ग्लोबल नेपाली
जनकपुरका जयकृष्ण ठाकुरले सन् २०२३ देखि जर्मनीको बर्लिनमा युरोपियन इन्स्टिच्युट अफ इनोभेसन अन्टरप्रेनरसिप एन्ड टेक्नोलोजी (इआईआईटी) सञ्चालनमा ल्याएका छन्।
अहिले उक्त कलेजमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन्। युनिभर्सिटीको संरचनाअनुसार अघि बढेको इआईआईटीमा टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, बिजनेस एन्ड इन्फर्मेसन, हेल्थ केयर म्यानेजमेन्ट, आइटी लगायतका विषयको पढाइ हुन्छ।
सन् २०१० मा पानीको स्रोत व्यवस्थापन विषयमा पिएचडी गर्न ठाकुर जर्मनी पुगेका थिए। त्यसअघि उनले नेदरल्यान्डमा १८ महिना अध्ययन गरेका थिए। भारतको जवहरलाल नेहरू युनिभर्सिटीबाट मास्टर्स, त्रिचन्द्र कलेजबाट स्नातक तथा १२ कक्षासम्मको अध्ययन जनकपुरमै गरेका ठाकुरले नेपालमा रहँदा स्कुल तथा कलेजहरूमा अध्यापन पनि गरेका थिए।
सन् २००५ मा भारत पढ्न जानुअघि उनले ६ महिना विश्व भाषा कलेजमा जर्मन भाषा पढेका थिए। भारत पुगेपछि युरोप, अमेरिका, रूस लगायतका देशका विद्यार्थीहरूसँग उनको भेट भयो। त्यसपछि आफूलाई अझ अगाडि बढाउन विदेशमा अध्ययन आवश्यक रहेको महसुस भएको उनले बताए। आफैले केही गर्नुपर्छ भन्ने सोचका कारण विदेश जान चाहना बलियो बन्दै गएको उनको भनाइ छ।
सन् २०१३ मा जर्मनीबाट पिएचडी सकेपछि ठाकुरले वातावरण तथा सूचना प्रविधिको क्षेत्रमा काम गरे।
‘पानीको स्रोत व्यवस्थापन विषयमा पढेको भए पनि मैले प्रविधिको क्षेत्रमा धेरै काम गरेँ। पिएचडी पढ्दै गर्दा मैले कम्प्युटर सफ्टवेयर र आइटीको पनि अध्ययन गरेको थिएँ,’ उनले भने, ‘नेपालमा ठाकुर इन्टरनेसनल स्थापना गरेर सन् २०१३ देखि मैले आउटसोर्सिङ समेत सुरू गरेँ। मोबाइल एप र वेबसाइट डिजाइनको काम हामीले गरेका थियौं।’
सन् २०१४ मा वातावरण तथा सूचना प्रविधि केन्द्र स्थापना गरेका थिए। यसअन्तर्गत उनले वातावरण तथा सूचना प्रविधिसम्बन्धी काम गर्दै आएका छन्।
उनलाई स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनमा विशेष चासो थियो। नेपाल सहित दक्षिण एसियाका विद्यार्थी जर्मनी जाने तर पढाइ र कामबीच ठूलो दूरी हुने अनुभव उनले गरेका थिए। यही दूरी कम गर्न आफूले क्याम्पस स्थापना गरेको उनले बताए।
‘नेपाली सहित दक्षिण एसियाका विद्यार्थीको पहिलो लक्ष्य जर्मनीको भिसा लिनु र दोस्रो लक्ष्य सस्तो कलेज खोजेर पास हुनु मात्र रहेको मैले पाएँ। कलेजले पनि विद्यार्थी त लिन्छन्, तर उनीहरूको भविष्यबारे खासै चिन्ता गर्दैनन्,’ उनले भने, ‘मैले स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनलाई अघि बढाउन सक्ने गरी इआइआइटी स्थापना गरेको हुँ। अब यसले विस्तारै गति लिइरहेको छ। यसबाट नेपाली विद्यार्थीका साथै दक्षिण एसियाकै विद्यार्थीलाई अघि बढाउने मेरो लक्ष्य हो।’
बेलायत बाहेकका युरोपियन देशहरूमा युनिभर्सिटीको संरचनामा जाने गरी कलेज खोल्ने आफू पहिलो नेपाली रहेको उनको दाबी छ।
उनका अनुसार दुई वर्षअघि स्थापना भएको कलेजले आफ्नो सञ्चालन खर्च उठाइसकेको छ। त्यसैले फ्रान्स र माल्टामा समेत कलेज स्थापना गर्ने अन्तिम तयारी भइरहेको उनले बताए। साथै, मोन्टेनेग्रोमा मेडिसिन फ्याकल्टी सञ्चालन गर्न प्रक्रिया सुरू गरिएको पनि उनले जानकारी दिए।
‘सीमित स्रोत–साधनमा कसरी धेरै लगानी गरेर प्रतिफल लिन सकिन्छ भन्नेमा मलाई राम्रो ज्ञान छ। त्यसैले पनि मैले व्यवसायलाई अघि बढाउन सकेको छु,’ उनले भने, ‘म सातै दिन आफ्नो काममा खटिन्छु। त्यसैले कलेज सञ्चालनको छोटो समयमै अन्य क्षेत्रमा पनि अघि बढ्ने साहस आएको हो।’
अत्याधुनिक विकास, बलियो अर्थतन्त्र र सामाजिक सुरक्षाका कारण जर्मनी नेपाली विद्यार्थीका लागि महत्वपूर्ण गन्तव्य हुन सक्ने उनको अनुभव छ। तर जर्मनी आउँदा भाषा र सीपमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
प्राविधिक शिक्षा लिएर त्यसलाई सीपसँग जोड्न सके जर्मनीमा अवसर धेरै रहेको भन्दै उनले आफ्नो प्रयास त्यस्तै जनशक्ति निर्माणमा केन्द्रित रहेको बताएका छन्।