युरोपियन मुलुक अस्ट्रियामा अध्ययन, रोजगारी, व्यापार, व्यवसाय लगायतका लागि नेपालीहरू पुग्ने गरेका छन्।
नेपाली डायस्पोरा मेनस्ट्रिम इन्टिग्रेसन एनआरएनए आइसिसीकी अध्यक्ष बाबा राजेश्वरी थापाका अनुसार हाल त्यहाँ विभिन्न सिलसिलामा पुगेका १५०० देखि दुई हजार हाराहारी नेपाली छन्।
'नेपालीहरू धेरै सपना बोकेर यहाँ आउँछन्। पहिला विद्यार्थीका रूपमा आउँथे, पछिल्लो समय कामका लागि पनि आउँछन्। कतिपय यहाँ बस्नेहरूसँग बिहे गरेर आउनेहरू छन्,' उनले भनिन्।
राजेश्वरी आफै पनि बिहेपछि अस्ट्रिया पुगेकी हुन्।
अस्ट्रियामा खासगरी सूचना प्रविधि (आइटी), मेडिकल, बिजनेस, होटल म्यानेजमेन्ट लगायत विषय पढ्न नेपालीहरू जान्छन्। त्यहाँ काम गर्दै पढ्न पाउने सुविधा छ। विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउँछन्। तर काम गर्न अनुमति लिनुपर्छ।
त्यति काम गर्न पाउँदा ७०० युरो जति कमाइ हुने राजेश्वरीले बताइन्। त्यसैले त्यति कामले पढाइ र अन्य खर्च जुटाउन गाह्रो पर्ने उनको भनाइ छ।
'पढाइ, खाने, बस्ने सबै खर्च जोड्दा त्यति काम र कमाइले पुग्दैन। त्यही भएर परिवारले पढ्न पठाउँदा पहिल्यै यो कुरामा ध्यान दिनुपर्छ,' उनले भनिन्।
अस्ट्रियामा डाक्टर, नर्स तथा आइटी क्षेत्रमा कामका लागि जाने नेपाली पनि धेरै छन्। विभिन्न प्रोजेक्टहरूमा पनि नेपालीहरू छन्। व्यावसायिक तथा प्राविधिक काम गर्नेहरूको कमाइ निकै राम्रो हुने उनले बताइन्।
उच्च दक्षता भएका आप्रवासी श्रमिकहरू (हाइली क्वालिफाइड वर्कर) लाई अस्ट्रियाले रेड–ह्वाइट–रेड कार्ड उपलब्ध गराउँछ। यो कार्ड इन्जिनियर, सूचना प्रविधि (आइटी) विशेषज्ञ, स्वास्थ्यकर्मी, प्राविधिक लगायतलाई प्रदान गरिन्छ।
यो कार्ड लामो समयसम्म अस्ट्रियामा काम गर्न र बस्न अनुमति हो।
यस्तो कार्ड पाएपछि परिवारका सदस्य लैजान पाइन्छ। पछि स्थायी बसोबासका लागि पनि बाटो खुल्छ।
अस्ट्रियामा होटल, रेस्टुरेन्ट लगायत आफ्नै पेसा, व्यवसाय गरेर बस्ने नेपालीहरू पनि छन्।
योसँगै पछिल्लो समय मौसमी कामका लागि 'सिजनल' वर्करका रूपमा पनि ठूलो संख्यामा नेपालीहरू जाने गरेका छन्। सिजनल वर्करका रूपमा जाने नेपालीहरू भने ठगिने गरेका घटना पनि बाहिरिएको राजेश्वरीले बताइन्।
अस्ट्रियामा मौसमी काममा अदक्ष श्रमिकहरू जान्छन्। यस्तो काम वर्षमा केही महिना पाइन्छ। कामको अवधि सकिएपछि आफ्नै देश फर्किनुपर्छ।
'यहाँ वर्षमा एक बाली मात्रै कृषि उब्जाउ हुन्छ। धेरैजसो नेपालीहरू सिजनल कामका लागि यहाँको कृषि तथा पर्यटन क्षेत्रमा आउँछन्। कृषिमा गहुँ खेती, फर्सी, स्ट्रबेरी लगायत हुन्छ। यो काममा आउने क्रममा कतिपय नेपाली ठगिएको सुनिन्छ,' उनले भनिन्।
म्यानपावर तथा एजेन्टहरूले सिजनल भिसामा गएर पनि अस्ट्रियामा पिआर पाइने प्रलोभन देखाएर पठाउने गरेको पाइएको उनले गुनासो गरिन्।
'पछिल्लो समय ६ महिनापछि पिआर पाइन्छ, परिवार लैजान मिल्छ भनेर झुक्क्याएर धेरै पैसा लिएर पठाउने गरेको भेटिएको छ। तर सिजनल काममा त्यस्तो केही सुविधा हुँदैन। जति समयको भिसा हो, भिसा अवधि सकिएपछि आफ्नै देश फर्किनुपर्छ,' राजेश्वरीले भनिन्।
अस्ट्रिया कृषिजन्य उपजहरू आयातमा निर्भर छ। यो मुलुकले धेरैजसो मेसिनरी सामग्री, हातहतियार तथा विभिन्न विकास आयोजनाहरूका लागि चाहिने सामग्री उत्पादन गर्छ र निर्यात गर्छ।
यो देशको मुख्य भाषा जर्मन हो। यहाँ जानेले अनिवार्य रूपमा जर्मन भाषा सिक्नुपर्छ।
जर्मन भाषाको पनि विभिन्न तह हुन्छ। ए–वान सुरूआती हो। सी–वान भयो भने जागिर पाउन सजिलो हुन्छ। बोलिचालीका लागि पनि धेरै राम्रो हुने उनले बताइन्।
आर्थिक हिसाबले निकै अगाडि रहेको अस्ट्रियाको जीवनशैली आकर्षक छ। कमाइसँगै शिक्षा, स्वास्थ्य, बीमा, सामाजिक सुरक्षा लगायत पाटोमा पनि निकै राम्रो रहेको राजेश्वरी बताउँछिन्।
'पिआर पाइसकेकालाई स्वास्थ्य बीमा सुविधा निकै राम्रो छ। बच्चा पढाउन पैसा लाग्दैन। बच्चाले भत्ता पनि पाउँछन्। यहाँ काम गर्ने सबैले एउटा उमेर हदपछि पेन्सन पाउँछन्,' उनले भनिन्।
नेपालबाट अध्ययन तथा विभिन्न सिलसिलामा त्यहाँ पुगेकाहरू कमै मात्र नेपाल फर्किने गरेको पाइन्छ। धेरैजसो उतै सेटल भएर बस्ने र कमै संख्यामा मात्रै त्यहाँको सीप र पुँजी लिएर नेपाल फर्किने गरेका छन्।
अस्ट्रियामा अदक्ष श्रमिककै मासिक न्यूनतम १५५० युरो कमाइ हुन्छ। दक्ष श्रमिकहरूको कमाइ निकै आकर्षक भएको थापा बताउँछिन्। अस्ट्रिया खर्चिलो पनि भएको उनले बताइन्।
'तर धेरै नेपालीहरू समूहमा बस्ने गरेकाले कमाएको पैसा बचाएर जान्छन्,' उनले भनिन्।
त्यहाँको सेवासुविधा आकर्षक भएकै कारण धेरै नेपालीहरूको रोजाइमा पर्ने गरेको छ अस्ट्रिया। विभिन्न मुलुकको बाटो र अवैध प्रक्रिया हुँदै छिर्नेहरू समेत भेटिन्छन्।
तर पछिल्लो समय युरोपियन मुलुकहरूमा अवैध प्रवेश तथा बसोबासमा कडाइ गरिएका कारण यस्तो संख्यामा कमी आएको थापाको भनाइ छ।