हेटौंडाका विवेक गौतम दुई वर्षअघि साउदी अरबबाट स्वदेश फर्के। विदेश जानुअघि उनी होटल चलाउँथे।
कोरोनाको समयमा होटल चल्न सकेन, बन्द भयो। थाप्लामा ऋण थियो। त्यसकै रनाहामा उनी साउदी अरब पुगे।
दुई वर्ष साउदी अरबमा काम गरेर उनी २०८० साल भदौमा नेपाल फर्के। त्यस अवधिमा उनले आठ लाख रूपैयाँ बचत गरे।
'यही पैसाले ऋण तिर्छु र बचेको पैसा लगाएर कुनै व्यवसाय गर्छु भन्ने सोचले फर्केँ,' विवेकले भने।
विदेशबाट फर्केपछि उनले आफ्नो दाइको सैलुनमा काम गरे। त्यही सीपका आधारमा चार महिनाअघि श्रीमतीसँग मिलेर काठमाडौंमा आफ्नै सैलुन खोलेका छन्।
'सैलुनमा ११ लाख रूपैयाँ लगानी भएको छ। यसमध्ये ३० प्रतिशत आफ्नै पैसा हो, ७० प्रतिशत बैंकबाट कर्जा लिएको हो,' उनले भने।
वनस्थली चोकबाट चमती जाने बाटोमै छ गौतम दम्पतीले खोलेको 'बी स्टार युनिसेक्स एकेडेमी एन्ड सैलुन'। यहाँ महिला र पुरूष दुवैले सेवा पाउँछन्।
सैलुनमा कपाल–दारी र सौन्दर्य सेवा सम्बन्धी सबै काम हुन्छ। मेनिकेयर, पेडिकेयर सेवा पनि छ।
विवेक–रञ्जिता दम्पतीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) बाट सैलुन सम्बन्धी परीक्षा उत्तीर्ण गरेका छन्। उनीहरू सैलुनमा तालिम पनि दिन्छन्। तालिम लिन महिलाको हकमा एक पटकमा कम्तीमा पाँच जनाको समूह चाहिन्छ। पुरूषका हकमा एक जनाले मात्र पनि पाउँछन्।
'महिलाहरू समूहमा हुँदा सिकाइ सजिलो हुन्छ। उनीहरूले एकअर्कामै सिकाइ अभ्यास गर्न पाउँछन्,' विवेकले भने, 'पुरूषको तालिममा डमी प्रयोग गरिने भएकाले एक जनालाई मात्रै पनि सिकाउन सकिन्छ।'
प्रायः महिलाको तालिम ब्युटी (सौन्दर्य) सम्बन्धी हुने भएकाले कोर्स एक महिनादेखि एक वर्षसम्मको हुन्छ। पुरूषको दुई महिनाको हुन्छ। तालिम सकेर तीन महिना अभ्यास गरेपछि आफै सैलुन खोल्न सक्ने हुन्छन्।
तालिमका लागि आवश्यक सामग्री एकेडेमीले नै उपलब्ध गराउँछ। शुल्क कोर्स र अवधि अनुसार निर्धारण गरिएको छ। हाल एकेडेमीमा तीन जना पुरूष तालिम लिँदै छन्।

मध्यम परिवारमा हुर्केका विवेकको संघर्षको कथा लामो छ।
उनका चार जना दाजुभाइ छन्। आमाबुबा किसान हुन्। विवेक हेटौंडामा कक्षा १० को एसएलसी परीक्षा दिएर २०६९ सालमा काठमाडौं आए। उनीभन्दा अघि माइला दाइ आएका थिए।
विवेक काम गर्दै पढ्ने विचारले काठमाडौं आएका थिए तर उनले सोचेजस्तो भएन। दाजुभाइ सँगै बस्ने विचार थियो, त्यो पनि मिलेन।
'दाइ अलिक पहिले आउनुभएको थियो तर काम गर्ने ठाउँमै बस्नुहुन्थ्यो। गेस्ट हाउसमा काम गर्दै, सैलुनको काम सिक्नु हुन्थ्यो,' उनले भने।
दाइसँग बसाइ नहुने भएपछि विवेकले एउटा सानो कोठा लिए। दाइकै सहयोगमा ठमेलस्थित एउटा चाइनिज रेस्टुरेन्टमा काम थाले।
रेस्टुरेन्टमा १२ घन्टा खट्नुपर्थ्यो, बिहान ९ देखि बेलुका ९ बजेसम्म। पढाइ हुन सकेन। उनले त्यहाँ एक वर्ष काम गरे। विभिन्न परिकार बनाउन सिके। त्यहाँको आम्दानीले बस्न र खान मात्रै ठिक्क हुने भएपछि विदेश जाने योजना बनाउन थाले।
त्यही समय भूकम्प आयो, २०७२ साल वैशाख १२ गते। भूकम्पले उनको घर भत्कायो।
'अनि त विदेश नगई धरै भएन। सबै चाँजोपाँजो मिलाएर २०७२ असारमा युएई (संयुक्त अरब इमिरेट्स) को दुबई गएँ,' उनले भने, 'दुबई जाँदासम्म एक लाख २० हजार रूपैयाँ खर्च भयो।'
दुबईमा उनी काम गर्ने कम्पनीले फलफूल र तरकारी सुपर मार्केटमा पठाउँथ्यो। उनले कटिङ र प्याकेजिङको काम गर्नुपर्थ्यो। तलब मासिक आठ सय युएई दिराम थियो। बस्न–खानमा खर्च थिएन, कम्पनीले नै दिएको थियो।
त्यो कम्पनीमा नेपाल, भारत, पाकिस्तान, नाइजेरिया लगायत देशका सात सय जनाभन्दा बढी कर्मचारी थिए। तीमध्ये चार जना जति नेपाली पनि भएकाले कामको वातावारण रमाइलो थियो।
उनले त्यहाँ २६ महिना काम गरे। काम ठिकै थियो तर फलफूल र तरकारी स्टोर गर्ने ६ देखि ८ डिग्री सेल्सियस तापक्रमको चिसोमा काम गर्न असहज भएपछि उनी घर फर्के।
'दुबईमा काम गरेर ९ लाख रूपैयाँ कमाएको थिएँ। त्यही पैसाले गाउँमा घर बनाएँ,' उनले भने।
उताबाट फर्केपछि विवेक पढाइका लागि कलेजमा भर्ना भए। बिहान कलेज जान्थे, दिउँसो आफ्ना माइला दाइसँग हेयर कटिङ (कपाल काट्ने काम) काम सिक्थे। विवेकले यसरी दुई वर्ष बिताए। कक्षा बाह्रको पढाइ पूरा भयो, हेयर कटिङ सिके। त्यही समय उनले रञ्जिता अधिकारीसँग बिहे गरे।

बिहे भएपछि दम्पती मिलेर एउटा होटल खोल्ने योजना बनाए। तर लगानीका लागि पैसा थिएन। ऋण लिएरै भए पनि होटल खोल्ने निष्कर्षमा पुगे।
अनि २४ प्रतिशत ब्याजमा व्यक्तिसँग दुई लाख रूपैयाँ ऋण लिए।
पैसा बन्दोबस्त भएपछि मासिक ६५ सय रूपैयाँ भाडा तिर्ने गरी काठमाडौंको कपनमा एउटा सानो सटर भाडामा लिए। एक वर्ष ठमेलको रेस्टुरेन्टमा काम गरेका विवेक नेपाली र चिनियाँ परिकार बनाउन सिपालु थिए। रञ्जिताले पनि मेहनत गरिन्।
प्रतिफल राम्रै थियो तर काम सुरू गरेको एक वर्षमै कोरोना फैलियो। होटल बन्द भयो।
२०७६ चैत दोस्रो साता लकडाउन सुरू भयो। होटलमा ग्राहक आएनन्। भाडा समेत तिर्ने उपाय नभएपछि सटर खाली गरिदिए। महँगो ब्याजमा लिएको ऋण तिर्ने मेसो मिल्दै थियो। होटल बन्द भएपछि ऋण तिर्ने उपाय भएन।
माइला दाइको सैलुन कपनमै थियो। रञ्जिताका लागि दाइकै सैलुनमा काम सिक्ने प्रबन्ध मिलाएर विवेक २०७८ साउनमा साउदी अरब गए। उनी इटालियन रेस्टुरेन्टमा कमी–३ तहको काममा गएका थिए। तलब मासिक १२ सय रियाल पाउँथे। खानेबस्ने प्रबन्ध आफै गर्नुपर्थ्यो।
त्यहाँ उनले इटालियन पास्ता, बर्गर, पेस्ट्री बेकरी बनाउन सिक्ने अवसर पनि पाए। काम ठीकै थियो तर पारिश्रमिकमा चित्त नबुझेपछि दुई वर्ष काम गरेर २०८० भदौमा नेपाल फर्के।
'फर्केर दाइको सैलुनमा काम गरेँ। त्यही एउटा सैलुनको भर परेर पनि भएन। फेरि विदेश जान मन भएन। सैलुनमा अनुभव भएकाले हामीले पनि खोल्यौं,' विवेकले भने।
रञ्जिताका अनुसार सैलुन–ब्युटी पेसामा ग्राहकको विश्वास जित्न निकै गाह्रो छ।
सुरूमा ग्राहकको चित्त बुझाउन गाह्रो हुन्छ। तर एक पटक विश्वास जितेपछि दीर्घकालीन हुन्छ। काम मनपर्यो भने टाढाबाट पनि ग्राहक आउँछन्।
रञ्जिता सैलुनको कामसँगै पढाएलाई पनि अगाडि बढाइरहेकी छन्। २०७१ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले पढ्न पाएकी थिइनन्। विवेक विदेशबाट फर्केपछि पढ्न सुरू गरिन्।
'पहिले आर्थिक अवस्थाका कारणले पढ्न पाइनँ,' २६ वर्षीया रञ्जिताले भनिन्, 'अहिले कक्षा बाह्र कक्षाको परीक्षा दिएर बसेकी छु।'

सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com