ग्लोबल नेपाली
गुल्मीका नविन भट्टराई प्रवीणता प्रमाणपत्र तह (प्लस–टू सरह) को पढाइ सक्नासाथ सन् १९९७ मा भारत गए।
भारतमा उनले डान्सबार रेस्टुरेन्टमा काम गरे। १० वर्षसम्म काम गरेपछि उनले चितवनमा कुकको तालिम लिए अनि फिनल्यान्ड गए।
‘भारतको डान्सबारमा मैले १० वर्षसम्म वेटरको काम गरेँ। त्यो समयमा टिप्ससहित गरेर मासिक २४/२५ हजार कमाउँथेँ। भारतमै हुँदा म गुल्मीबाट चितवन बसाइँ सरेँ,’ उनले भने, ‘चितवनको पढाइ अनि भारतको अनुभवले मलाई फिनल्यान्ड आउन सजिलो भयो। आफन्तको सहयोगमा म रेस्टुरेन्टमा काम गर्ने गरी सन् २००७ मा फिनल्यान्ड आएँ। अहिलेसम्म यतै छु।’
२००७ मा फिनल्यान्ड पुगेका भट्टराईले ५ वर्षसम्म कुक र २ वर्ष वेटरको काम गरे। त्यसपछि भने आफैले रेस्टुरेन्ट चलाउने अठोट गरे।
अहिले तीन वटा पार्टनरसीपमा र एउटा आफ्नै गरेर चार वटा रेस्टुरेन्ट छन्। भाषा अनि त्यहाँको नियम–कानुन नबुझ्दा सुरूआती दिनमा अप्ठ्यारो भए पनि बिस्तारै सहज हुँदै गएको भट्टराईले बताए। फिनल्यान्डको हेलसिन्की बस्ने भट्टराईले एस्पोमा रेस्टुरेन्ट चलाएका छन्।
‘अर्कैको देश अनि भाषा अर्कै भएपछि अप्ठ्यारो हुनु स्वाभाविक हो। तर मैले फिनिस भाषा अध्ययन गरेँ। त्यसपछि बिस्तारै सहज हुँदै गयो,’ उनले भने, ‘हाम्रो रेस्टुरेन्टका ग्राहक पनि फिनिस नै भएकाले कुरा गर्न सहज हुँदै गयो। हामीले बेच्ने खाना इन्डियन र नेपाली हो।’
विशेष गरेर रेस्टुरेन्टमा नान रोटी, तरकारी, दालभात, मःम, चाउमिन लगायत पाइन्छ। रेस्टुरेन्टमा आउने धेरै ग्राहक फिनल्यान्डकै स्थानीय रहेको उनले बताए। अर्थात् उनले फिनिसहरूलाई इन्डियन र नेपाली स्वाद बेचिरहेका छन्।
अहिले व्यवसाय पहिलाजस्तो छैन। कोभिडपछि फिनल्यान्डको आर्थिक अवस्था कमजोर बन्दै गएकाले त्यसको प्रभाव व्यवसायमा परेको उनले बताए। व्यवसाय गरेपछिका १० वर्ष धेरै राम्रो भए पनि पछिल्लो समयमा व्यापार गर्न कठिन हुँदै गएको छ। यद्यपि पुरानो व्यवसाय भएकाले मात्र टिक्न सकिएको उनले बताए।
भट्टराईका अनुसार फिनल्यान्डमा १५ हजारको हाराहारीमा नेपाली छन्। पछिल्लो समयमा गएकाहरूले विभिन्न क्षेत्रमा काम गरे पनि पुरानाहरू भने व्यवसायमा केन्द्रित छन्। व्यवसाय गर्नेहरूमध्ये पनि धेरै होटल रेस्टुरेन्टमै छन्।
होटल व्यवसायसँगै उनी गीतसंगीतमा समेत सक्रिय छन्। केही समयअघि मात्र उनले ‘गुल्मी पहाडी मेरो गाउँ’ लोकदोहोरी गीत निकालेका छन्।
लोकदोहोरी प्रतिष्ठान युरोप महाशाखाको उपाध्यक्ष भइसकेका भट्टराई अहिले लोकदोहोरी प्रतिष्ठान कलाकार कल्याणकारी कोषका केन्द्रीय सदस्य छन्।
यसअघि आफूले ‘गुल्मीबाट बटौली झरेकी’, ‘आमा’ लगायत बोलका गीतहरू निकालेको उनले बताए।
फिनल्यान्डको आर्थिक अवस्था खस्किँदै गएको भन्दै भट्टराईले त्यहाँ जानुभन्दा पहिला धेरै बुझ्नुपर्ने बताए। चिसो ठाउँ भएकाले त्यहाँ केही समय आलुको खेती राम्रो हुन्छ तर अरू अन्न उत्पादन हुँदैन। त्यहाँको मुख्य व्यवसाय भनेको काठ र मोटर पार्ट्स रहेको उनले बताए।
‘आफू त्यहीँ बसेर अरूलाई नआइज भन्यो भन्ने लाग्न सक्छ। तर यहाँ अहिले कठिन हुँदै गएको छ। काम पाउन कठिन छ भने खान र बस्न समेत महँगो छ,’ उनले भने, ‘पहिला यहाँ शिक्षा निःशुल्क थियो। तर अहिले चर्को शुल्क लगाउन थालिएको छ। कमाइको आधारमा कर उठाउने भएकाले उपचारका लागि भने अप्ठ्यारो छैन।’
भट्टराई श्रीमती अनि छोराछोरीसँगै बस्छन्। जेठी छोरीको बिहे भइसकेको छ। उनी अहिले न्युजिल्यान्ड बस्छिन्। श्रीमती र कान्छी छोरीले रेस्टुरेन्ट हेर्छन् भने छोरा स्कुल पढ्दै छन्।
कुनै दिन नेपालमै लगानीको वातावरण बन्छ भनेर आफूले फिनल्यान्डको पासपोर्ट समेत नलिएको उनले बताए।
‘नेपालमा साथीहरूसँग मिलेर डाइपर उद्योगमा लगानी गरेको छु। राम्रो सम्भावना देखियो भने यता छोडेर उतै आउने हो,’ उनले भने, ‘मसँगै मेरो परिवार पनि फर्किन तयार छ। आशा गरौँ, चाँडै यो अवसर मिल्नेछ।’