नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा काशी दनै सर्वसम्मत चयन भएका छन्।
नेपाली व्यवसायी संघ बेल्जियमको आठौं अधिवेशनबाट धादिङ घर भई बेल्जियममा व्यवसाय गर्दै आएका दनै सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनले उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की, महासचिवमा भुवन सुवेदी, सचिवमा दिपेश सुवेदी, महिला सचिवमा रिचा गुरुङ तथा कोषाध्यक्षमा राज पुरी चयन गरेको छ।
सदस्यहरूमा देबु श्रेष्ठ (लुभेन) र उमेश घिमिरे (एन्तवेरपेन) राजु थापा, भरतजंग क्षेत्री, कुलबहादुर कार्की र सरोज आचार्य पनि सर्वसम्मत रूपमा चयन भएका छन्।केही सदस्यहरु मनोनित गर्न बाँकी छ।
सन् २००५ मा बेल्जियम गएका दनै रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन्। उनी सहितको टोलीले ‘फुड एसिया’ पनि सञ्चालन गरेको छ।
बेल्जियममा व्यवसाय गरिरहेका नेपालीहरूका लागि सहजीकरण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको दनैले बताएका छन्।
‘बेल्जियममा व्यवसाय गर्न चाहने र गरिरहेकालाई भाषाले समस्या पार्छ। कतिपय प्रशासनिक प्रक्रियामा अफ्ठ्यारो समेत परेको छ, जसले गर्दा व्यवसाय सोचेअनुसार अघि बढ्न सकेको छैन,’ उनले भने, ‘नेपाली व्यवसायी सहज हुने खालका जानकारीमूलक काम गर्न जरुरी छ। त्यस्तै बेल्जियमका नेपाली व्यवसायीले नेपालमा पनि लगानीको सम्भावना खोजेका छन्। मेरो नेतृत्वको समितिले यसको सम्भावना खोजी गर्ने प्रयास गर्छ।’