मेरो त दसैं मनाउने पालो नै परेन।'
सुरुमा कोरिया जाँदा उनलाई ऋणको बोझ थियो। जतिसक्दो छिटो कमाएर ऋण तिर्न पाए हुन्थ्यो भन्ने सोचले पनि दसैं मनाउनुभन्दा ऋण तिर्नेतिरै उनको ध्यान गयो।
'तर जति कमाए पनि पैसाको अभाव नै हुने रहेछ। त्यस्तै भयो,' उनले भने।
मनोजका अनुसार कोरियामा काम गर्ने नेपालीले पालैपालो बिदा मिलाउनुपर्छ। त्यसरी बिदा मिलाउँदा कसैको दसैंमा पर्छ भने कसैको अरू समयमा।
दसैंमा घर फर्कन नपाउँदा मनोजलाई सबैभन्दा बढी छोराछोरी र परिवारको यादले सताउँछ।
'छोराछोरीले सबैका बाबा आए, तपाईं कहिले आउने भनेर सोध्दा भक्कानो फुटेर आउँछ,' उनी सुनाउँछन्, 'घरमा ९८ वर्षका हजुरबा हुनुहुन्छ। उहाँको हातबाट टीका लगाउन र आशीर्वाद थाप्न नपाउँदा नरमाइलो लाग्छ नि।'
परिवारका एक्ला छोरा मनोजलाई दसैंजस्ता चाडपर्वमा बुबाआमाले पनि खुबै सम्झिन्छन्।
'परदेश भनेकै मनमा सम्झना बोकेर काम गर्ने ठाउँ हो। बिदाको दिन भयो भने यतै साथीभाइ मिलेर रमाइलो गर्ने प्रयास गरिन्छ,' उनले थपे।
कोरियामा नेपालीको संख्या बढेसँगै दसैं मनाउने चलन पनि फराकिलो भएको मनोज बताउँछन्। त्यहाँका केही नेपाली होटल तथा संस्थाले दसैंका अवसरमा टीका लगाउने कार्यक्रम आयोजना गर्छन्।
'साथीहरूसँग परिवारसहित जमघट गरेर रमाइलो गर्न सकिन्छ। त्यो सम्भव भएन भने पनि यहाँका नेपाली होटलहरूले दसैं विशेष कार्यक्रम गर्छन्। ती कार्यक्रममा गएर अग्रजहरूबाट टीका र आशीर्वाद थाप्ने चलन पनि छ,' उनले भने।
अग्रजहरू नभएकाहरूलाई होटल सञ्चालकहरूले नै टीका र जमरा लगाइदिने गरेको पनि उनले बताए।
यसरी परदेशमा पनि दसैंको रौनक कायम राख्ने प्रयास गरिन्छ।
इ–७ भिसामा काम गरिरहेका कतिपय नेपालीले आफ्ना परिवारलाई पनि कोरिया लगेका छन्। कहिलेकाहीँ साथीहरूको परिवारसँगै बसेर दसैं मनाउने अवसरसमेत जुर्ने गरेको मनोज बताउँछन्।
यो दसैंमा घर फर्किन नपाए पनि मनोज आगामी जनवरीमा नेपाल आउने योजनामा छन्। नेपालमा यातायात व्यवसाय पनि सञ्चालन गरिरहेका उनी त्यसैसँग सम्बन्धित अर्को नयाँ व्यवसाय सुरू गर्ने तयारीमा छन्।
यही कामका लागि नेपाल फर्किने योजना बनाएका उनले त्यसबेला परिवारसँग भेटघाट गर्ने र खुसी साट्ने आशा राखेका छन्।
दस वर्षदेखि दसैंमा परिवारबाट टाढा रहेका मनोजका लागि आगामी भेटघाट केवल घर फर्किने यात्रा मात्र हुने छैन, परिवारसँग छुटेका खुसीका पल फेरि जोड्ने अवसर पनि हुनेछ।