परदेशीको दसैं
जाजरकोटका नवीनप्रसाद न्यौपाने यसपालिको दसैं मलेसियामा बिताउँदै छन्। दसैं मनाउने कुनै विशेष कार्यक्रम वा योजना भने उनले बनाएका छैनन्।
तलब काटिने बाध्यता र कामको व्यस्तताका कारण दसैं मनाउने योजना बनाउन नसकेको उनले बताए।
'खास भन्नुपर्दा नयाँ मान्छे पनि भइयो। अनि यहाँ हाम्रा दाजुभाइ र दिदीबहिनीले कसरी मनाउनुहुन्छ भन्ने मैले बुझेको छैन। काममा पनि व्यस्त छौं,' उनले भने।
नवीन मलेसिया पुगेको पाँच महिना भयो। पहिलो पटक वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनी सुरक्षा गार्डका रूपमा काम गर्छन्।
सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनीमा गएका उनलाई कम्पनीले आवश्यकता अनुसार खटाउँछ। प्रायः काम फरक फरक ठाउँमा भइरहन्छ। काम गर्ने ठाउँ मात्रै होइन, सँगै काम गर्ने साथीहरू पनि फेरिइरहन्छन्।
त्यसैले साथीहरूसँग मिलेर दसैं मनाउने योजना बनाउन नसकेको उनको भनाइ छ।
'एकै ठाउँमा भइदिएको भए दसैं मनाउने व्यवस्था मिलाउँथ्यौं होला,' उनी भन्छन्, 'आफ्नो संस्कृति मनाउने खालको माहोल बनाउने थियौं, तर भएन। अब के गर्ने, यस्तै हो परदेशी जीवन।'
नवीनका अनुसार त्यहाँ उनले महिनामा एक दिन पनि बिदा पाउँदैनन्। महिनामा ३० दिन नै काम गर्नुपर्छ। दैनिक १२ घन्टा खट्नुपर्छ। त्यति काम गर्दा महिनामा दुई हजार तीन सय रिंगेट कमाइ हुने उनले बताए। त्यसबाट ५५ रिंगेट लेबी काटिन्छ।
कम्पनीले उनीहरूलाई बस्ने ठाउँ मात्रै उपलब्ध गराउँछ। खानपिनको व्यवस्था आफै गर्नुपर्छ। खानपिनमा मात्रै महिनाको तीनदेखि चार सय मलेसियन रिंगेट खर्च हुन्छ।
अन्य खर्चसमेत गर्दा महिनामा एक हजार पाँच सयदेखि एक हजार आठ सय रिंगेटसम्म बचत गर्न सकिने उनी बताउँछन्।
उनी कार्यरत कम्पनी अन्तर्गत विभिन्न कार्यस्थलमा खटिएका सुरक्षा गार्डको आम्दानी पनि फरक फरक रहेको उनले सुनाए। कतिपय साथीले महिनामा दुई हजार सात सयदेखि दुई हजार आठ सय रिंगेटसम्म कमाउने गरेको उनले बताए।
केही कार्यस्थलमा भने आम्दानी कम हुन्छ।
मलेसियामा सबै कम्पनीको अवस्था एउटै छैन। कतिपयले सम्झौता अनुसार तलब दिए पनि केही कम्पनीमा नेपालमा गरिएको सम्झौताभन्दा फरक व्यवहार हुने र विभिन्न शीर्षकमा पैसा काटिने समस्या छ।
त्यस्तै, महिनामा ३० दिन नै काम गर्नुपर्ने भएकाले बिदा लिँदा तलब काटिन्छ।
तलब काटिने भएकाले पनि चाडपर्वका बेला बिदा लिएर रमाइलो गर्नुभन्दा काममै लागिरहनुपर्ने बाध्यता छ। त्यसैले दसैं मनाउने कुनै योजना नबनाएको उनले बताए।
२६ वर्षीय नवीन मलेसिया जानुअघि कहिले नेपाल त कहिले छिमेकी मुलुक भारतमा काम गर्थे।
मलेसियामा राम्रो कमाइ हुने सुनेपछि उनी म्यानपावर कम्पनीलाई दुई लाख ९० हजार रूपैयाँ बुझाएर गएका हुन्। काठमाडौंमा बसाइ तथा मेडिकल र अन्य खर्च जोड्दा कुल खर्च साढे तीन लाख रूपैयाँभन्दा बढी पुगेको उनी बताउँछन्।
'मैले जति ऋण गरेर आएँ, त्यो तिर्न लगभग डेढ वर्ष काम गर्नुपर्ने रहेछ,' उनी सुनाउँछन्, 'यहाँ कतिपय साथीहरूले दुई वर्षसम्म पनि पैसा तिर्न सक्नुभएको छैन। कसैले १४–१५ महिनामा पनि तिर्न नसकेको सुनाउनुहुन्छ। यहाँ यस्तै गाह्रो छ।'
नवीनलाई नेपालमा बिताएका दसैंका दिन भने सम्झना आउँछन्। परिवारका सबै सदस्यसँग बसेर टीका लगाउने र ठूलाबडाबाट आशीर्वाद लिने क्षण उनका लागि दसैंका विशेष सम्झना हुन्।
उनको परिवारमा आमा, बुबा, दुई भाइ, दुई बहिनी छन्, श्रीमती र छोरा छन्।
'नेपालमा हुँदा परिवारका सबैसँग बसेर टीका लगाउने, ठूलाबडाको आशीर्वाद लिने हुन्थ्यो। दसैंको रमाइलो बेग्लै खालको थियो,' उनले भने, 'परदेशमा त त्यस्तो नहुने रहेछ।'