गैरआवासीय नेपाली संघ एनआरएनएको १७ औं युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ। आएरल्याण्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको संकल्प नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले जानकारी दिए।
आइतबार सम्मेलनबारे प्रारम्भिक जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेषगरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताए।
ड्युअल सिटिजनशिप दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडको विषय र गोर्खा भेटरन्सको अधिकारका बारेमा पैरवी गरिनेछ। साथै, डायस्पोराको राजनीतिक र नागरिक सहभागिताका विषयमा पनि बहस हुनेछ।
डायस्पोरामा रहेको पुँजीलाई कसरी नेपालको जलविद्युत, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा स्पेसिफिक छलफल हुनेछ। विशेषगरी अध्यक्षको १० अर्बको फ्ल्यागसिप कार्यक्रमु सँग जोडेर लगानीका क्षेत्र पहिचान गरिनेछ।
तत्कालीन लाभभन्दा पनि दीर्घकालीन आर्थिक वृद्धिलाई कसरी सस्टेन गर्ने भन्नेमा केन्द्रित रहेर २०३० एक्सन रोडम्याप निर्माण गरिनेछ।
सम्मेलनले संस्थाभित्रको आन्तरिक लोकतन्त्र र संरचनात्मक सुधारलाई पनि महत्त्व दिएको छ। अदालतको फैसला र पछिल्लो परिस्थितिपछि एनआरएनए अहिले इन्स्टिट्युसनल रिफर्मु र स्ट्रेटेजिक रिस्ट्रक्चरिङको प्रक्रियामा रहेको छ। यस पटक डेलिगेट्स प्रणाली र भोटिङ सिस्टममा आमूल परिवर्तन गरी सबै पञ्जीकृत सदस्यहरूले मतदान गर्न पाउने विधान कार्यान्वयनको दिशामा छलफल हुनेछ।