परदेशीको दसैं
दसैं आउँछ। त्योसँगै आउँछ घर जाने, ठूलाको हातबाट टीका थाप्ने, सानालाई लगाइदिने रहर।
परदेशीको मनमा झन् यो चाहना उग्र हुन्छ।
तर घनश्याम भुसालका लागि पछिल्ला आठ वर्षदेखि दसैं अरू सामान्य दिनजस्तै मात्र बनेको छ।
दाङ, तुलसीपुर–१ का घनश्याम मलेसियामा सेक्युरिटी गार्डका रूपमा काम गर्छन्। मलेसिया पुगेको छ वर्ष भयो, त्यसअघि उनी कतारमा थिए। कतारमा छँदा पनि दसैंमा घर फर्किने अवसर उनलाई मिलेन।
वैदेशिक रोजगारीमा बितेका यी आठ वर्षमा दसैंका बेला घरपरिवारसँग बसेर चाड मनाउन नपाएका घनश्यामलाई २०७९ सालमा एक पटक छुट्टी मिलेको थियो। तर टिकट नपाउँदा उनी टीकाकै दिन घर पुग्न सकेनन्।
'बल्लतल्ल मिलेको बिदामा पनि टिकट नपाउँदा पूर्णिमाका दिन मात्रै घर पुगेँ,' उनले सुनाए, 'त्यो दिन पनि घरमा आमाबुबाले टीका लगाइदिनुभयो।'
अहिले घनश्यामलाई कम्पनीले मलेसियाको सेलाङ्गोर राज्यस्थित इभो सोहो स्विट्स नामक मलमा सेक्युरिटी गार्डका रूपमा खटाएको छ। त्यहाँ उनको ड्युटी १२ घण्टाको हुन्छ।
उनको टिममा आठ जना छन्, जसको नेतृत्व उनी स्वयंले गर्छन्। बिहान र बेलुका गरी दुई सिफ्टमा काम चल्छ, एक पटकमा चार जना ड्युटीमा खटिन्छन्।
'यो परदेशी भूमिमा साथीभाइसँग मिलेर पनि दसैं मनाउन सकिँदैन,' घनश्यामले भने।
किनभने दसैंमा कम्पनीले छुट्टी दिने चलन छैन। आफू अनुपस्थित भएमा आफ्नो ठाउँमा अर्को साथीले ड्युटी थाम्नुपर्ने हुन्छ। त्यसैले दसैंको दिन कसैलाई पनि बिदा मिलाउन सहज हुँदैन।
'दसैंको दिन बिदा लिन मिल्दैन भन्ने होइन। आफै छुट्टी बस्न चाह्यो भने बस्न मिल्छ। तर त्यसरी छुट्टी बस्यो भने त्यो दिनको तलब पनि मिल्दैन,' घनश्यामले भने, 'आठ जनामध्ये एक जनाले छुट्टी बस्यो भने अरू सात जनामध्ये एक जनाले उसको ड्युटी पनि गर्नुपर्ने हुन्छ।'

फेरि आफूलाई जस्तै अरू साथीलाई पनि दसैं टीकाको दिन छुट्टी लिने रहर हुन सक्छ। त्यसैले साटो ड्युटी गरिदिन कोही सहजै तयार हुँदैन।
त्यसैले बरू उनीहरू ड्युटी सकेपछि जम्मा हुन्छन्। विभिन्न परिकार बनाउँछन्, सँगै बसेर खान्छन्। टीका लगाउन नपाए पनि त्यही सामूहिक भेट र स्वादिलो खानामा उनीहरू दसैंको न्यानोपन खोज्छन्।
घनश्याम बसेको ठाउँमा नेपाली समुदायको कुनै संगठित समाज छैन। दसैंका दिन नेपालीहरू रातो टीका लगाएर हिँडेको दृश्य उनले त्यहाँ कहिल्यै देखेका छैनन्।
दसैं नजिकिँदै गर्दा बूढा हुँदै गएका आमाबुबा, श्रीमती र छोराछोरीको सम्झनाले घनश्यामलाई सबैभन्दा बढी सताउँछ। पछिल्लो पटक उनले परिवारसँगै बसेर दसैं मनाएको २०७६ सालमा थियो, त्यसपछि त्यो अवसर फेरि जुरेकै छैन।
यसपालि पनि उनको मनमा सपना थियो— २०८४ सालमा नेपाल फर्किएर बाआमा, श्रीमती र छोराछोरीसँगै दसैं मनाउने।
तर नियतिले अर्कै बाटो देखायो। गत साउन २७ गते बुबा बिरामी भएको खबर सुनेर उनी हतारहतार नेपाल आए। बुबाको उपचार गराएपछि, दसैंको मुखैमा उनी फेरि मलेसिया फर्किए।
'बुबाको उपचारका लागि नेपाल आएको थिएँ। ४५ दिनको मात्रै छुट्टी थियो,' उनले सुनाए, 'छोराछोरीले दसैंपछि जानु न, बाबा भन्दै थिए। उनीहरूलाई के थाहा, मेरो बिदा सकिएको। अर्को वर्ष आउँछु भनेर भनिदिए।'
अब तीन वर्षको पर्खाइपछि बुबाआमा, श्रीमती र छोराछोरीसँगै दसैं मनाउने आशा घनश्यामले फेरि राखेका छन्।