सन् २०१६ को कुरा हो। डा. अरूण पौडेल नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा जनरल सर्जरीमा स्नातकोत्तर (एमएस) गर्दै थिए।
सर्जरी सिकिरहेका उनको पोस्टिङ क्यान्सर युनिटमा थियो।
एक दिन १६ वर्षीय एक किशोर आए जसलाई हड्डीको क्यान्सर भएको थियो।
क्यान्सर उपचारका निम्ति प्रयोग हुने सुई लगाउँदा किशोरलाई निकै दुःख हुन्थ्यो। यस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर ती किशोरले भविष्यमा डाक्टर बन्ने र 'पेनलेस इन्जेक्सन' (नदुख्ने सुई) बनाउने सपना देखे।
यो कुरा उनले डा. अरूणलाई सुनाए।
अरूणको मनस्थिति बदलियो। उनलाई क्यान्सरकै क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो।
'त्यही घटनापछि मैले क्यान्सरकै क्षेत्रमा थप विशेषज्ञता हासिल गर्ने निर्णय गरेँ,' उनले भने।
अरूणले सन् २०१९ मा जनरल सर्जरीमा एमएस पूरा गरे। त्यसपछि सन् २०२० मा नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) मा सर्जिकल अंकोलोजी अर्थात् क्यान्सरको शल्यक्रिया सम्बन्धी विशेषज्ञताका लागि एमसिएच अध्ययनमा भर्ना भए। एम्सको सर्जिकल अंकोलोजीमा एमसिएच तीन वर्षे सुपर–स्पेसलाइजेसन कार्यक्रम हो।
क्यान्सर सर्जरीमा एमसिएच पूरा गरेपछि उनको कामको क्षेत्र अझ फराकिलो भयो।
'म क्यान्सर सर्जरीमा एमसिएच गर्ने पहिलो नेपाली हुँ,' उनले भने।
दुरबिन तथा सानो चिराबाट गरिने क्यान्सरको शल्यक्रियामा उनी सक्रिय छन्। ठूलो चिरा बनाएर गरिने शल्यक्रियाको विकल्पमा पनि काम गरेका छन्। यस्तो उपचारले बिरामीलाई पीडा कम हुनुका साथै तुलनात्मक रूपमा छिटो स्वास्थ्यलाभमा सहयोग पुग्ने उनी बताउँछन्।
यही कारण उनी रोबोटिक सर्जरीतर्फ आकर्षित भए र अमेरिकाको न्यूयोर्क गएर थप प्रशिक्षण लिए।
सन् २०२४ देखि उनी भारतको गुरूग्रामस्थित पारस क्यान्सर सेन्टरमा सर्जिकल अंकोलोजिस्ट (क्यान्सर सर्जन) का रूपमा कार्यरत छन्।
अस्पतालमा अरूणको दैनिकी नेपाल र भारतका क्यान्सर बिरामीसँग बित्छ। बिरामीका परिवार र आफन्तसँग पनि निरन्तर सम्पर्क हुन्छ।
क्यान्सर सर्जरीमा काम गर्दा उनले जीवनको अनिश्चिततालाई नजिकबाट देखेका छन्। कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म उनका बिरामी हुन्छन्। विशेषगरी केटाकेटीलाई बचाउन नसक्दा चिकित्सकका रूपमा उनलाई सबभन्दा बढी पीडा हुन्छ।
अर्कातिर जीवनको माया मारिसकेका तर उपचारपछि स्वस्थ भएर लामो समय बाँचेका बिरामी भेट्दा उनलाई ऊर्जा मिल्छ।
'चितवनकी एक महिलाको अवस्था अत्यन्तै जटिल थियो, सबैले माया मारिसकेको। उपचारपछि धेरै वर्षपछि उहाँसँग भेट भयो,' उनले सुनाए, 'यस्तो बेला चाहिँ कम्तीमा एक बिरामी त बचाउन सकेँ भन्ने अनुभूति हुन्छ। मेरा लागि यो ठूलो सन्तुष्टि हो।'
डा. अरूणका अनुसार मानिसको शरीरमा दाँतबाहेक सबै अंगमा क्यान्सर हुन्छ। क्यान्सरले जोसुकैलाई जुनसुकै बेला असर गर्न सक्छ। धूमपान, सुर्तीजन्य पदार्थ सेवन, मदिरा, अस्वस्थ जीवनशैली, मोटोपन, केही संक्रमण तथा वातावरणीय कारणले यसको जोखिम बढाउन सक्छन्।
हाल भारतीयमा छाती र मुखको क्यान्सर तथा नेपाली महिलामा स्तन (ब्रेस्ट) र पाठेघरको मुखको क्यान्सर धेरै देखिएको उनले बताए। नेपालीहरूको धेरै तातो पेय, खानेकुरा खाने बानीका कारण जिब्रोको क्यान्सर पनि बढिरहेको उनको भनाइ छ। त्यस्तै, धेरै चुरोट खाने, दाउरामा खाना पकाउनेहरूमा जिब्रो र फोक्सोको क्यान्सर देखिएको उनले बताए।
नेपाली महिलामा सबभन्दा बढी स्तन र पाठेघरको मुखको क्यान्सर देखिन्छ। त्यसपछि फोक्सो र पेटको क्यान्सर छ।
विश्वभर क्यान्सरको जोखिम बढिरहेको अवस्थामा नेपालले पनि अहिलेबाटै तयारी थाल्नुपर्ने उनी बताउँछन्। क्यान्सर के हो, यसको जोखिम कसरी घटाउन सकिन्छ र प्रारम्भिक अवस्थामा कसरी पहिचान गर्ने भन्नेबारे समाजमा व्यापक जानकारी आवश्यक रहेको उनको भनाइ छ।
'क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन। प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकियो भने निको हुन्छ। ढिलो पत्ता लागेका क्यान्सरमा पनि रोग नियन्त्रण र जीवन लम्ब्याउने उपचारका विकल्प हुन्छन्। क्यान्सरको उपचार हुँदैन भन्ने डरले उपचार छाड्नु हुँदैन,' उनी भन्छन्।
उनका अनुसार पहिलो र दोस्रो चरणको क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ। तेस्रो र चौथो चरणमा पुगेकाको पनि उपचारपछि जीवन लामो समयसम्म सहज बनाउन सकिन्छ।
क्यान्सरको उपचारमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिको भूमिका महत्त्वपूर्ण भए पनि रोग लाग्नै नदिनु र समयमै पत्ता लगाउनु त्यत्तिकै महत्त्वपूर्ण रहेको अरूणको बुझाइ छ।
क्यान्सरका लक्षण फरक फरक हुने भएकाले समयमै पहिचान गर्न भने समस्या हुन्छ। सामान्य पेट दुखाइदेखि लामो समय रहने दुखाइ, शरीरमा असामान्य गाँठागुँठी, निको नहुने घाउ, असामान्य रक्तस्राव वा लामो समयसम्म रहने खोकी लगायत लक्षण देखिन सक्छन्।
यस्ता असामान्य लक्षण लामो समय रहिरहे चिकित्सकसँग जाँच गराउन आवश्यक हुन्छ। परिवारमा क्यान्सरको इतिहास भएका व्यक्तिले पनि चिकित्सकको सल्लाह अनुसार जोखिम मूल्यांकन र आवश्यक परीक्षण गराउनुपर्छ।
महिलाहरूले स्तन तथा पाठेघरको मुखको क्यान्सर जोखिमबाट बच्न खोप, नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ छ। र, यसबारे स्कुले पाठ्यक्रमदेखि जानकारी दिनुपर्ने उनको धारणा छ।

भारत जाने नेपाली बिरामीको समस्या
नेपालबाट ठूलो संख्यामा क्यान्सरका बिरामी उपचारका लागि पारस, राजीव गान्धी लगायत भारतका विभिन्न अस्पताल पुग्छन्।
अरूण काम गर्ने पारस अस्पतालमा उपचार गराइरहेका क्यान्सरका बिरामीमध्ये ५० प्रतिशत नेपाली छन्। ती बिरामीसँग जोडिएका विभिन्न समस्या उनले नजिकबाट देखेका छन्। धेरै बिरामी बिचौलिया मार्फत अस्पताल पुग्दा ठूलो आर्थिक भार बेहोर्न बाध्य भइरहेको उनले बताए।
'राजीव गान्धी अस्पताल लगभग नेपालीबाटै भरिएको छ। यहाँका धेरैजसो अस्पतालमा उपचार गराइरहेका नेपालीहरू बिचौलियाबाट आउँदा ठगिएका छन्,' उनले भने, 'बिरामी सिधै अस्पताल जाँदा धेरै महँगो शुल्क छैन। बिचौलिया मार्फत आउँदा ४० प्रतिशत खाने हुँदा धेरै महँगो शुल्क तिर्नुपरेको देखिन्छ।'
त्यसैले कुन अस्पतालमा उपचार गराउने भन्नेबारे बिरामी वा आफन्त आफैले बुझ्दा राम्रो हुने उनले बताए।
नेपालमै क्यान्सरको आधुनिक उपचार पद्धति विस्तार गर्न सके विदेश जाने बिरामीको संख्या घटाउन सकिने उनको धारणा छ।
'क्यान्सर उपचारमा चाहिने आवश्यक प्रविधि र जनशक्ति नै नेपालमा छैन। हामी किमोथेरापीमै अल्झिरहेका छौं। अहिले योसँगै रेडिएसन थेरापी, टार्गेटेड थेरापी र इम्युनोथेरापी जस्ता उपचार उपलब्ध छन्, जसले सहज बनाएको छ,' उनी भन्छन्।
तनहुँको भानु नगरपालिका–९ मा जन्मिएका अरूणले बाल्यकालमै बुबा गुमाए। भारतीय सेनामा कार्यरत उनका बुबाको निधन हुँदा उनी ६ वर्षका थिए। त्यसपछि आमाले दुःख–सुख गरेर उनलाई हुर्काइन्।
एसएलसी (एसइई सरह) मा ९० प्रतिशत अंक ल्याएपछि उनले छात्रवृत्तिमा गोल्डेनगेट इन्टरनेसनल कलेजमा प्लस–टू पढे। उनको रूचि चिकित्सा शिक्षामा थियो।
'आफै खर्च गरेर पढ्ने क्षमता थिएन। सरकारी कोटामा पढ्न पाइयो भने एमबिबिएस पढ्छु भन्ने थियो,' उनले भने।
सरकारी कोटामा एमबिबिएस पढ्ने प्रयास गर्दा एक वर्ष ढिला भयो। पछि बीच उनले भारत सरकारको छात्रवृत्ति पाए र भारत गए।
भारतमा उच्च विशेषज्ञता हासिल गरेपछि पनि अरूण नेपालमै फर्किएर सेवा गर्न चाहन्छन्। तर त्यसका लागि अवसर आवश्यक रहेको उनी बताउँछन्।
'म धेरै समयदेखि हेरिरहेको छु, सरकारले मजस्तोलाई पनि कुनै स्थान दिन्छ कि भन्ने लागिरहन्छ। तर कहिल्यै कतै दरबन्दी खुलेको देखेको छैन। नेपालमा फर्किएर मजस्ता जनशक्तिले कहाँ काम गर्ने त,' अरूणले भने।