नवलपरासीमा जन्मिएका दीपक सापकोटा नर्वेमा प्राध्यापक छन्।
उनी युनिभर्सिटी अफ ओस्लोको फ्याकल्टी अफ डेन्टिस्ट्रीमा प्रोफेसर अफ ओरल प्याथोलोजी (दन्त स्वास्थ्य सम्बन्धी) हुन्।
उनको करिब ५० प्रतिशत समय मेडिकल र डेन्टलका विद्यार्थी पढाउनमा बित्छ। बाँकी समय अनुसन्धान र सुपरिवेक्षणमा दिइरहेका छन्।
'अहिले म मुखको क्यान्सरबारे अनुसन्धान गरिरहेको छु। मुखको क्यान्सर कसरी हुन्छ, कसरी सफल उपचार गर्ने लगायत विषयमा अनुसन्धान भइरहेको छ,' डा. दीपकले भने।
उनी पिएचडी र मास्टर्सका विद्यार्थीको सुपरिवेक्षण गरिरहेका छन्। तीमध्ये केही नेपालका छन् भने केही नर्वे र भारतका छन्। दीपकले हालसम्म १७ जना विद्यार्थीको सुपरिवेक्षण गरिसकेका छन्, जसमा तीन जना विद्यावारिधि (पिएचडी) विद्यार्थी समावेश छन्।
नेपालमा मुखको क्यान्सर एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या हो। खासगरी पुरूषहरूमा दोस्रोदेखि तेस्रो सबभन्दा सामान्य क्यान्सर प्रकार हो।
नेपालको तुलनामा नर्वेमा मुखको क्यान्सरको संक्रमण कम छ। तर पनि नर्वेले यसबारे अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता साथ अघि बढाएको उनले बताए।
'मुखको क्यान्सर एक आक्रामक क्यान्सर हो र करिब ५० प्रतिशत बिरामी क्यान्सर पहिचान भएको पाँच वर्षभित्र मर्छन्। यसबाहेक, उपचारबाट बाँच्ने बिरामीको जीवन गुणस्तर कम हुन्छ। किनभने, मुखको क्यान्सरको उपचार गर्दा प्रायः बंगारा र जिब्रोसहित मुख वा अनुहारको ठूलो भाग शल्यक्रिया गरेर हटाउनुपर्छ। त्यसपछि अनुहारको स्वरूप बिग्रिन्छ। आफ्नो अनुहार हेर्न पनि धेरैलाई गाह्रो पर्न सक्छ। यसलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित छ,' उनले भने।
तुलनात्मक रूपमा मुखका केही क्यान्सर आक्रामक हुन्छन्। अर्थात् छिटो बढ्छन् र अन्य अंगहरूमा फैलिन्छन्।
बढी र कम आक्रामक मुखको क्यान्सर भएका बिरामीमा के–कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा दीपकको समूहले अनुसन्धान गरिरहेको छ। अत्यधिक आक्रामकको तुलनामा कम आक्रामक मुखको क्यान्सरमा डिएनए, आरएनए र प्रोटिनमा कुनै विशेष परिवर्तन छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
अन्तर्राष्ट्रिय जर्नलहरूमा डा. दीपकका ६० वटाभन्दा बढी वैज्ञानिक लेख पनि प्रकाशन भइसकेका छन्।
उनका अनुसार यी अनुसन्धान निष्कर्षहरूले भविष्यमा आक्रामक मुखको क्यान्सर भएका बिरामी पहिचान गर्न सहयोग पुग्नेछ, जसबाट तिनको तदनुसार उपचार गर्न सकिनेछ।
मुखको क्यान्सर हुनुका धेरै कारण छन्। तर सुर्तीजन्य पदार्थ सेवन मुख्य कारण हुन्।
दीपक सापकोटा। तस्बिरः फ्रेड्रिक पेडरसन (ओस्लो विश्वविद्यालय)
'खैनी, सुर्ती, चुरोट, बिँडी, पान, गुट्खा जस्ता पदार्थ खानेलाई मुखको क्यान्सरको जोखिम धेरै हुन्छ। कतिपय अवस्थामा जीवनशैली तथा आनुवांशिक कारण पनि हुन सक्छ,' उनले भने।
नेपालमा मुखको क्यान्सर ठूलो समस्याका रूपमा बढ्दै गएको छ। सुरूमै उपचार गरियो भने यो निको हुन सक्छ। तर नेपालको सन्दर्भमा ढिलो थाहा पाउनु प्रमुख समस्या हो। सामान्य घाउ होला भनेर बेवास्ता गर्दा क्यान्सर फैलिसकेको हुन्छ।
सामान्यतया मुखको घाउ एक हप्तादेखि दस दिनभित्र निको हुन्छ। दुई हप्तासम्म पनि निको नभए त्यो क्यान्सरको लक्षण हुन सक्छ।
'दुई हप्तासम्म पनि निको भएन भने कस्तो प्रकारको घाउ हो भनेर परीक्षण गर्नुपर्छ। कम्तीमा पनि वर्षमा एक पटक मुखको जाँच गराउनुपर्छ,' दीपकले भने।
धेरै अवस्थामा मुखको क्यान्सर हुनुअघि मुखको छालामा केही परिवर्तन देखिन सक्छ। कहिलेकाहीँ मुखको छाला सेतो (ल्युकोप्लाकिया) र कहिलेकाहीँ रातो (एरिथ्रोप्लाकिया) हुने लक्षण देखापर्छ। ३० देखि ३५ प्रतिशत सेता दागहरू मुखको क्यान्सरमा विकास हुन सक्छ।
तर यी सेता र राता दाग समयमै पहिचान गरी उपचार गर्न सके धेरै अवस्थामा मुखको क्यान्सरको विकास रोक्न सकिन्छ।
दीपकले मुखको क्यान्सरमा परिणत नहुने ल्युकोप्लाकियाको तुलनामा मुखको क्यान्सरमा परिणत हुने ल्युकोप्लाकियाबीचको आणविक तथा आनुवांशिक भिन्नतामा पनि अनुसन्धान गरिरहेका छन्।
उनले स्वीडेन, बेलायत, ब्राजिल, नेपाल, भारत र युरोपका अन्य देशका अनुसन्धानकर्ता तथा चिकित्सकहरूसँग अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य स्थापना गरेका छन्।
मुखको क्यान्सर सम्बन्धी अध्ययनका सिलसिलामा सन् २००६ मा नर्वे गएका दीपकले सन् २०११ मा ओरल प्याथोलोजीमा पिएचडी पूरा गरे। सन् २०१५ मा पोस्ट डक्टरेट फेलोसिप पनि सके। उनले सन् २०१३ मा स्क्यान्डिनेभियन फेलोसिप (ओरल प्याथोलोजी तथा ओरल मेडिसिन) बोर्ड परीक्षा पनि उत्तीर्ण गरेका थिए।
सन् २०२२ देखि उनी युनिभर्सिटी अफ ओस्लोका प्रोफेसर छन्।
नर्वेमा रहेर पनि नेपालमा सक्दो योगदान पुर्याउने प्रयास गरिरहेको उनले बताए।
'धुलिखेल अस्पतालमा एउटा परियोजनाका लागि मैले रकम प्राप्त गरेको छु। डेन्टिस्ट्री अध्ययनरत विद्यार्थीलाई नर्वेमा तीन महिनाको कोर्सका लागि फन्डिङ व्यवस्था मिलाएको छु। यहाँका प्राध्यापकहरूलाई पनि एक हप्ता नर्वे गएर अध्ययन गर्ने अवसर छ,' उनले भने।
यसबाट दन्त चिकित्सा सम्बन्धी नर्वेको पढाइ र उपचार पद्धतिबारे बुझ्न र सिक्न सहज हुने उनको विश्वास छ।
दीपक वर्षमा कम्तीमा एक पटक नेपाल आउँछन् र नेपालका चिकित्सक तथा अनुसन्धानकर्तासँग छलफल गर्छन्। साथै, धुलिखेल अस्पतालका विद्यार्थीलाई सहयोग पुर्याउँछन्।
उनी नर्डिक नेपाल मेडिकल सोसाइटी (एनएनएमएस) का अध्यक्ष पनि हुन्। यो नेपाली मूलका तथा नर्डिक देशहरू (नर्वे, डेनमार्क, फिनल्यान्ड र स्वीडेन) मा कार्यरत चिकित्सक र स्वास्थ्य पेसेवरहरूको संस्था हो।
'यस्ता परियोजना र गतिविधिमार्फत म नेपालमा दन्त शिक्षा र अनुसन्धानमा क्षमता निर्माणका लागि अझ बढी योगदान दिन सक्नेछु भन्ने आशा छ,' डा. दीपकले भने।