ग्लोबल नेपाली
विराटनगरका डा.विवेक रौनियार डेढ वर्षदेखि माल्दिभ्समा छन्। माल्दिभ्सको राजधानी मालेमा रहेको अब्दुल रहमान धोन कलेयफानु (एडिके) हस्पिटलको डिपार्टमेन्ट अफ न्यूरोलोजीमा रौनियार कन्सल्ट्यान्ट न्यूरोलोजिष्टका रूपमा कार्यरत छन्। उनका अनुसार यो अस्पताल माल्दिभ्सको सबभन्दा पुरानो र प्रतिष्ठित निजी अस्पताल हो।
झण्डै डेढ दशकसम्म काठमाडौं र काठमाडौं बाहिरका प्रतिष्ठित निजी अस्पतालहरूमा काम गरेका रौनियार कसरी माल्दिभ्स पुगे त?
उनको सिधा जबाफ छ- अवसर र कमाइ।
सँगै माल्दिभ्समा जान पनि सहज हुने उनले बताए।
'माल्दिभ्सको हकमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स भएपछि पुग्छ। एमबिबिएस पास गरेकाहरूलाई पनि पहिला परीक्षा दिन पर्दैनथ्यो। अहिले भने उनीहरूलाई परीक्षा जरूरी पर्छ,' उनले भने, 'हामीले अन्तर्वार्ता मात्र दिए पुग्छ। नेपालबाट धेरै टाढा पनि नभएको र अवसर पनि धेरै भएकाले म यता आएको हो।'
रौनियारका अनुसार माल्दिभ्समा १२ देखि १५ सय सम्म नेपाली चिकित्सकहरू काम गर्छन्। तीमध्ये २० प्रतिशत कन्सल्ट्यान्ट छन् भने अरू एमबिबिएस पास गरेर गएका छन्।
माल्दिभ्समा ७/८ वर्षदेखि मात्र चिकित्सा शिक्षा पढाइ सुरू भएकाले त्यहाँका स्थानीय चिकित्सक पनि कतिले नेपालमै पढेर गएको रौनियारले बताए।
नेपालमा रहँदा धेरै काम थोरै कमाइ अनि त्यो पनि समयमा नपाएपछि उनलाई विदेशिन मन लागेको हो।
'नेपालमा चिकित्सकहरूको खटाइ धेरै छ। एउटै चिकित्सकले धेरै बिरामी हेर्नुपर्छ। जसले गर्दा चिकित्सकले गुणस्तरीय सेवा पनि दिन सक्दैन,' उनले भने, 'चिकित्सकको वृद्धि विकासमा निजी अस्पतालका सञ्चालकलाई कुनै चासो छैन। उनीहरूको लागि चिकित्सकाबाट काम लिनु मात्र ठूलो कुरा हो।'
सरकारी अस्पतालमा काम गर्नेहरूले पनि त्यहाँको कमाइले नपुग्ने भएकाले निजीमा समेत काम गर्नुपर्ने बाध्यता रहेको रौनियारको भनाइ छ।
आफूले एमबिबिएस, एमडी सबै छात्रावृत्तिमै पढेको भन्दै डा.रौनियारले चिकित्सकको जागिर र आर्थिक सुरक्षा नहुँदा उनीहरू पलायन हुने क्रम पनि बढेको बताए।
'नेपालका अस्पतालहरूले चिकित्सकबाट काम लिने बाहेक अरू मतलब राख्दैनन्। खटाइ धेरै, कमाइ थोरै अनि छुट्टी पनि पाइँदैन भने जागिरको सुरक्षा पनि छैन,' उनले भने, 'म आफैले खोजेर माल्दिभ्स आएको हो। यहाँ कामको प्रेसर पनि छैन अनि कमाइ पनि राम्रो छ।'
उनका अनुसार माल्दिभ्समा कन्सल्ट्यान्ट चिकित्सकको सुरूआती तलब नै मासिक ३ देखि ४ हजार डलर हुन्छ। २ देखि ५ वर्षभित्र यो तलब पनि बढ्छ।हप्तामा ५ दिन मात्र काम हुन्छ भने बिदाको दिनमा र अतिरिक्त काम गरेको दोब्बर कमाइ हुन्छ। अस्पतालले नै बस्ने सुविधा दिन्छ अनि वर्षमा एक महिना अनिवार्य बिदा बस्नै पर्छ।
सन् २०११ मा न्युरोलोजीमा विशेषज्ञता हासिल गरेका डा. रौनियारले झण्डै डेढ दशक काम गर्दा पनि नेपालमा राम्रो भविष्य देखेनन्। तर अहिले भने उनी माल्दिभ्समा खुसी छन्। उनका अनुसार माल्दिभ्समा कामको सन्तुलन छ भने सेवा सुविधा पनि राम्रो छ। ओपिडीमा दैनिक १५ भन्दा धेरै बिरामी हेर्नु पर्दैन। सानो भूगोल अनि थोरै जनसंख्या भएको देश तर पर्यटन र माछा व्यवसायले आर्थिक रूपमा भने माल्दिभ्स बलियो हुँदै गएको छ।
'माल्दिभ्स युरोपियन स्तरको सेवा सुविधा दिने बाटोमा छ। त्यही सरहको त छैन तर नेपालको भन्दा धेरै राम्रो आर्थिक अवस्था छ। त्यसैले यहाँ हप्तामा ४० घण्टाभन्दा धेरै काम गर्नु पर्दैन,' उनले भने, 'नेपाल कुनै चिकित्सकले ७० घण्टाभन्दा धेरै काम गर्छ भने उसले कसरी रोगको पहिचान र उपचार सही तरिकाले गर्न सक्छ भनेर प्रश्नु उठ्नु स्वाभाविक हो।'
नेपाल र भारतमा अहिले पनि सय वर्ष अघिकै पाराले चिकित्सकलाई काम लगाइने उनले बताए।
रेजिडेन्ट डाक्टरको त सुत्ने र खाने टुंगो समेत नहुने भन्दै उनले यस्तो गर्दा बिरामीले सही उपचार पाउन कठिन हुने बताए।
माल्दिभ्समा भने तोकिएकोभन्दा धेरै काम लगाएमा अनि थोरै तलब दिएमा सरकारी निकायले कारबाही गर्ने उनले बताए।
'एउटा त नेपालमा ओपिडी चलाउने तरिका पनि ठीक भएन। ओपिडी सेवामा सीमित बिरामीलाई मात्र परीक्षण गरिन्छ। किनकि यस्ता बिरामीलाई आजको आजै हेर्नुपर्छ भन्ने हुँदैन,' उनले भने, 'आकस्मिकमा कुराउन हुँदैन तर ओपिडीमा तुरून्तै परीक्षण गराउनु पर्छ भन्ने हुँदैन। आज नभए भोलि अनि भोलि नभए पर्सी परीक्षण गर्दा हुन्छ। संसारका विकसित देशमा यस्तै अभ्यास गरिन्छ।'
नेपालमा एउटा चिकिसकले कति बिरामी हेर्ने भनेर कुनै मापदण्ड समेत नबनाइएको भन्दै उनले सरकारले यसलाई व्यवस्थित गराउनुपर्ने बताए।
माल्दिभ्सको कमाइ राम्रो नभए पनि नेपालको भन्दा धेरै राम्रो भएको उनको अनुभव छ। नेपालमा चिकित्सकको कमाइ तुलना गर्ने हो भने विश्वकै न्यून कमाइ हुने देश मध्येमा पर्ने उनको गुनासो छ।
'हामी कम्तिमा माल्दिभ्सको बाटोमा जान सक्नुपर्छ। चिकित्सकले आफ्नै कमाइमा घरपरिवार पाल्न सक्ने हुनुपर्छ,' उनले भने, 'बिरामी परीक्षण गर्ने पनि एउटा सीमा तोक्नुपर्छ। अनि मात्रै बिरामी र चिकित्सक दुवै सन्तुष्ट हुन्छन्।'
माल्दिभ्समा काम गरे पनि नेपाल र त्यहाँको रोगको प्रकृति र उपचारको शैली उस्तै हुने डा. रौनियारको अनुभव छ।
उनका अनुसार प्यारालाइसिस, छारे रोग, माइग्रेन, पक्षघात, डिमेन्सिया लगायतका समस्या लिएर बिरामी आउँछन्। धेरैले अंग्रेजी बुझ्ने अनि सबैजसोले हिन्दी बुझ्ने भएकाले भाषामा समस्या हुँदैन। अस्पतालमा दोभाषेको समेत व्यवस्था हुने भएकाले काममा काम गर्न सहज हुने उनले बताए।