डा. भगवान यादव हाल फिनल्यान्डको एस्पो सहरमा बस्छन्। उनी पेसाले डेटा साइन्टिस्ट हुन्।
डेटा साइन्टिस्ट भन्नाले डेटा विश्लेषण गरेर नयाँ तथ्य, प्रवृत्ति र समाधान खोज्ने विज्ञ भन्ने बुझिन्छ।
उनी फिनल्यान्डस्थित इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन फिनल्यान्ड (एफआइएमएम) मा अनुसन्धान इन्फ्रास्ट्रक्चर विशेषज्ञका रूपमा कार्यरत छन्।
नर्डिक इएमबिएल पार्टनरसिप फर मोलिक्युलर मेडिसिन अन्तर्गत फिनल्यान्डको नोडका रूपमा रहेको उक्त संस्था अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र हो।
यसको कार्यालय हेलसिन्की सहरमा छ।
'म यो संस्थामा डेटा साइन्टिस्टको काम गर्छु,' डा. भगवानले भने, 'यहाँ विभिन्न युनिटहरू छन्। त्यसमध्ये म जिनोमिक्स युनिटमा काम गर्छु।'
यो युनिटमा ३५ देखि ४० जना अनुसन्धानकर्ता छन्। जसमा अधिकांश फिनिश नागरिक छन्।
उक्त युनिटमा डा. भगवान बायो सिक्वेन्सिङ डाटा विश्लेषण र चिकित्सा सम्बन्धी अनुसन्धानमा काम गर्छन्।
'यहाँ विशेषगरी उपचार कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गरिन्छ,' उनले भने।
उनका अनुसार यहाँ प्रायः क्यान्सरका बिरामीका नमूना आउँछन्। मान वसम्बन्धी अन्य जैविक नमूनाहरूमा पनि मोलिक्युलर स्तरको अनुसन्धान गरिन्छ।
बायो नमूनाहरूको मोलिक्युलर प्रोफाइलिङ गरी विस्तृत विश्लेषण गरेर उपचारका लागि उपयुक्त विकल्पहरू पहिचान गरिन्छ।
अनुसन्धान केन्द्रबाट प्राप्त नतिजाको विश्लेषण गरी अन्तिम नतिजा सम्बन्धित अनुसन्धान समूहलाई हस्तान्तरण गरिने डा. भगवानले बताए।
उनी सन् २०११ मा विद्यार्थी भिसामा हेलसिन्की युनिभर्सिटीमा पिएचडी गर्न गएका हुन्। उनले त्यहाँ चिकित्सा संकाय अन्तर्गत कम्प्युटेसनल एन्ड सिस्टम्स मेडिसिनमा अध्ययन पूरा गरे।

'पिएचडी तहको अध्ययन खर्च विश्वविद्यालयले नै बेहोर्छ,' उनले भने, 'सरकारी मापदण्ड अनुसारको पैसा दिन्छन्। त्यो पैसाले खान, बस्न, पढ्न सबै पुग्छ। अझ बाँकी पनि हुन्छ।'
पिएचडीपछि उनले पोस्टडक्टरल अनुसन्धानकर्ता (पोस्ट डक) का रूपमा मेटाबोलोमिक्स रिसर्च युनिटमा काम गरेका थिए। त्यसपछि पिएचडी विद्यार्थी, पोस्टडक अनुसन्धानकर्ता हुँदै उनी सन् २०१९ देखि इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन फिनल्यान्ड संस्थामा स्पेसलिस्टका रूपमा कार्यरत छन्।
'पिएचडी विद्यार्थी, पोस्ट डक रिसर्चर र त्यो सकेपछि स्पेसलिस्टको रूपमा काम गर्ने हो,' उनले भने, 'यहाँ विशेषज्ञका रूपमा काम गरेको सात वर्ष भएछ।'
उनका अनुसार उनी उक्त संस्थामा अध्ययन र अनुसन्धानका लागि जाने पहिलो नेपाली विद्यार्थी हुन्। यस क्षेत्रमा काम गर्ने नेपालीहरूको संख्या कम छ। हाल उक्त संस्थामा उनीसहित चार जना नेपाली काम गर्छन्।
भगवानले गरेका अनुसन्धान कार्यहरू अहिले पनि बिरामीको उपचार प्रक्रियामा प्रयोग हुँदै आएका छन् जसलाई उनी जीवनकालको सबैभन्दा ठूलो उपलब्धि मान्छन्।
'मैले गरेका अनुसन्धान कार्यहरू अहिले पनि बिरामीको उपचार प्रक्रियामा प्रयोग हुन्छन्, यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो,' उनले खुसी हुँदै सुनाए।
हालसम्म उनका करिब ३५ वटा अनुसन्धान पत्र (रिसर्च पेपर) प्रकाशित छन्।

आगामी दिनमा पनि यही क्षेत्रमा निरन्तरता दिने उनको योजना छ। आवश्यकता अनुसार थप अवसर पाएमा कम्पनीतर्फ पनि काम गर्न सकिने उनको भनाइ छ।
डा. भगवानका अनुसार प्रायः यहाँ नेपालीहरू विद्यार्थी भिसामा आउँछन्। तर समयक्रम अनुसार उनीहरू पढाइमा पर्याप्त ध्यान नदिई अन्य गतिविधितर्फ बढी केन्द्रित हुने र छिट्टै 'सेटल' हुने प्रवृत्ति देखिन्छ। यसले पछि रोजगारीका अवसरमा कठिनाइ निम्त्याउने देखिएको छ।
'प्रायः सबै ऋण लिएर आउने हो। कमाउनुपर्ने बाध्यता हुन्छ,' उनले भने, 'तर सुरूबाटै काममा र पढाइमा ध्यान नदिँदा यसले पछि रोजगारीका अवसरमा कठिनाइ आएको देखेको छु।'
विद्यार्थीहरूले सुरूदेखि नै अध्ययनमा निरन्तरता र फोकस बढाए भविष्यमा राम्रो करिअर बनाउन सहज हुने उनको सुझाव छ।