स्ट्यानफोर्ड विश्वविद्यालयमा नेपालको विकासमा विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई कसरी प्रभावकारी रूपमा जोड्न सकिन्छ भन्ने विषयमा संवाद तथा कार्यशाला भएको छ।
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जीएनपीएन) ले आयोजना गरेको कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) का संस्थापक तथा अध्यक्ष डा. खगेन्द्र राज ढकालले 'नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप' विषयमा प्रस्तुति दिएको थिए।
कार्यक्रममा सहभागीहरूले नेपालले लामो समयदेखि डायस्पोरासँगको सम्बन्धलाई मुख्यतः रेमिटेन्ससँग जोडेर हेर्दै आएको भए पनि अब ज्ञान, अनुसन्धान, प्रविधि, पेशागत अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई पनि विकास प्रक्रियामा उपयोग गर्नुपर्ने धारणा राखेका थिए।
तीन घण्टा चलेको कार्यक्रममा नेपाली मूलका पेशाकर्मी, अनुसन्धानकर्ता, प्रविधिविज्ञ, उद्यमी, विद्यार्थी, सञ्चारकर्मी तथा नीति क्षेत्रमा चासो राख्ने व्यक्तिहरू सहभागी थिए। प्रस्तुति र त्यसपछिको कार्यशालामा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी नीति तथा सुशासन, अनुसन्धान तथा विश्वविद्यालय, नवप्रवर्तन तथा उद्यमशीलता, युवा नेतृत्व तथा मेन्टरसिप तथा डिजिटल नागरिक संलग्नताका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा डा. ढकालले प्रारम्भिक अध्ययनका केही निष्कर्ष पनि प्रस्तुत गरेका थिए।
अध्ययनअनुसार विदेशमा रहेका धेरै नेपाली नेपालका लागि योगदान गर्न इच्छुक देखिए पनि त्यसका लागि स्पष्ट संयन्त्र र सहज पहुँचको अभाव रहेको उल्लेख गरिएको थियो।
छलफलमा सहभागीहरूले नेपाल र डायस्पोराबीचको सम्बन्धलाई भावनात्मक सम्बन्धमा मात्र सीमित नराखी दीर्घकालीन सहकार्यको ढाँचामा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। त्यसका लागि विश्वसनीय प्लेटफर्म, संस्थागत संयन्त्र र सहकार्यका स्पष्ट माध्यम विकास गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा यो विषयमा थप काम अघि बढाउन संयुक्त रूपमा अवधारणा र कार्ययोजना तयार गर्ने प्रस्तावसमेत अघि सारिएको आयोजकहरूले बताएका छन्।