युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ (एसएनएचपिइ) ले नेपाल मेडिकल काउन्सिलले १७ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गरेकोप्रति चिन्ता व्यक्त गरेको छ।
काउन्सिलले २०८३ साल बैशाख ११ गते सार्वजनिक गरेको सूचनामा ती चिकित्सकहरूको नाम दर्ता अभिलेखबाट हटाइएको उल्लेख गरिएको थियो।
नेपाल मेडिकल काउन्सिल ऐन (२०२०), नियमावली (२०२४) तथा एनआरएन चिकित्सकसम्बन्धी नियम (२०८१) अनुसार उक्त निर्णय गरिएको भए पनि ती प्रावधानहरूले नेपालको स्वास्थ्य आवश्यकता र एनआरएन चिकित्सकहरूको योगदानलाई पर्याप्त रूपमा समेट्न नसक्ने एसएनएचपीईको भनाइ छ।
यस्तो कदमले एनआरएन चिकित्सक र नेपालका स्वास्थ्य संस्थाबीचको सहकार्यमा नकारात्मक असर पार्ने एसएनएचपीईका अध्यक्ष डा. बिनय श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘यसले ज्ञान आदानप्रदान, शैक्षिक सहकार्य र विशेष स्वास्थ्य सेवाका अवसरहरू घट्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ, 'दर्ता खारेजजस्ता संवेदनशील विषय सार्वजनिक रूपमा राख्नु उपयुक्त होइन। यसले चिकित्सकहरूको गोपनीयता र व्यावसायिक प्रतिष्ठामा असर पार्न सक्छ।’
विज्ञप्तिमा नेपाल सरकार र नेपाल मेडिकल काउन्सिललाई सम्बन्धित कानुनी प्रावधानहरूको पुनरावलोकन गर्न आग्रह गरिएको छ।
‘नागरिकताको आधारमा चिकित्सकहरूको दर्ता खारेज नगर्न र स्वास्थ्यकर्मीहरूको अधिकार तथा सम्मानको संरक्षण गर्न ध्यान दिन आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।